सरकार जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्न सक्रिय छ  : कानुनमन्त्री

हिमाल प्रेस १५ असार २०८० ११:४२ | Friday, June 30, 2023
सरकार जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्न सक्रिय छ  : कानुनमन्त्री फाइल तस्बिर।

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सरकार नेपाली जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्ने काममा लागेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै गुरुङले भने, ‘नेपाली जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्नु नै गठबन्धन सरकारको ध्येय हो। हामी एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गरी सुशासन दिनेछौँ। तब मात्रै विकास निर्माण हुनेछ।’

विकास निर्माणको कुरा गर्ने तर बीचमा भ्रष्टाचारले भ्वाङ पारिहाल्ने प्रवृत्ति रहेको स्वीकार गर्दै मन्त्री गुरुङले यसलाई रोक्न सरकार लागिपरेको बताए। उनले भने, ‘विकासको लक्ष्य धेरै टाढा छ। हाम्रो काम सुशासन ल्याउनु हो। अहिले हामीले पदभन्दा नेपाली जनताको माया र ममतामा ध्यान दिएका छौँ।’

सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने दाबी उनको छ। उनले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइल खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम फैलाइएको भन्दै नेकपा एमालेको आलोचना गरे।

एमालेप्रति लक्षित गर्दै नेता गुरुङले भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताए। एमाले सत्तामा जानका लागि भोकाइरहेको टिप्पणी उनको छ।

‘गठबन्धन सरकार ढल्छ भन्ने पनि सुनिएको छ। ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ। यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन। अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो। हामी ठिक मिसनमा छौँ’, गुरुङले भने।

प्रकाशित: १५ असार २०८० ११:४२ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast