अन्तरप्रदेश बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्री पोखरामा

हिमाल प्रेस १५ असार २०८० १२:०४ | Friday, June 30, 2023
अन्तरप्रदेश बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्री पोखरामा

पोखरा– पोखरामा आज अन्तरप्रदेश मुख्यमन्त्री बैठक एवम् राष्ट्रिय समन्वय परिषद बैठक हुँदैछ। बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री, प्रदेशका प्रमुख सचिवलगायत अतिथिहरू पोखरा आउने क्रममा छन्।

दुई दिनसम्म चल्ने बैठकको पहिलो दिन शुक्रबार मुख्यमन्त्रीको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ। दोस्रो दिन शनिबार राष्ट्रिय समन्वय परिषद्को बैठक पनि पहिलो पटक पोखरामै हुनेछ।

बैठकको अध्यक्षता प्रधानमन्त्रीले नै गर्ने संवैधानिक व्यवस्था छ। उक्त बैठकमा मुख्यमन्त्रीसहित संघीय सरकारका अर्थ, गृह, कानुन र संघीय मामिला मन्त्रीहरू सहभागी हुनेछन्।

यसअघि गत जेठ १० र ११ मा हुने भनिएको सम्मेलन प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण अन्तिम समयमा आएर रोकिएको थियो।

प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठकलाई निकै महत्त्वका साथ हेरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले बताइन्।

पोखरा १७ बिरौटास्थित पाँचतारे होटल ग्रान्डमा हुने बैठकमा प्रदेशले गरिरहेको काम र अनुभव आपसमा साटासाट गर्न फलदायी हुने अपेक्षा गरिएको छ।

संघीयता कार्यान्वयनसँगै वित्तीय स्रोतको बाँडफाँडमाथि प्रश्चचिन्ह उठ्ने गरेको छ। संघले ७० प्रतिशत राखेर बाँकी प्रदेश र स्थानीय तहलाई पठाउने गरेकोमा यो न्यायोचित नभएको गुनासो छ।

नागरिकता तथा राहदानी वितरण, सीमा व्यवस्थापनबाहेक अन्य सबै प्रकारका अधिकार प्रदेश सरकारलाई दिनुपर्ने माग गरे पनि संघ सरकारले सुनेको छैन।

कर्मचारी सरुवा बढुवा प्रक्रिया सम्बन्धित प्रदेशबाटै टुंगिनुपर्ने माग भए पनि हालसम्म सम्बोधन हुन सकेको छैन।। यी र यस्तै विषयमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष माग राख्ने कार्यसूची छ।

यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट आज नै विश्वासको मत लिने तयारी रहेकाले उनी पोखरा आउन केही ढिलाइ हुने बुझिएको छ।

प्रकाशित: १५ असार २०८० १२:०४ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast