म्याग्दीका पर्यटकीय गन्तव्य करवाकेली-मोहरेडाँडा पदमार्गले जोडिँदै

हिमाल प्रेस १७ जेठ २०८० ८:०९
16
SHARES
म्याग्दीका पर्यटकीय गन्तव्य करवाकेली-मोहरेडाँडा पदमार्गले जोडिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेका प्रमुख २ पर्यटकीयस्थल जोड्ने पदमार्ग निर्माण सुरु भएको छ। अन्नपूर्ण गाउँपालिकाको काफलडाँडामा रहेको करवाकेलीबाट राम्चेको शिर आलडाँडा हुँदै समुद्री सतहबाट ३ हजार ३ सय मिटर उचाइमा रहेको मोहरेडाँडा जोड्ने पदमार्ग निर्माण सुरु भएको हो।

गण्डकी प्रदेश सरकारको सशर्त अनुदानमा उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गर्न लागिएको अन्नपूर्ण गाउँपालिका-८ का वडाध्यक्ष खम गर्बुजाले जानकारी दिए।

‘प्रदेश सरकारबाट प्राप्त ३० लाख रुपैयाँ बजेटबाट पदमार्ग बनाउन लागिएको हो। जंगल, खोल्सा, भिर र साँघुरो ठाउँमा ढुंगाको सिँढी चिनेर पैदलमार्गका साथै २ वटा विश्रामस्थल बनाउने योजना छ,’ उनले भने।

करवाकेलीबाट आलडाँडासम्म र आलडाँडाबाट मोहरेडाँडासम्म २ खण्ड बनाएर पदमार्ग निर्माणमा स्थानीय मजदुर परिचालन गरिएको छ। पर्यटकलाई आश्रयका लागि सम्धीखर्क र आलडाँडामा २ वटा प्रतिक्षालय भवन निर्माण गरिने करवाकेली-मोहरेडाँडा पर्यटन पदमार्ग उपभोक्ता समितिका अध्यक्ष गम पुर्जाले बताए।

करवाकेली-आलडाँडा खण्डको पदमार्ग बनाउने जिम्मा काफलडाँडा टोलका उपभोक्ताले लिएका छन्। राम्चेका उपभोक्ताले आलडाँडाबाट मोहरेडाँडा खण्डको जिम्मा लिएका छन्। एक समूहमा दैनिक १०-१५ देखि १५-२० जनाका दरले मजदुर परिचालन गरिएको छ।

यही जेठ मसान्तसम्म पदमार्ग निर्माण गरिसक्ने लक्ष्य छ। ढुंगा चिन्नुका साथै पुरानो बाटोको झाडी सफाइ तथा माटो काटेर व्यवस्थित पदमार्ग बनाइने अन्नपूर्ण गाउँपालिकाका इन्जिनियर ईश्वर भण्डारीले बताए।

बस्तीबाट टाढा र भुइँमा बिछ्याउने ढुंगा नपाइदा पदमार्ग निर्माणमा चुनौती बनेको छ। पदमार्ग निर्माण भएपछि पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज हुनुका साथै बाटो बिराउने समस्या हट्ने अपेक्षा गरिएको छ।

पर्यटकको आगमन बढेसँगै व्यवस्थित पदमार्ग बनाउन लागिएको वडाध्यक्ष गर्बुजाले बताए। अन्नपूर्ण गाउँपालिकाको वडा ६ मा पर्ने घोडेपानी, पुनहिलबाट मोहरेडाँडा-करवाकेली हुँदै बेनी-जोमसोम सडकअन्तर्गत पर्ने रघुगंगा गाउँपालिकाको बैसरी पुग्न सकिन्छ।

गुराँसको जंगल, पुन समुदायको करवाकेली थान, संग्रहालय, ग्रामीणबस्ती, जीवनशैली, वनजंगल, वनस्पति र वन्यजन्तु करवाकेली-मोहरेडाँडा पदमार्गका आकर्षण हुन्।

पदमार्गले करवाकेली र अन्नपूर्ण-धवलागिरि सामुदायिक पदमार्ग जोड्छ। करवाकेली र पुनहिलबाट ३ घण्टा पैदल हिँडेपछि पुगिने मोहरेडाँडामा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ।

यहाँबाट सुर्योदय, सुर्यास्त, सिस्ने, गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमाल, म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्यांजा र पाल्पाको भूगोल अवलोकन गर्न सकिन्छ। -रासस

प्रकाशित: १७ जेठ २०८० ८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =