गणतन्त्र उल्ट्याउने कसरत भएको छ : प्रधानमन्त्री

हिमाल प्रेस १५ जेठ २०८० ११:३४
8
SHARES
गणतन्त्र उल्ट्याउने कसरत भएको छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र र लोकतन्त्रप्रति वितृष्णा जगाउने काम भइरहेको बताएका छन्। सोमबार सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी प्रयासहरू सफल नहुने बताएका हुन्।

‘गणतन्त्रमै वितृष्णा जगाउने र संघर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कसरत देखिएको छ,’ उनले भने, ‘यी प्रयासहरू कदापि सफल हुने छैनन्। किनभने लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुन सक्छ।’ उनले गणतन्त्रका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक रहेको पनि बताए। उनले संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुन नसक्ने बताए।

‘आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य पनि प्रमाणित हुँदैन,’ उनले भने, ‘यसलाई मनन गरी जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धताका साथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =