घटना १० वर्षअघिको हो। जतिखेर मुलुक दोस्रो संविधानसभा निर्वाचन-२०७० मा होमिएको थियो। त्यतिखेर तत्कालीन अर्मला गाविस वडा १ र ६ (हाल पोखरा महानगर वडा १६) मा पाकेको धान स्याहार्ने हतार थियो, किसानलाई।
मंसिर ५ मा अर्मलाको आँगेमा धान काट्न गएका किसानले खेतमा भ्वाङ परेको देखे। वृत्ताकारका भ्वाङ देखेपछि उनीहरू तीनछक परे।
सबैतिर के भयो, कसो भयो भन्ने हल्ला फैलियो। टेकिरहेको जमिनै भासिँदा एक जनालाई भ्वाङभित्रबाट निकाल्नुसमेत परेको घटना स्थानीय सम्झिन्छन्।
एकपछि अर्को भ्वाङ पर्दै जाँदा पटकपटक गरी यहाँ पाँच सय हाराहारी रोपनी जमिनमा करिब तीन सयजति भ्वाङ परे। खेतीयोग्य जमिन भासिँदै गयो। केहीका घरभित्रैसमेत ठूलठूला भ्वाङ देखिन थाले।
बिस्तारै घरखेत छोडेर अन्यत्र बसाइँ सर्ने लहर चल्यो। घरभाडामा बस्नेहरू हारगुहार गर्दै लाखापाखा गए। मानिसलाई मृत्युको डरले सताउन थाल्यो। यसरी अर्मलावासीलाई त्रास कायम रहँदा जमिनमा भ्वाङ पर्नु, त्यो पनि सबै वृत्ताकारका हुनु अर्को रहस्य र अनुसन्धानको विषय बन्न पुगेको थियो।
सहरीकरणसँगै नजिकैको कालीखोला अतिक्रमणमा पर्यो। खोला भित्रभित्रै बग्दै जान थालेपछि त्यति नै खेर भूगर्भविद्हरूले जोखिम क्षेत्र भनिसकेका थिए। तर जग्गा भासिएपछि मुख्य जोखिम क्षेत्रका दुईचार घरबाहेक अन्यहरू लाखापाखा लाग्न बाध्य भए। एक दर्जन घरपरिवार पूर्ण रूपमा विस्थापित हुनुको साथै ५०/६० घरपरिवार उच्च जोखिममा परेका थिए।
एक्कासि परेको त्यो विपत्ति अब कहिल्यै नदोहोरिओस् भन्ने स्थानीय धनराज आचार्यको कामना छ। उनी त्यो कहालीलाग्दो घटना बिर्सने प्रयासमा छन्। तर जब बर्खायाम सुरु हुन्छ, तब केही पो हुने हो कि भन्ने डर अझै हटेको छैन।
जोखिम सहरमा अधिक वर्षा
पोखरा भौगोलिक रूपमा जोखिमयुक्त सहर हो। पोखराको मुख्य सहरको निकै गहिराइ हुँदै सेती नदी बग्छ। वर्षायाममा यहाँ जमिन भासिने समस्या छ। गुडिरहेको गाडी एक्कासि भासिएपछि रोकिनुपरेका कैयौँ घटना छन्।
नेपालमा अब मनसुन भित्रिन दुई सातामात्र बाँकी छ। यतिखेर प्री-मनसुन चलिरहेको छ। नेपालमा मनसुन जुन १० देखि भित्रिएर सेप्टेम्बर २३ सम्म रहने गर्छ। बंगालको खाडीबाट छिर्ने मनसुन १ सय २० दिन अवधिको हुन्छ।
पोखरामा आजभन्दा २२ वर्षअघि परेको पानी अहिलेसम्मकै धेरै हो। सन् २००१ को अगस्तको एक दिन २४ घण्टा अवधिमा यहाँ ३ सय ५७ मिलिमिटर वर्षा भएको थियो। त्यो रेकर्ड अहिलेसम्म भंग भएको छैन।
त्यसयता बढीमा दैनिक २ सय देखि २ सय ५० मिलिमिटरसम्म वर्षा भएको छ। वर्षभरि ४ हजारदेखि ५ हजार मिलिमिटर वर्षा हुने गरेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका कार्यालय प्रमुख मौसमविद् मीनकुमार अर्यालले बताए।
पोखरामा सामान्यतया मनसुनको समय सेप्टेम्बरमा सरदर ६ सय ४० मिलिमिटरसम्म वर्षा हुने गर्छ। अधिक वर्षाले पोखरा सहरका विभिन्न भाग डुबानमा पर्छन्। सडकमा सवारीसाधन गुड्न सक्दैनन्। उचित ढल निकास नहुँदा सडकभरि खोलो बग्छ।
१० महिनामा ११७ को मृत्यु
गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा विपत्मा परी एक सय जनाको ज्यान गयो। २१ जना बेपत्ता हुँदा १ सय ३८ जना घाइते भए। तीमध्ये बाढीपहिरोमा परी ८१ जनाको ज्यान गयो। मानवीय विपत्तिमध्ये सबैभन्दा बढी बाढीपहिरोमा धेरैले ज्यान गुमाएका हुन्। यस्तै चट्याङ् र आगलागीमा परी क्रमशः १० र ९ जनाले अकालमा मृत्युवरण गर्नुपर्यो। घाइते हुनेमा समेत सबैभन्दा बढी बाढीपहिरोबाटै ७४ घाइते भए।
यस्तै अर्को वर्ष आव २०७८/७९ मा ८९ जनाले ज्यान गुमाउँदा २ सय १३ जना घाइते भए। विपत्जन्य ७ सय २५ घटनामा बाढीपहिरोका मात्रै २ सय ४७ घटना थिए। बाढीपहिरोमा परी २७ जनाको मृत्यु भएको थियो। बाढीपहिरोपछि दोस्रो थियो, चट्याङ। चट्याङबाट त्यसबेला १० जनाको मृत्यु तथा २७ जना घाइते भए। आगलागीका २ सय २ घटनामा पाँच जनाको मृत्यु हुँदा २२ घाइते हुन पुगे।
चालु आवको वैशाखसम्म अघिल्ला दुई आवको तुलनामा विपत्मा परी मृत्यु हुनेको संख्या बढी छ। १० महिनामा विपत्जन्य घटनामा १ सय १७ जनाको मृत्यु भयो। १ सय ९ घाइते भए। ५ सय ८१ घटनामा सबैभन्दा बढी २ सय १ घटना आलगागीका थिए। यसै वर्ष पोखरामा हवाईजहाज दुर्घटना भयो। जसमा ७२ जनाले ज्यान गुमाए।
विगतको तुलनामा मृत्यु संख्या बढेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले संकलन गरेको विवरणमा उल्लेख छ। बाढीपहिरोमा पाँच पुरुष र तीन महिलासहित आठ जनाको अकालमा ज्यान जाँदा छ जना घाइते भएका थिए। विपत्का घटनामा ३० करोड १६ लाख रुपैयाँ नोक्सान भयो।
पछिल्ला तीन वर्षमा विपत्का घटनामा परी गण्डकीमा वार्षिक सरदर सय जनाले अकालमा ज्यान गुमाउने गरेको पाइएको छ। एक सयदेखि दुई सय जना घाइते हुने गरेका छन्। मानवीय क्षति त छँदैछ, भौतिक क्षति पनि उत्तिकै भएको छ।
न्यूनीकरण प्रयास
विपत्का घटनामा मनसुनजन्य घटना बढी छन्। बाढी, पहिरो र अविरल वर्षा मनसुनजन्य घटनाअन्तर्गत पर्छन्। बर्खायाममा सम्भावित विपत्बारे सचेतना भने अपनाउनु जरुरी छ। विपत् व्यवस्थापन निकै सकसपूर्ण छ। सेतीमा आएको सुक्खायामको बाढी होस् वा बर्खायामको पहिरो, बाढी, आगलागीजस्ता विपत्ले यहाँ ठूलो जनधनको क्षति पुर्याएको इतिहास छ।
जिल्लास्तरमा जिल्ला विपत् व्यवस्थापन समिति सक्रिय हुन्छ भने स्थानीयस्तर तथा प्रदेशस्तरमा पनि विपत् व्यवस्थापन समिति रहने व्यवस्था छ। प्रदेश विपत् व्यवस्थापन समितिको बैठकले पनि सबै स्थानीय तह र सरोकारवाला सबैलाई मनसुन तयारी योजना बनाउन निर्देशन दिइसकेको छ।
सबैभन्दा धेरै पानी पर्ने कास्कीको भूबनोट, माटोको प्रकृति, अवैज्ञानिक सडक प्रणाली, जनस्तरमा विपत्को जोखिम विषयमा न्यून चेतनास्तर र विकास निर्माणका क्रियाकलाप कमजोर हुँदा वर्षायामसँगै विपत्का घटना हुने गरेका छन्। जसका कारण बाढीपहिरो, डुबान, हुरी, चट्याङ, आगलागीजस्ता विपत् कास्कीले सामना गर्नुपरेको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी गुरुदत्त ढकालले स्थानीय तहको समन्वयमा मनसुन प्रतिकार्य योजनाको लागि कार्य गरिरहेको बताए। उनले स्थानीय व्यवस्थापन समिति, जिल्ला तथा प्रदेशस्तरमा विपत् व्यवस्थापन समितिले आवश्यक उद्धार सामग्री तथा नगद मौज्दातका रूपमा राखेको जनाए। कहीँकतै विपत्को खबर आए १५ मिनेटभित्र घटनास्थल पुग्ने संयन्त्र तयारी अवस्थामा रहेको उनको दाबी छ।
पोखरा महागरका विपत् व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र शर्माले उच्चजोखिम स्थले निरीक्षण गरी रोकथामका लागि बाढीपहिरो नियन्त्रण भनेर छुट्याएर ५० वटाजति योजनामा काम हुँदै गरेको बताए।
महानगरको विपत् व्यवस्थापन शाखा, नगर प्रहरी, दमकल, एम्बुलेन्सलगायतको एउटा टोली तयार रहेको उनको भनाइ छ। ‘विपत्पछि पुनर्स्थापनाका लागि एक करोड रुपैयाँको राहत कोष तयारी अवस्थामा छ,’ उनले भने।
उता रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले विपत् प्रतिकार्यका लागि पनि आफूहरू तयारी अवस्थामा रहेको बताए। देउराली, तालबेँसी र फालभञ्ज्याङको प्रहरीचौकीमा विपत्को सामान राख्ने तयारी भइसकेको छ।
गाउँको पालिकाको डोजर र एम्बुलेन्स तयारी अवस्थामा रहेको ओझाको भनाइ छ। वडा कार्यालयमा पनि विपत् प्रतिकार्यको लागि केही सामान राखिएको छ भने गाउँपालिकाका ८२ वटै टोलमा स्टे«चर छन्।
मुख्यमन्त्री पाण्डेको चासो
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सम्भावित विपत्का घटना न्यूनीकरणमा सजग देखिन्छन्। गत साता उनले प्रदेशभित्रका सबै जिल्लाका सशस्त्र प्रहरी बलका प्रमुखलाई पोखरा डाकेर उच्च सतर्क रहन र विपत् प्रतिकार्यमा खटिन तयारी रहन निर्देशन दिएका थिए।
उनले बर्खायाममा सम्भावित बाढीपहिरो तथा प्राकृतिक विपत्को जोखिम न्यूनीकरण गर्न, विपत् भइहाले तत्काल उद्धार र राहतसहित क्षति हुन नदिन सतर्क रहन निर्देशन दिएका हुन्।
गत साता नै तनहुँको व्यास ५ स्थित कालीभञ्जन गणले आयोजना गरेको अभ्यास गण्डक उद्धार कार्यक्रममा पनि मुख्यमन्त्री सरिक भए।
त्यहाँ उनले विपत्को घटना प्रतिकार्यका लागि सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकाय र स्थानीयवासीको योगदान महत्त्वपूर्ण रहेको बताएका थिए।
नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति एवं उपरथी दीपक बानियाँले नेपाली सेनाले प्राकृतिक घटनामा जनताको जिउधनको सुरक्षाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। गण्डकी प्रदेशमा विगत तीन वर्षमा बाढीपहिरो, आगलागी र हिमपहिरोबाट २ सय १८ जनाको मृत्यु भएकाले यस प्रदेश विपत् जोखिमको सूचीमा परेको उनको भनाइ थियो।