बाढीले खानेपानी आयोजना बगाउँदा ३ करोड रुपैयाँको क्षति

हिमाल प्रेस ९ असार २०८० १८:३८ | Saturday, June 24, 2023
बाढीले खानेपानी आयोजना बगाउँदा ३ करोड रुपैयाँको क्षति

भोजपुर- बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजनामा ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ। खोलाभन्दा करिब सय मिटर टाढा रहेको आयोजनास्थलमा बाढी पसेर सम्फबेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, ३ ओटा कन्ट्रोल प्यानल बगाएको छ।

त्यस्तै स्टेपलाइजर, चेन पुल्ली, पालेघरलगायतमा पनि क्षति पुगेको छ। सबै क्षति ३ करोड रुपैयाँ बराबरको रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख देवनाथ सिंहले बताए।

आयोजना निर्माणस्थल अहिले बगरमा परिणत भएको उनको भनाइ छ। ‘आयोजना रहेको ठाउँमा अहिले खोला बगेको अवस्था छ, आयोजना बगाउँदा पिउने पानीबाट स्थानीय वञ्चित भएकाका छन्,’ प्रमुख सिंहले भने, ‘यसलाई पुनः सञ्चालनमा ल्याउन पहल थालेका छौँ।’

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाउँदा ठूलो क्षति पुगेको उनको भनाइ छ। स्थलगत अनुगमन गरेर उपयुक्त विकल्पको खोजीको काम गरिरहेको उनले बताए। ‘स्थलगत रूपमा हेर्दा आयोजनाको बेहाल अवस्था छ,’ उनले भने, ‘अर्को आर्थिक वर्षको सुरुमा हस्तान्तरण गर्ने लक्ष्य थियो। हस्तान्तरणको अन्तिम अवस्थामा बाढीले क्षति पुगेको छ, पुनः सञ्चालनका लागि मन्त्रालयलाई आवश्यक जानकारी गराएको छु।’

आर्थिक वर्ष २०७५/७६ बाट यो योजना निर्माण थालिएको थियो। अनुमानित ११ करोड ११ लाख ८ हजार ९ सय रुपैयाँ लागतमा निर्माण भइरहेको थियो। यही असार २ गते राति आएको बाढीले आयोजनास्थल बगाएपछि नोक्सान भएको छ।

३ सय ८६ घरपरिवारलाई पानी खुवाउने लक्ष्यले निर्माण भइरहेको आयोजनाबाट १ सय ५० घरपरिवारले पानी उपभोग गर्दै आएका थिए। रासस

प्रकाशित: ९ असार २०८० १८:३८ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast