गणतन्त्र दिवस

पोखराको रत्‍न मन्दिर सर्वसाधारणका लागि खुला, पर्यटनमा टेवा पुग्‍ने विश्‍वास

विजय नेपाल १५ जेठ २०८० १०:२०
6
SHARES
पोखराको रत्‍न मन्दिर सर्वसाधारणका लागि खुला, पर्यटनमा टेवा पुग्‍ने विश्‍वास

पोखरा– फेवाताल किनारको सुन्दर रत्न मन्दिर गणतन्त्र दिवस अवसरमा सर्वसाधारणका लागि खुला भएको छ। ०६२/०६३ को जनआन्दोलनसँगै नेपालमा आएको गणतन्त्रको १५ वर्ष पूरा भइसक्दा समेत नेपाल ट्रष्टको नाममा रहेको रत्न मन्दिर खुल्न सकेको थिएन।

कहिले खुल्ने भन्ने बहुप्रतीक्षाको विषयको रहेको रत्न मन्दिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती राईले सोमबार एक समारोहबीच रत्न मन्दिर परिसर सर्वसाधारण प्रवेशका लागि उद्घाटन गरे। उनले यो खुलासँगै समग्र पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिए।

पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर खुलेसँगै समग्र पोखरा क्षेत्रको पर्यटनमा ठूलो पुग्ने यहाँका पर्यटन व्यवसायीहरूको पनि विश्वास छ।

तत्कालीन राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा पोखराको फेवाताल किनारमा रत्नमन्दिर बनाएका थिए। ०५८ सालमा भएको दरबार हत्याकाण्डपछि राजपरिवारका सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको नाममा आएको थियो। जुन अहिले नेपाल ट्रष्ट ऐन, २०६४ कार्यान्वयनमा छ।

शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने पोखरेलीको माग थियो। नेपाल ट्रस्टका सञ्चालक सदस्य योङजोम शेर्पाले देश विदेशका पर्यटकलाई लक्षित गरी गणतन्त्र दिवस अवसरमा पहिलो पटक दरबार खुला गरिएको बताए। वर्षौदेखिको प्रयासले सार्थकता पाएको जनाए। तर दरबारको ऐतिहासिक सामग्रीको सुरक्षा, संवेदनशीलता तथा प्राविधिक कारण भित्री भाग भने सर्वसाधारणको निम्ति खुला नहुने उनको भनाइ छ।

मूल प्रवेशद्धारबाट छिरेर रत्न मन्दिर तथा हिमागृह क्षेत्रको वरिपरि सर्वसाधारणले घुम्न पाउने छन्। दरबारको ढोका खोलेर भित्र भने प्रवेश निषेध छ। आगामी दिनमा सबै तयारी गरेर अरुहरू खुला गर्दै जाने शेर्पाले जानकारी दिए।

पोखरा महानगरका मेयर धनराज आचार्यले लामो प्रयासपछि खुलेको रत्नमन्दिरले पोखराको पर्यटनमा थप टेवा पुग्ने बताए।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरेलीको लामो समयदेखिको माग बल्ल पूरा भएकोमा खुसी व्यक्त गरे। उनले रत्न मन्दिरले पोखरा आउने पर्यटकको बसाइँ लम्बाउन मद्दत पुग्ने विश्वास लिए।
विगतमा निजी क्षेत्रलाई भाडामा दिने प्रयास भएको भन्दै पोखराका अधिकारकर्मीले विरोध जनाएका थिए।

नागरिक समाज पोखराका पूर्वअध्यक्ष राम पौडेल विगतको आन्दोलनका कारण सरकार पछि हटेको बताउँछन्। सर्वसाधारणको लागि खुला हुनु राम्रो पक्ष भएको उनको भनाइ छ।

राजा महेन्द्रको उपहार : रत्न मन्दिर

प्राकृतिक सौन्दर्यका दृष्टिले रत्न मन्दिर र हिमागृह निकै मनमोहक छ। रत्न मन्दिर खासगरी पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बस्ने ठाउँ हो। तत्कालीन राजा महेन्द्रकी कान्छी श्रीमती रत्नको नामबाट नै दरबारको नाम राखिएको हो। रत्नलाई उनले उपहारको रूपमा यो मन्दिर बनाइदिएको पाइन्छ।

०१३ सालमा दरबारको निर्माण सुरु गरी ०१५ सालमा निर्माण पूरा भएको थियो। तत्कालीन राजा महेन्द्रका पालामा बनेको दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो। पूर्वराजा महेन्द्रका माहिला भाइ हिमालय वीरविक्रम शाहका नामबाट हिमागृह निर्माण गरिएको थियो।

रत्न मन्दिर २१ रोपनी र हिमागृह १० रोपनीमा छ। दुवै दरबारसहित रत्न मन्दिरका नाममा कुल १ सय ७४ रोपनी जग्गा छ। रत्न मन्दिरले भने १ सय ११ रोपनी ओगटेको छ। यसभित्र नेपाली सेनाको भगवती दल गण छ।

रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन्। भूइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडीसी) बस्ने कोठा र आरामकक्ष छन्। दोस्रो तलामा ५ वटा कोठा छन्। कोठाबाहिरको मुख्य हलमा बैठककक्ष छ। जसमा राजपरिवारका सदस्यमात्र बैठक बस्ने गर्थे।

राजपरिवारले क्यारामबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ। त्यो बेलाका खेल सामग्री सुरक्षित छन्। दोस्रो तलामा युवराजको शयनकक्षसहित ३ वटा पाहुनाकोठा छन्। राजपरिवारनिकट नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो।

सबैभन्दा माथिल्लो तलामा राजारानीको शयनकक्ष र पूजाकोठा छ। बाहिरपट्टि आरामकक्ष र दृश्यावलोकनका लागि कौशी छ। हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन्। मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएका छन्। राजपरिवारका सदस्यले प्रयोग गर्ने भान्छादेखि शृंगारसम्मका सामग्री सुरक्षित राखिएका छन्।

भित्तामा पूर्वराजा तथा पूर्वयुवराजका तस्बिर सजाइएका छन्। नेपाली कला झल्काउने हस्तकलाका सामग्री र आकर्षक पेन्टिङ छन्। यहाँ प्रयोग भएका टेलिभिजन, रेडियो, टेलिफोन सेटलगायत सञ्चार र सूचना प्रविधिका सामग्री अझै सुरक्षित छन्। काठ र ढुंगाबाट निर्मित दरबारमा पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका स-साना कोठा छन्।

 

प्रकाशित: १५ जेठ २०८० १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =