सडकले सुकाएको दरबाङ

हिमाल प्रेस ८ असार २०८० १९:०९ | Friday, June 23, 2023
सडकले सुकाएको दरबाङ दरबाङ बजार।

गलेश्वर- अगाडि उर्लेर बग्ने म्याग्दी नदी। वरिपरि डरलाग्दा पहाड। पहाडका फेदमा स्याउला र टिनले छाएका छाप्रा। एक-दुई मात्र ढुंगेघर। यो पातलो वस्तीका सानो बजारका व्यापारीलाई भने एकछिन पनि हात खाली हुँदैनथ्यो। ती दिन अहिले एकादेशको कथा जस्तै बनेको छ।

यो अवस्था म्याग्दीको व्यापारिक केन्द्र दरबाङ बजारको हो। जतिबेला बेनी-दरबाङ सडकको ट्रयाक खुलेको थिएन। मानिस पैदल ओहोरदोहोर गर्थे। दरबाङ बजारको रौनक छुट्टै थियो। डेढ दशकअघि बेनी-दरबाङ सडकको ट्रयाक खुलेर यातायातका साधन सञ्चालन हुन थालेपछि भने दरबाङको अवस्था फेरिएको छ।

म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ मा पर्छ दरबाङ बजार। सडकको पहुँचसँगै दरबाङ बजारको क्षेत्र विस्तार भएको छ। पक्की घरले दरबाङ भरिभराउ छ। तर व्यापार व्यवसाय भने खस्किँदो क्रममा।

दरबाङ म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाका साथै बागलुङको पश्चिमी भेगका दर्जन बढी गाउँको प्रमुख व्यापारिक केन्द्र हो। तर गाउँगाउँमा पुगेको मोटरबाटोका कारण यहाँको व्यापार व्यवसाय घट्दै गएको दरबाङ होटल व्यवसायी संघका अध्यक्ष अमृत सापकोटाले बताए।

२० वर्षदेखि दरबाङ बजारमा व्यापार गर्दै आएका सन्तोष सुवेदीले पछिल्लो समय व्यापार खस्किँदै गएको अनुभव बाँडे। ‘१० वर्षअघिसम्म दरबाङमा टहरा र केही ढुंगेघर मात्रै थिए, अहिले घरैघरले भरिएको छ,’ उनी भन्छन्, ‘तर व्यापार त्यसैगरी ओरालो लागेको छ।’

दश वर्षअघिसम्म पश्चिम म्याग्दी, तमान, लामेला, ढोरपाटनलगायत क्षेत्रको व्यापारिक केन्द्र दरबाङ बजार थियो। खाद्यान्न, लत्ताकपडा खरिदका लागि आएका गाउँगाउँका मानिसले दरबाङ बजारका पसल भरिभराउ हुन्थे। व्यवसाय घटेपछि पुराना व्यापारी धेरैले दरबाङ छाडिसकेका छन्।

बेनी-दरबाङ सडक विस्तार र स्तरोन्नतिसँगै पश्चिम म्याग्दीका गाउँगाउँबाट सीधै पोखरा-काठमाडौँका लागि गाडी छुट्न थालेका छन्। संघीयताको कार्यान्वयनपछि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको सेवा विकेन्द्रीकृत भएको छ।

जिल्ला सदरमुकाम बेनी बजार जाने आउनेको ‘ट्रान्जिट’ दरबाङ थियो। अहिले त्यो अवस्था पूरै फेरिएको व्यवसायी मीनबहादुर सिउथानी मगरले बताए।

उनले यातायात सुविधाको विस्तारसँगै व्यापारको शैली फेरिएको बताए। ‘बेनी, नौडाँडा, बुटवलबाट भरिया, घोडा र खच्चरमा सामान बोकाएर ल्याइन्थ्यो, ग्राहक सामान खोज्दै आउँथे,’ उनी भन्छन्, ‘अहिले घरघर बाटो पुग्यो किनमेलका लागि बजार आउनेको संख्या घटेको छ।’

छोराछोरी पढाउन बजारमा कोठा लिएर बसेका मानिस र विद्यार्थीका कारण ससाना पसल तथा व्यवसाय धानिएको व्यापारी हिराबहादुर पुन बताउँछन्। – ध्रुबसागर शर्मा/रासस

प्रकाशित: ८ असार २०८० १९:०९ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast