फाइल तस्बिर पशु सेवा विभाग।
                                            काठमाडौँ- महामारीको रूपमा फैलिएको लम्पी स्किनले एकै दिनमा ३ हजार ९३५ पशुको ज्यान गएको छ। पशु सेवा विभागकाे बुधबारसम्मकाे विवरणअनुसार मुलुकभर लम्पी स्किनका कारण मृत्यु हुने पशुको संख्या २५ हजार ४०८ पुगेको छ। उक्त संख्या मंगलबारको तुलनामा ३ हजार ९३५ ले बढी हो।
मंगलबार कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले मुलुकभर २१ हजार ४७३ पशुको मृत्यु भएको जानकारी संसद्लाई गराएका थिए।
पहाडी क्षेत्र अत्यधिक प्रभावित
विभागले जारी गरेको विज्ञप्तिअनुसार हालसम्म ७६ जिल्लामा लम्पी स्किन रोग पुष्टि भएको छ। जसमध्ये पहाडी तथा मध्यपहाडी क्षेत्रका पशु लम्पी स्किनले अत्यधिक प्रभावित बनेका छन्।
विभागले गत चैतयता ६ लाख ८२ हजार ८० पशु यस रोगबाट संक्रमित भएका जानकारी दिएको छ। संक्रमितमध्ये ४ लाख ९ हजार १७५ पशु पूर्ण रूपमा निको भइसकेका छन्।
रोग नियन्त्रणका लागि विभागले मातहतका निकाय, प्रदेश सरकार र स्थानीय तहमा कार्यरत पशु चिकित्सक परिचालन गरेको जानकारी दिएको छ।
सरकारले लम्पी स्किन नियन्त्रणका लागि प्रयास गरिरहेको दाबी गरे पनि किसानले भ्याक्सिन पाइरहेका छैनन्। गाई र गोरुमा अत्यधिक देखिएको यस रोगबाट जोगिनका लागि भ्याक्सिन नै प्रभावकारी मानिने विभागले नै बताएको छ।
तर किसानले भ्याक्सिन नपाएर पशु गुमाउनु परेको छ। रोपाइँको मौसम चलिरहेका बेला गोरु बिरामी भएर कतिपयको राेपाइँ रोकिएको छ। कैलालीको चुरे गाउँपालिकाका अमर शाहले गोरु मरेका कारण रोपाइँ गर्न नसकेको समाचार राससले बिहीबार मात्रै प्रकाशित गरेको छ।
पालिएको हलगोरु लम्पीकै कारण मरेपछि पाखो खेत खनजोत गर्न नसकिएको शाहले बताएका छन्। ‘एक हल गोरु, भैँसीको एक पाडो र एक बाख्रा लम्पी स्किनले मारेकाे छ,’ उनले रासससँग भनेका छन्।
चुरेकै तेजबहादुर बोहराको घरमा पालिएको गाईमा लम्पी स्किन रोग लागेपछि गाईले दूध दिनै छाडेको छ। ‘गाईले दूध दिन छाड्यो, पशुका प्राविधिकले नियमित उपचारपछि १६ दिनपछि बिरामी गाई निको भए पनि दूध बढ्न सकेको छैन,’ उनले भने।


                                             
                                             
                                             

