पोखरा– पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस महोत्सव सुरु हुँदैछ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा २ दिने बोट रेस हुन लागेको हो। पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो महोत्सवको सहयोगी संस्थाका रूपमा रहेका छन्।
यस्तै ताल किनारको क्याम्पिङ चोकमा महोत्सव हुँदैछ। महोत्सवमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षण रहेको छ। कार्यक्रमका सहभागिताका लागि चीनबाट विशिष्ट पाहुना पोखरा आइसकेका छन्।
नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोट रेस तथा महोत्सवको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
फेवातालमा २ सय र ५ सय मिटरमा दुई विधामा ८ वटा बोट रेस प्रतियोगिता हुने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए।
‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुङगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन्। सोही ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन्। निर्धारित दूरी सबैभन्दा अघि पार गर्ने टोली विजेता बन्छ।
बोट रेसमा चिनियाँ ४ र नेपाली ४ गरी ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन (एनआरसीए), चाइना नेपाल फ्रेन्डसिप, फेवा ढुंगा व्यवसायी संगठन, र पोखरा महानगरपालिकाको टिम रहेको छ।
प्रतियोगितामा विजेता हुने दुवै विधाका टोलीलाई जनही ५ लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने टोलीका लागि ३० लाख पुरस्कारको व्यवस्था छ।
बोट रेस चीन बाहिर दक्षिण एशियामै पहिलोपटक हुन लागेको र कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।
उनका अनुसार पोखराको पर्यटनलाई थप चलायमान बनाउन यसले मद्दत पुग्नेछ।
बोट रेस र महोत्सवमा सहभागिताका लागि चिनियाँ टोली चार्टर उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। रेसका लागि चीनको केरुङ नाका हुँदै ८ विशेष खालका डुंगा, अन्य आवश्यक सामग्री र बोट रेस प्रशिक्षक जेठ अन्तिम सातादेखि पोखरा आएर अभ्यास गरेका थिए।

                                             
                                             
                                             
                                             
                                             
                                             

