अमेरिकी विदेशमन्त्रीसँगको वार्ता सकारात्मक : चिनियाँ राष्ट्रपति सी

हिमाल प्रेस ४ असार २०८० २०:३१ | Monday, June 19, 2023
अमेरिकी विदेशमन्त्रीसँगको वार्ता सकारात्मक : चिनियाँ राष्ट्रपति सी

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग बेइजिङमा सोमबार भएको वार्तामा अमेरिका र चीनले थुप्रै विषयमा ‘प्रगति’ गरेको बताएका छन्।

चिनियाँ राष्ट्रपति सीले स्थानीय समयअनुसार अपराह्न साढे ४ बजेपछि राजधानीको ग्रेट हल अफ द पिपुलमा ब्लिन्केनसँग भेटवार्ता गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम र अमेरिकी अधिकारीले जनाएका छन्।

‘चिनियाँ पक्षले हाम्रो स्थिति स्पष्ट पारिसकेको छ र राष्ट्रपति बाइडेन र हामी (चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेन) ले बालीमा गरेको साझा समझदारीलाई पालना गर्न दुवै पक्ष सहमत हुनुपर्छ,’ सीले शीर्ष अमेरिकी कूटनीतिज्ञसँग भनेका छन्।

दुई पक्षले प्रगति र केही खास विषयमा सहमति पनि गरेका सीले बताएका छन्। ‘मलाई आशा छ, विदेशमन्त्री ब्लिन्केनले यो भ्रमणमार्फत चीन-अमेरिका सम्बन्धलाई स्थिर बनाउन सकारात्मक योगदान दिन सक्नुहुनेछ्,’ सीले भने।

ब्लिन्केनले अन्य उच्च चिनियाँ अधिकारीसँग दुई दिनसम्म १० घण्टाभन्दा बढी छलफल गरेपछि राष्ट्रपति सीसँग करिब आधा घण्टा लामो वार्ता भएको हो।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएपछि करिब ५ वर्षयता भएको बहालवाला उच्च अमेरिकी अधिकारीको चीन भ्रमणलाई विश्व समुदायले विशेष चासोले हेरेको छ। रासस/एएफपी

प्रकाशित: ४ असार २०८० २०:३१ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast