फाइल तस्बिर।
                                            बाँके– धान रोपाइँको समय आए पनि बाँकेका किसानले मल पाउन सकेका छैनन्। प्रत्येक वर्ष झैं यस वर्ष पनि बाँकेका किसानले मलको भाव झेल्नु परेको छ।
धानखेती हुने जमिनको आधारमा गाउँपालिकालाई रासायनिक मल वितरण गर्न सुरु गरिए पनि किसानले पर्याप्त मल पाउन सकेका छैनन्।
‘धान खेती धेरै र कम हुने जमिन पत्ता लगाएर त्यही अनुसार पालिकालाई दामासाही तरिकाले रासायनिक मल वितरण गरिरहेका छौं,’ कृषि बिउबिजन कम्पनी नेपालगन्जका प्रमुख रमेश पौडेलले बताए।
बाँकेमा धान खेतीका लागि ६ हजार मेट्रिक टन मल माग भएकोमा अहिलेसम्म २ हजार ५ सय ८१ मेट्रिक टन युरिया मल आएको उनले जानकारी दिए।
मागबमोजिम मल नआएपछि यही असार ८ गतेदेखि मात्र मल बिक्री वितरण सुरु गरिएको हो। एउटा गाउँपालिकालाई १ हजार बोरा डीएपी र १ हजार २ सय बोरा युरिया वितरण गरिएको छ।
बाँकेमा ३ हजार मेट्रिक टन डीएपी माग भएको थियो तर अहिलेसम्म १ हजार ३ सय ४१ मेट्रिक टन मात्र वितरणका लागि आएको छ। पौडेलका अनुसार आइतबारसम्म बाँकेको राप्तीसोनारी, वैजनाथ, डुडुवा गाउँपालिकासहित कोहलपुर नगरपालिकामा मल वितरण गरिएको छ।
कम्पनीले सहकारीमार्फत रासायनिक मल कृषकलाई दिँदै आएको छ। सरकारी अनुदानको मल नपाएपछि बाँकेका किसान भारतबाट खरिद गर्न बाध्य थिए।
किसानलाई कृषि उपकरण वितरण
वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ। कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो।
गाउँपालिका अध्यक्ष प्रकाश शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो। ‘किसानलाई कृषि उब्जनी गर्न सहज होस् भन्ने उद्येश्यले कृषि यन्त्र अनुदानमा वितरण गरेका हौं,’ उनले भने।
आर्थिक विकास समितिका संयोजक एवम् वडा ४ का वडाध्यक्ष प्रेम शाहीका अनुसार ३१ किसानलाई मिनिटेलर र ११ किसानलाई पावर टेलर वितरण गरिएको छ। पालिकाले किसानलाई अनुदान दिने निर्णय गरेअनुरूप उक्त कार्यक्रम कार्यान्वयनका लागि आवेदन आह्वान गरको थियो।
निवेदन दर्ता गराएका किसानको घर-घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरिएको थियो।

                                             
                                                                                            
                                             
                                             
                                             
                                             

