पोखरामा पाटाको शिखर सम्मेलन

हिमाल प्रेस १७ जेठ २०८० १७:३१
10
SHARES
पोखरामा पाटाको शिखर सम्मेलन

पोखरा- पोखरामा जारी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभान्चर मार्ट–२०२३ को दोस्रो दिन बुधबार विभिन्न सेसनमा छलफल भएको छ। विश्व पर्यटन बजारमा देखिएको आकर्षण र विश्वमा उत्पन्न आर्थिक मन्दीले पर्यटन क्षेत्रमा पार्ने प्रभावको बारेमा विशेष छलफल भइरहेको छ। नेपालमा पहिलोपटक आयोजना भएको यो सम्मेलनले कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सघाउने अपेक्षा गरिएको छ।

एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था पाटाको सम्मेलन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजना एवं पोखरा पर्यटन परिषद्को संयोजनमा भएको हो। पोखरामा ४ दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित २१ देशका २ सय ५० भन्दा बढी प्रतिनिधिले भाग लिएका छन्।

सम्मेलनमा सहभागी हुन अमेरिका, बेलायत, जर्मनी, अष्टे«लिया, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, फिलपिन्स सिंगापुर, कोरिया, संयुक्त अरब इमिरेट, साउदी अरेबीया, भारत, पाकिस्तान, श्रीलंका, चीन, हङकङ, थाइल्याण्ड, ताइपेई, अजरवैजान, मलेशिया, लगाययतका देश र नेपाल गरी २१ देशका प्रतिनिधि सहभागी छन्।

सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले नेपाल नेचर, कल्चर र एडभेन्चरको लागि राम्रो गन्तव्य भएको बताएका थिए। सम्मेलनले नेपालको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

मालदिप्सका पर्यटन मन्त्री डा. अब्दुल मौसुमले आफूले पोखरा साँच्चिकैको साहसिक पर्यटनको गन्तव्य भएको बताउँदै हिमाल र समुद्रबीचको पर्यटनलाई जोडन नेपाल र मालदिप्सले मिलेर काम गर्न सकिने बताए।

पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालमा आयोजना गरिएको यो पाटा मार्टले समग्र पर्यटनका बारेमा सकारात्मक सन्देश प्रभाव गर्ने बताए।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरामा साहसिक पर्यटनको केन्द्र भएको बताउँदै अन्तरराष्ट्रिय समुदायलाई पोखरा भ्रमण गर्न र आग्रह गरे। नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य मदन आचार्यले पाटाले प्रकृति र संस्कृतिको धनि पोखरामा आयोजना गरेको यस कार्यक्रमले नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए।

पाटा इन्टरनेसनलका सचिव सुमन पाण्डेले पाटा इन्टरनेशनले नेपालको समग्र पर्यटन विकासमा लामो समय देखि सहयोग गर्दै आइरहेको बताए। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्यहरूबीच हुने छलफल तथा अन्तरक्रिया सहितको पाटा मार्टले पर्यटतनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको बताए।

सम्मेलनमा कोभिड १९ पछिको पर्यटन र पर्यटनका विभिन्न आयामका बारेमा प्यानल डिस्कसन तथा बीटुबी लगायतका कार्यक्रमहरू हुने छन्। यस्तै सम्मेलनमा सहभागी हुने राष्ट्रिय अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताहरूले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनलगायतका विषयमा छलफल हुने छ।

प्रकाशित: १७ जेठ २०८० १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =