फाइल तस्बिर।
                                            बैतडी– लामो समयपछि वर्षा सुरु भएसँगै बैतडीका किसान खुसी भएका छन्। वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन्।
रोपाइँका लागि वर्षाले निकै राहत गरेको बैतडीको दोगडाकेदार-३ श्रीकोटका किसान प्रेमसिंह धामीको भनाइ छ। यसअघि असार पहिलो सातासम्म पनि रोपाइँका लागि वर्षा नहुँदा यहाँ किसान चिन्तित भएका थिए।
‘वर्षा नहुँदा यसअघि रोपाइँ गर्न सकिएको थिएन, वर्षे बालीलाई पनि राहत भएको छ। रोपाइँ पनि सुरु भएको छ,’ उनले भने।
यसअघि वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायतका बर्खेबाली सुक्ने अवस्थामा पुगेका र वर्षाले राहत भएको मेलौली नगरपालिका-२ सलेनाकी हसांदेवी चन्दको भनाइ छ।
‘वर्षा नहुँदा सुक्न लागेका बालीनालीलाई पनि राहत भयो, रोपाइँ गर्न पनि सहज भएको छ,’ उनले भनिन्। वर्षा भएसँगै यहाँका किसानलाई रोपाइँ गर्न चटारो परेको छ।
सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ अन्तिमतिर पुगेको र आकासे पानीले रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको छ। जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ।
बैतडीमा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न सुरु गरिएकामा असार मसान्तसम्म समाप्त हुने किसानले जनाएका छन्।
जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा वर्षापछि हाल भइरहेको छ।
पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरा धानखेतीको पकेट क्षेत्र हुन्। बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

