चितवन– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापक रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
धान दिवसका अवसरमा शुक्रबार (आज) भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने भन्दै उनले खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने उल्लेख गरे।
नेपाल कृषिप्रधान देश भएकाले नै भारतीय नाकाबन्दीले गलाउन नसकेको उनको भनाइ छ।
‘अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि पेसातर्फ आकर्षण कम हुने गरेको छ। सहकार्य र सहकारी आवश्यक छ,’ उनले भने, ‘पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो।
हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौं, तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यही उत्पादन हुन्छ। त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन।’
उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको उल्लेख गर्दै उनले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले वृद्धि गर्नुपर्नेमा उनले जोड दिए।
कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्याउनुपर्ने उनको भनाइ थियो। ‘कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ,’ उनले भने।
उत्पादन बिक्री नभएर फाल्नुपर्ने स्थिति नआउनका लागि विविधिकरण गर्नुपर्ने उनले जनाए।

                                             
                                             
                                             
                                             
                                             
                                             

