एमालेलाई सम्झाउँदै रमेश लेखकले भने- सभामुखको छेउकै कुर्सीमा बस्दा यो देश झिलिमिली देखिन्छ

हिमाल प्रेस १३ जेठ २०८० १९:०४
4
SHARES
एमालेलाई सम्झाउँदै रमेश लेखकले भने- सभामुखको छेउकै कुर्सीमा बस्दा यो देश झिलिमिली देखिन्छ फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। शनिबार नीति तथा कार्यक्रममा मतदान गर्ने कार्यक्रम रहेको छ। नीति तथा कार्यक्रममा सत्ता पक्षका दलहरूले समर्थन गरिरहेका छन्।

प्रतिपक्ष दल एमालेलगायतले नीति तथा कार्यक्रमको विरोध गरिरहेका छन्। प्रमुख प्रतिपक्ष नेकपा एमालेले नीति तथा कार्यक्रमको विरोध गर्दै आएको छ। नीति तथा कार्यक्रम र सोमाथि एमालेको धारणाप्रति कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शनिबार टिप्पणी गरेका छन्।

उनले नीति तथा कार्यक्रमलाई आगामी एक वर्षका लागि निश्चित गन्तव्य देखाएकाले कांग्रेसले नीति तथा कार्यक्रमको समर्थन गर्ने बताए। साथै एमालेप्रति टिप्पणी गर्दै सरकारमा हुँदा सबै ठिक देखिने र प्रतिपक्षमा हुँदा सबै बेठिक देखिने धारणा रहेको स्मरण गराए।

‘यही सदनमा मैले १८ देखि २० वटा नीति तथा कार्यक्रम भोगेको छु। लेखन र भाषिक रूपमा केही फरक भए पनि आधारभूतले खासै फरक छैनन्,’ नेता लेखकले भने, ‘कार्यान्वयनका लागि कति पर्यत्न गर्‍याैँ भन्ने महत्त्वपूर्ण हो।’

उनले नीति तथा कार्यक्रम नेपालको वर्तमान परिस्थतिअनुसार स्वभाविक रहेको भन्दै यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए। साथै यसअघि नेकपा एमाले नेतृत्वमा हुँदा आएका नीति तथा कार्यक्रम पढ्दा स्वर्गको अनुभूति भएको भन्दै व्यंग्य गरे। ‘कतिपय नीति तथा कार्यक्र पढ्दा महाकाली नदिमा पानी जहाज चढेर कञ्चनपुरबाट डडेलधुरा हुँदै बैतडी पुगेको अनुभूति मैले गरेँ,’ उनले भने, ‘पानी जहाज पनि चानचुने होइन, नर्वेजियन क्रुजजस्तै भएको अनुमान गरे। तर म त्यतिबेला झसंग भएर यर्थाथको धरातलमा झरे। जुन दिन मजस्ता मानिस पानी जहाज चढेको होइन, जय सिंह धामी तुइनबाट झरेर त्यही महाकाली नदीमा डुबेर मरे।’

महाकाली नदीमा नर्वेजिय क्रुजको यात्रा र तुइन चुँडिएर त्यसै नदीमा मानिस मर्नुका बीचको अन्तर र खाडल नेपालीको यथार्थ रहेको नेता लेखकको भनाइ थियो। ‘यहाँ दुई मिटर दुरीको समस्या छ। सभामुखको दायाँतिरको आसनको छेउको कुर्सीमा बस्दा यो देश झिलिमिली देखिन्छ। सबै कुरा राम्रो देखिन्छ। सबै कुरा गज्जवको देखिन्छ,’ उनले भने, तर समय, परिस्थिति, संयोगले त्यो कुर्सी दुई मिटर उता गएर अर्को कुर्सीमा बस्नुपर्दा यो देश अन्धकारमय देखिन्छ। यो मानसिकता र मनस्थितिबाट हामी मुक्त हुन सकेनौँ भने नीति कार्यक्रमलाई जतिसुकै राम्रो निबन्धमा लेखे पनि त्यो कार्यान्वयन हुँदैन।’

प्रकाशित: १३ जेठ २०८० १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =