फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेले नागरिकता विधेयक अहिलेकै अवस्थामा प्रमाणीकरण गरेर राष्ट्रपतिले संसद्को अपमान गरेको बताएको छ। पार्टीको सचिवालय बैठकले अघिल्लो संसद्ले पारित गरेको, निष्क्रिय अवस्थामा रहेको तर अहिले संसद् चलिरहेको अवस्थामा विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन भएको ठहर गरेको हो।
‘नेपालको संविधान र स्थापित कानुन विपरीत छ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवादीले भने, ‘अघिल्लो संसद्ले पारित गरेर निस्कृय रहेको पृष्ठभूमिमा यस प्रतिनिधिसभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा गरिएको प्रमाणीकरण संसद्को अपमान हो। विधेयक प्रमाणीकरणले संविधानको ठाडो उल्लंघनको विरोध गर्छ।’
प्रधानमन्त्रीको भारत भ्रमणको केहीघण्टा अघिमात्रै प्रमाणीकरण हुनु झनै आन्तरिकभन्दा पनि बाह्य चासो हो कि भन्ने परेको आशंका पैदा भएको उनको भनाइ छ।
त्यस्तै आजको बैठकले पार्टीका उपाध्यक्षहरुको कार्यविभाजन पनि गरेको छ। पार्टीका ३२ वटा विभागको संयोजन गर्नेगरी उपाध्यक्षहरूलाई जिम्मेवारी दिइएको हो। ज्ञवालीका अनुसार
उपाध्यक्षले साझा नीति बनाउने, सरकारलाई दबाब दिने काम पनि गर्नेछन्।
योजना र नीतिसँग जोडिएका विषयको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ। पूर्वाधार र विकाससँग जोडिएको विभागको संयोजन उपाध्यक्ष सुरेन्द्र पाण्डेले, कृषि उद्यमशीलतासँग जोडिएको विभागको नेतृत्व उपाध्यक्ष रामबहादुर थापाले, सामाजिक विकाससम्बन्धी विभागको संयोजनको जिम्मेवारी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पाएकी छन्।
मानवस्रोतसँग जोडिएका विभागको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष युवराज ज्ञवालीले पाएका छन्। त्यस्तै सुशासन र सेवा प्रवाहसँग जोडिएको विभागको संयोजन उपाध्यक्ष सुवास नेम्वाङले गर्नेछन्। संगठन, पशिक्षण र प्रशासनसँग जोडिएको विभागको जिम्मेवारी विष्णु पौडेलले पाएका छन्।



