बर्सेनि १० हजार विद्यार्थीलाई सीटीईभीटीको छात्रवृत्ति

हिमाल प्रेस १८ जेठ २०८० १७:४०
4
SHARES
बर्सेनि १० हजार विद्यार्थीलाई सीटीईभीटीको छात्रवृत्ति

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले बर्सेनि करिब १० हजार विद्यार्थीलाई विभिन्न विषयमा प्राविधिक शिक्षा हासिल गर्न छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। गरिब तथा जेहेनदार र सीमान्तकृत वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने गरेको हो।

९९ वटा पालिका जहाँ प्राविधिक शिक्षालय छैनन् त्यहाँका ८० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको  सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। ‘सीटीईभीटीले गरिब तथा जेहेनदार, सीमान्तकृत वर्गका विद्यार्थीलाई छात्रवृत्ति र ९९ वटा पालिका जहाँ प्राविधिक शिक्षालय छैनन् त्यहाँका ८० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरेको छ’, उनले भने, ‘कुल विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आएका छौँ। आंगिक र सम्बन्धन प्राप्त कलेजमा चिकित्सा शिक्षातर्फका मात्रै ८ हजार विद्यार्थीले छात्रवृत्ति पाएका छन्।’

उनका अनुसार अध्ययनपछि ७५ प्रतिशत विद्यार्थी नेपालमै बस्ने बाँकी विदेश जाने गरेको बताए। यस्तै कुल उत्तीर्ण विद्यार्थीमध्ये ६० प्रतिशतले उच्च शिक्षा हासिल गर्ने गरेका छन्। नर्सिङ, इन्जिनियरिङ लगायतका विषय छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गरेर बस्ने वातावरण बनाउन नसक्दा उनीहरू बिदेसिने गरेका छन्।

चिकित्सा शिक्षा ऐनका कारण नेपाली शिक्षण संस्थाले नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्याब असिस्टेन्ट लगायका विषय अध्ययनमा लागेको बन्देजका कारण पनि विद्यार्थी बिदेसिनुपरेको उपाध्यक्ष अधिकारीले बताए।

सीटीईभीटीले शैक्षिक सत्र २०७८/७९ मा ११ हजार ४३३ जना विद्यार्थीलाई छात्रवृत्ति कोटामा प्राविधिक शिक्षा प्रदान गरेको थियो। प्राविधिक शिक्षाका कार्यक्रममा पिछडिएका वर्ग, क्षेत्र र समुदायको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ परिषद्ले नेपाल सरकारको नियमित कार्यक्रमअन्तर्गत विशेष छात्रवृत्तिको व्यवस्था गरी दलित, मुस्लिम, विपन्न, लोपोन्मुख, अल्पसंख्यक लगायत सरकारले तोकेको लक्षित वर्गलाई निर्वाह भत्ता, यातायात र पोसाक खर्चसमेतको व्यवस्था गरी निःशुल्क प्रशिक्षणको व्यवस्था गर्दै आएको छ।

वर्गीकृत नि:शुल्क छात्रवृत्तिअन्तर्गत लक्षित वर्गमा अपांग, पूर्व कमैया/हलिया, पिछडिएको दुर्गम क्षेत्र, दलित, महिला (एकल महिला), सूचीकृत आदिवासी जनजाति र आर्थिक वा सामाजिक रुपमा विपन्न वर्गका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्नासम्बन्धी निर्देशिका २०७९ बमोजिम प्रत्येक शैक्षिक संस्थामा अध्यापन गराउने २० स्वीकृत कोटा पाएको शिक्षण संस्थाले प्रत्येक शैक्षिक कार्यक्रममा एक, ३० सिट पाएकाले प्रत्येक शैक्षिक कार्यक्रममा दुई, ४० पाएकाले तीन र ४८ सिट पाएका शैक्षिक संस्थाले हरेक कार्यक्रमका लागि ४ सिट छात्रवृत्तिका लागि छुट्याउनु पर्नेछ। सोहीअनुसार सीटीईभीटीले २ हजार ९१३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी वर्गीकृत निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ।

प्रकाशित: १८ जेठ २०८० १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast