कोकाहाको पानी धरान आएपछि रोए हर्क साम्पाङ

विवेक विवश रेग्मी ३० जेठ २०८० १६:५५ | Tuesday, June 13, 2023
कोकाहाको पानी धरान आएपछि रोए हर्क साम्पाङ

इटहरी– गत पुस अन्तिम सातादेखि पानीको हाहाकार रहेको धरानमा कोकाहा नदीको पानी आइपुगेको छ।  श्रमदान अभियानमार्फत् झण्डै ४० किलोमिटर दुरी पार गर्दै मध्यरातमा धरानस्थित पकुवा खोलामा पानी आइपुगेको हो। पानी धरान आइपुगेपछि धरानका मेयर हर्क साम्पाङ खुसीले रोएका छन्।

साम्पाङ मेयरमा निर्वाचित भएपछि उनकै नेतृत्वमा चलेको श्रमदान अभियानमार्फत मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी धरान-२० स्थित पकुवा खोलामा झरेको हो। मेयर साम्पाङको प्रस्तावित साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा राखिएको ‘वास आउट पोइन्ट’ मा पानी आइपुगेपछि समर्थकहरूसँगै भावविह्वल बनेका थिए।

धरान-२० स्थित हात्तीसारबाट बराहक्षेत्र हुँदै कोकाहा खोलाको पानी धरान आइपुगेको हो। अभियानका लागि देशविदेशबाट ४ करोड बढी स्वतःस्फुर्त आर्थिक संकलन गरिएको थियो भने खाद्यान्न र पाइपसमेत सहयोग जुटेको थियो। सुख्खायाममा चारदेखि ६ महिना काकाकुलको नियति भोग्नु धरानबासीका लागि अघोषित रूपमा वार्षिक क्यालेन्डर हो। तर यसपटक सम्भवतः इतिहासमै सबैभन्दा बढी पानीको हाहाकार भोगिरहेका छन् धरानबासी। जबकि खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न भनेर एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा भूमिगत खानेपानी पनि सञ्चालनमा छ।

स्वतन्त्रबाट विजयी भएलगत्तै खानेपानी अभियानलाई तीव्रता दिएका धरान उपमहानगरका प्रमुख साम्पाङलाई ‘सम्झेर’ स्वदेश र विदेशका हजारौँ दाताहरू र संघसंस्थाले रकममात्र नदिएर जिन्सीको रूपमा लाखौं रुपैयाँका पाइपसमेत खरिद गरेर दिएका थिए।

धरान आसपासका खोलाखोल्सीहरू पकुवा, निसाने र भालुखोलामा पाइपलाइनसमेत विस्तार भएका छन्। विभिन्न ठाउँमा पानी संकलनका लागि इन्टेक ट्यांकी पनि निर्माण भएका छन्। धरान खानेपानी बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखा समाहित भइसकेको छ।

नेपाल खानेपानी संस्थानले सर्दु–खर्दु मुहानबाट हिउँदमा दैनिक करिब ४० लाख लिटर र चारकोसे जंगलमा जडान गरेको पाँचवटा डिप ट्युबेलबाट आवश्यक खानेपानी आपूर्ति गर्दै आएकोमा धरान खानेपानी आयोजनाअन्तर्गतको धरान खानेपानी व्यवस्थापन बोर्डमातहतको सातवटा डिप ट्युबेलले दैनिक खानेपानी आपूर्ति गर्दै आएको दाबी गरिएको छ। धरानमा वर्षेनी सुख्खायाममा खानेपानीको हाहाकार हुँदै आएको छ।

श्रमदान अभियानमार्फत पाँच इन्चे पाइपमार्फत कोकाहाको पानी ल्याउन सफल भएपछि उनी रोए। त्यससँगै उनले धरानका खानेपानी उपभोक्तालाई तत्कालका लागि राहत हुने प्रतिक्रिया दिए।

प्रकाशित: ३० जेठ २०८० १६:५५ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast