तनहुँमा बाँदर आतंक : घर-घर पस्छ, मान्छे कोपर्छ

किसानको प्रश्‍न- हामी बाँदर पाल्नु कि आफ्ना बालबच्चा?

हिमाल प्रेस १५ जेठ २०८० ११:४५
6
SHARES
तनहुँमा बाँदर आतंक : घर-घर पस्छ, मान्छे कोपर्छ फाइल तस्बिर।

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका-४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्थिन्। उनलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर आतंक।

‘बाँदरको आतंकले दिक्क बनायो, दुःख गरेर खेती गर्‍यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने,’ उनले गुनासो गर्नुभयो, ‘जति गरेपनि बाँदरबाट खेती जोगाउनै सकेनौँ।’ तरकारी, मकै लगाएको खेतमा चौबीसै घण्टा निगरानी गर्न नसकिने र निगरानी गर्दा गर्दै पनि बाँदरले खेती खाइदिएर दिक्क बनाएको उनले बताइन्।

‘२ रोपनीमा मकैखेती गरेको थिएँ, बाँदरले १ मिनेटमै सबै खेती नष्ट गरिदियो, बाँदर आतंकले मैले तरकारी खेती गर्न छाडिदिएँ,’ उनले भनिन्। तरकारी खेती छाडेर राना अहिले मौरीपालनतर्फ लागेकी छन्। बाँदरको समस्या समाधान नहुने देखेपछि मौरीपालनतर्फ लागेको रानाको भनाइ छ।

रानाले मौरीपालनसँगै दालचिनी खेती गरेकी छन्। दालचिनीबाट मात्रै वार्षिक ४ लाख आम्दानी हुने गरेको छ। ‘बाँदरबाट पीडित भएपछि मौरीपालन व्यवसाय सुरु गरेँ, अहिले आनन्द छ। तर गाउँमा अझै पनि बाँदरको समस्या छ, अन्य कृषक हैरान छन्। यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ,’ उनले भनिन्।

बाँदरले खेतीपाती नष्ट गर्नेमात्र नभई घरमा सुतिरहेको अवस्थामा वृद्धवृद्धालाई आक्रमण गरेर घाइते बनाउने गरेको उनको भनाइ छ। ‘हामी बाँदरलाई निर्मूल पार्नुपर्छ भन्दैनौं तर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसतर्फ सरकारले सोचोस्,’ उनले भनिन्। बाँदर व्यवस्थापनका लागि निकुञ्ज स्थापना गर्नुपर्ने उनले माग गरिन्।

बन्दीपुर गाउँपालिका-३ का होम विक पनि बाँदर आतंकले हैरान छन्। बाँदर आतंकले खेतीबाली जोगाउन मुस्किल भएको उनको गुनासो छ। ‘बाँदरले सबै अन्नबाली खाइदिन्छ, मान्छेले के खाने?,’ उनले भने, ‘सरकारले बाँदर बचाउने हो कि मानिस बचाउने हो सोच्नुपर्‍यो।’

खेतबारीमा मात्र नभई घरमा राखिएका खानेकुरा पनि बाँदरले खाइदिने गरेको उनको गुनासो छ। ‘बाँदर आतंकले आजित भइसक्यौं। कसले हाम्रो पीडा सुनिदिने हो?,’ उनले भने, ‘नेपाल कृषि प्रधान देश भनिन्छ तर कृषि गरेर खान नसकिने भइयो।’ बाँदर मार्न नपाइने भएकाले यसको कसरी व्यवस्थापन गर्ने हो सम्बन्धित निकायले हेरिदिनुपर्ने उनको माग छ।

बन्दीपुर गाउँपालिका-२ का नारायण केसीले बाँदर आतंकले गर्दा खेतबारी बाँझो हुने क्रम बढेको बताए।

‘वर्षभरि दुःख गरेर खेती गर्‍यो, खेती बाँदरले खाइदिएपछि कृषक निराश हुनुपर्ने अवस्था छ। दुःखको फल नपाउने भएपछि किन खेती गर्ने भन्ने कृषकको संख्या बढ्दो छ। जग्गा बाँझो हुने क्रम बढेको छ,’ उनले भने।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिए पनि बाँदर आतंकका कारण कृषक कृषिबाट विस्थापित हुनुपरेको केसीको भनाइ छ।

व्यास नगरपालिका-१२ धरादीकी प्रेमकुमारी थापाको पीडा पनि उस्तै छ। अहिले मकैखेती गरिएकामा बाँदरले सबै मकै भाँचिदिएको उनको गुनासो छ। ‘बाँदरले मकै भाँचेर सोत्तर बनायो, केही राखेन,’ उनले भनिन्।

व्यास नगरपालिका-६ शिशाघाटका कृषक बल चदौलाले बाँदर आतंकले कहिल्यै खेती खान नपाइएको गुनासो गरे। ‘मकै, घिरौला, काँक्रो केही राख्दैन, सबै खाइदिन्छ, बच्ने भनेको खुर्सानी मात्र हो,’ उनले भने।

यस्तै शुक्लागण्डकी नगरपालिका-१० मान्द्रेका सिद्ध खाणले तरकारी खेती जोगाउन बाँदर कुरेर बस्नुपर्ने अवस्था रहेको बताए। ‘बाँदर धपाउन नबसे खेतीबाली नष्ट हुन्छ, कति कुरेर पनि साध्य हुन्छ र?,’ उनले भने, ‘कृषक साह्रै पीडित भए, कृषकको समस्या सुनिदिने कसले हो ?’

भानु नगरपालिका-४ की अनिता गुरुङले बाँदरबाट कृषिमा भएको क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्ने माग राख्नुभयो। ‘दुःख गरेर गरेको खेती बाँदरलाई मात्रै हुन्छ, हामीलाई कसले क्षतिपूर्ति दिन्छ खै ?,’ उनले भनिन्।

बाँदर आतंकबाट बचाउन सरकारले उचित नीति ल्याउनुपर्ने प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँका अध्यक्ष सुदर्शन प्रधान बताउँछन्। ‘सरकारले किसानको यो दुःखद् मर्म र पीडा बुझेर सही नीति ल्याउनुपर्छ,’ उनले भने।

तनहुँमा ६० हजार बाँदर रहेको भन्दै उनले बाँदरका कारण कृषक सधैं पीडामा बस्नुपर्ने अवस्था आइपरेको गुनासो गरे।

‘चैत महिनादेखि असारसम्म बिहान उज्ज्याले भएदेखि बेलुका साँझसम्म बाँदरले धरक्कै रुवाइरहेको छ। बाँदरले घर-घर पसेर अन्नपात लुट्ने र मान्छेलाई कोपर्न थालेको छ,’ उनले भने, ‘अब बाँदर पीडितले आफ्ना बालचच्चा पाल्ने कि बाँदर? सरकारले स्पष्ट जवाफ दिनुपर्छ,’ उनले भने। -रासस

प्रकाशित: १५ जेठ २०८० ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =