विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे

हिमाल प्रेस १५ जेठ २०८० ७:११
8
SHARES
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे फाइल तस्बिर।

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्र गणतन्त्रको वास्तविक कार्यभार भएको बताएका छन्। गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।

जनताको जीवनमा सार्थक र सकारात्मक परिर्वतन ल्याई नेपाललाई सबल, आत्मनिर्भर साथै समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्न हाम्रो संविधानले परिकल्पना गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहका सरकारको जनताप्रति आ-आफ्नो उत्तरदायित्व रहेको  सन्देशमा उल्लेख छ।

‘लोकतन्त्रले ल्याएको यो सुन्दर व्यवस्थालाई जनमैत्री र अझै मजबुत बनाउन गण्डकी प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढिरहेको छ,’ उनले भनेका छन्, ‘यो संवैधानिक व्यवस्थाको अवधारणा संस्थागत गर्न सहयोग पुग्ने गरी प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम, योजना र बजेट व्यवस्था गरेको छ।’

संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाइ, खानेपानी, पर्यावरणलगायत आधारभूत अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न गणतन्त्र दिवसले हामी सबैलाई उत्साह प्रदान गर्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरेको छ।

सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा मुलुकलाई सामाजिक, आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता रहेको भन्दै सन्देशमा यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न सबैलाई प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fifteen =