‘ड्रागन बोट रेस फेस्टिभल’मा दुई नेपाली टिम सेमिफाइनलमा

विजय नेपाल ८ असार २०८० १६:११ | Friday, June 23, 2023
‘ड्रागन बोट रेस फेस्टिभल’मा दुई नेपाली टिम सेमिफाइनलमा

पोखरा- फेवातालमा आयोजित ड्रागन बोट रेस फेस्टिभलमा नेपाली दुई टिम सेमिफाइनल प्रवेश गरेका छन्। २०० मिटर र ५०० सय दुवै इभेन्टमा नेपालको नारा ड्रागन बोट टिम र एनआरसिए ड्रागन टिम सेमिफाइनल पुगेका हुन्।

पहिलो दिन शुक्रबार २०० मिटरको इभेन्टमा चीनको सिचुआन ड्रागन बोट प्रथम हुँदै अन्तिम चारमा प्रवेश गरेको हो। उसले निर्धारित दुरी १ः४८ः८१ मिनेटमा पार गर्दै प्रथम भएको हो।

यस्तै नेपालको नारा ड्रागन बोटले निर्धारित दुरी १ः५३ः१४ मिनेटमा पूरा गर्दै दोस्रो स्थानमा आएको हो। चीनको युनान ड्रागन बोट (१ः५५ः७७ मिनेट) र नेपालको एनआरसिए ड्रागन बोट (१ः५६ः९२ मिनेट) क्रमशः तेस्रो र चौंथो हुँदै अन्तिम चारमा प्रंवेश गर्न सफल भएका हुन्।

सोही इभेन्टमा भाग लिएका नेपालका फेवा लेक ड्रागन बोट, पोखरा महानगरपालिकाको ड्रागन बोट, चाइना–नेपाल फ्रेन्डसिप ड्रागन बोट टिम तथा सिंगापुरको एसजी ड्रागन्स् टिम बाहिरिए।

यसैगरी, ५०० मिटरको इभेन्टमा चीनकै सिचुआन ड्रागन बोट टिम निर्धारित दुरी ४ः३८ः३३ मिनेटमा पूरा गर्दै प्रथम भयो। नेपालको नारा ड्रागन (४ः४७ः२९ मिनेट), चीनको युनान ड्रागन (४ः५३ः२२ मिनेट) र नेपालकै एनआरसिए ड्रागन (५ः०२ः१८ मिनेट) मा निर्धारित ५०० मिटरको दुरी पार गर्दै क्रमशः दोस्रो, तेस्रो र चौंथो भए।

आयोजकमध्येको नेपाल पर्यटन बोर्डका अधिकृत रविन रेग्मीका अनुसार सेमिफाइलिस्ट टिमहरुले शनिबार एक–एक चरणमा २०० र ५०० मिटरमा पुनः प्रतिस्पर्धा गर्ने छन्। ५०० मिटरको इभेन्टमा फेवा बोट, पोखरा महानगरपालिका, चाइना–नेपाल फ्रेन्डसिप र एसजी ड्रागन टिम बाहिरिएका छन्।

एउटा टिममा १२ जनासम्म खेलाडी हुन्छन्। विजेताले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन्। पुरस्कारको लागि नगद ३० लाख खर्च हुने आयोजकले जनाएको छ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा चीनबाहेक एशियामै पहिलो पल्ट पोखरामा यो प्रतियोगिता भएको हो। फेस्टिभलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरेका हुन्।

प्रकाशित: ८ असार २०८० १६:११ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast