साइतले जुरेको पोखरा यात्रा

मोहनकृष्ण श्रेष्ठ १३ जेठ २०८० १७:२१
154
SHARES
साइतले जुरेको पोखरा यात्रा

वैशाखमा बिहेको निम्तो मान्न पोखरा जानुपर्ने भयो। घरमा वैशाख २४ मा गएर ३१ गते फर्किने सल्लाह गर्‍यौँ। कसरी जाने त? म र मेरी श्रीमती अलमलियौँ। हवाईजहाजमा आधा घण्टामै आरामसँग पुग्न सकिन्छ, पोखरा। टुरिस्ट बसमा गए झन्डै नौ घण्टा लाग्दो रहेछ। साढे छ घण्टामै गन्तव्यमा पुर्‍याउने बसलाई सडकको हालतले गर्दा नौ घण्टा लाग्छ।

केही समयअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईजहाज दुर्घटनामा पर्दा ७२ जनाको मृत्यु भएको घटनाले हामीलाई झस्काइरहेको थियो। त्यसैले प्लेन चढ्न डराइरहेका थियौँ।

संसारभरि हरेक दिन लाखौँ हवाईजहाजले उडान भरिरहेका हुन्छन्। सबै दुर्घटनामै पर्छन् भन्ने होइन। तर पनि मान्छेको मन न हो। विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा देखिएका दुर्घटनाका तस्बिर र भिडियोले मनलाई अझै तर्साइरहेका हुन्छन्। अन्त्यमा बसबाटै पोखरा जाने निर्णयमा पुग्यौँँ।

वैशाख २४ बिहान बस स्टेसनमा पुग्यौँ। बस ७ बजे निर्धारित समयमा प्रस्थान गर्‍यो। यसरी सबै कामकुरा समयमै हुने भए देशले काँचुली फेथ्र्यो होला भन्ने लाग्यो। झिनो आशा पनि पलायो।

मुग्लिङ कट्यो। त्यसपछिको बाटोमा निर्माण कार्य भइरहेकाले उबडखाबड थियो। बस पोखराको राष्ट्रबंैक चोकनजिकको पार्कमा पुग्दा बेलुकाको ५ बजिसकेको थियो। ससुराली नजिकै थियो। तुरन्तै पुगियो। धेरैपछि दिदीबहिनी ज्वाइँहरूको आगमनले घरमा रौनक थपियो। पारिवारिक जमघटमा समय गएको पत्तै भएन।

बिहेका काम सुरु भए। वैशाख २८ मुख्य दिन थियो। नाचगानले उल्लास थपिदियो। विवाहका सबै कार्यक्रम सफलतापूर्वक सम्पन्न भए। भदैनीको बिदाइले सबैलाई भावुक बनायो। कोही सुँक्कसुँक्क गर्दै थिए। कसैका आँखाबाट बरर आँसु बगिरहेका थिए। कसैलाई चाहिँ मन थामिनसक्नुभएको थियो। जन्ती फर्केपछि एकछिन त्यहाँ शून्यताले छोप्यो।

रमणीय र सुन्दर छ, पोखरा सहर। प्रख्यात फेवा तालले मनै लोभ्याउँछ। अनि नजिकै छ, बुद्ध स्तूप। करिब ३० किलोमिटर पर ठिङ्ग उभिएको माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमालको मनमोहक दृश्य!

२७ वर्षअघि विवाहका लागि जाँदाको पोखरा र अहिलेको पोखरानिकै फरक लाग्यो। धेरै परिवर्तन भइसकेको छ। ठूल्ठूला घर, भवन अनगिन्ती बनिसकेका छन्। सहरको रूपरङ फेरिएको छ। जग्गाजमिनको भाउ छोइनसक्नु छ रे! गतिशील सहरमा गनिन्छ, पोखरा। अनि प्राकृतिक सुन्दरता यसको मुख्य विशेषता हो।

बिहेमा सहभागी हुन आएका सबै जना भोलिपल्ट पुम्दीकोटस्थित शिवको विशाल मूर्तिको दर्शन गर्न हिँडे। घरबाट आधा घण्टाको दूरीमा डाँडाको टुप्पामा रहेछ, पुम्दीकोट। समुद्र सतहबाट करिब १५०० मिटरको उचाइमा।

पद्मासनमा बसेका शिवको मूर्ति ५२ फिट अग्लो छ। विशाल शिवमूर्ति साँच्चै हेर्नलायक छ। कति सुन्दर, कति राम्रो, कति भव्य, कति आकर्षक! त्यसको बयान गरिसाध्य छैन। शिवमूर्तिलाई घेरा हालेर गणेशको मूर्तिले फन्को लगाइराखेको दृश्य गज्जब लाग्यो। धीत मर्ने गरी घुमफिर गर्‍यौँ। मनग्गे तस्बिर खिच्यौँ। मन शान्त बनाउने सरर बगिरहेको स्वच्छ हावा, कलिलो घामको ताप र उत्तरतिर देखिने हिमालका भव्य दृश्य हेरेर दंग नहुने को होला!

अन्नपूर्ण प्रथम ८०९१ मिटर। ३ जुन १९५० मा फ्रान्सका प्रख्यात आरोही मौरिस हर्जाेगले आठ हजार मिटरभन्दा अग्लो हिमालमा सर्वप्रथम मानव पाइला टेकेका थिए। म राजदूत भएर फ्रान्स जाँदा उहाँलाई ४ नोभेम्बर २०१० मा राजदूतावासले स्वागत समारोह आयोजना गरी सम्मान गरेको सम्झना पनि आयो। अदम्य साहसका धनी हर्जोगको निधन भइसकेको छ।

नेपाललाई त्यसै प्राकृतिक रूपमा सुन्दर देश भनिएको होइन। हिमाली शृंखला, हरियो जंगल, नदीनाला, ताल आदि प्राकृतिक सुन्दरताले भरिएको छ नेपाल।

२९ वैशाखमा बिहानै बिन्दवासिनी मन्दिरको दर्शन गर्न गयौँ। मन्दिर परिसरमा बस्दाबस्दै बागलुङ कालिका भगवती मन्दिर जाने कार्यक्रम बन्यो। झन्डै दुई घण्टाको यात्रापछि त्यहाँ पुग्यौँ। विगतमा पाल्पाका राजा मुकुन्दसेनकी छोरी गलकोटका राजाका छोरासँग विवाह गर्दा भगवतीको मूर्ति पनि दाइजोमा दिइएको रहेछ। यस स्थानमा पुगेपछि देवीबाट यतै बस्ने आदेश भएअनुसार मन्दिर स्थापना भएको धार्मिक मान्यता छ। कुनै बेला यतातिर बाघ आएर देवीको दर्शन गर्ने जनश्रुति पनि छ। त्यसैले मन्दिरअगाडि एउटा बाघको मूर्ति पनि स्थापना गरिएको छ।

 

त्यहाँबाट बागलुङ पाँच मिनेटमै पुगिने रहेछ। काठमाडौँ र पोखरामा बागलुङेहरूको जगजगी सुनिन्छ। जीवनमा तरक्की गरी सिक्का जमाएका केही बागलुङेलाई म पनि चिन्छु। सहरको एक फन्को लगायौँ। व्यापारिक सहरमा परिणत भइसकेको रहेछ, बागलुङ।

दिउँसोको खाना खाने बेला भयो। ‘होटल सुमन’मा छिर्‍यौँ। साहुजी बनेपाका रहेछन्। आफ्ना पुर्खा करिब दुई सय वर्षअघि बनेपाबाट बागलुङ आएको उनले सुनाए। कसरी यति टाढा आए होलान् भन्ने लाग्यो। त्यस बेला न बाटोघाटो थियो, न सवारीसाधन। तर जीविकाका लागि विभिन्न अवरोध पार गर्दै मान्छे कहाँबाट कहाँ पुग्दो रैछ!

बागलुङबाट बेनी जाने कुरो चल्यो। हाम्रा ससुराबाबाजेहरू बेनीबाट पोखरा करिब ६०/७० वर्षअघि आउनुभएको थियो। लामो समयदेखि बेनी घुम्ने कुरा भए पनि अवसर जुरेको थिएन। त्यस दिन साइत पर्‍यो। आधा घण्टाजति गाडीमा सररर गएपछि बेनीबजार पुगियो। केही समयअगाडि कालीगण्डकी नदी थुनिएर बेनीमा भयावह स्थिति पैदा भएको थियो। नदीको बहावले छियाछिया भएको फलामे कालो पुल तर्दा भीषण बाढीको दृश्य मानसपटलमा सरसर्ती आयो।

बजारको फन्को लगाएपछि हामी महारानी थान गयौँ। बजारबाट पाँचछ मिनेट टाढा होला। यो प्रख्यात धर्मस्थल हो। चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’मा महारानी यसै स्थानमा अलप भएको भनी लेखिएको छ। त्यो उपन्यास साह्रै चाख लिएर पढेको थिएँ। ऐतिहासिक परिवेशलाई उजागर गरी लेखिएको सो उपन्यास अति रोमाञ्चकारी छ। उपन्यासकी मुख्य पात्र महारानी अलप भएको ठाउँमा पुगेर दर्शन गर्न पाउँदा निकै खुसी भएँ।

त्यहाँ बस्दाबस्दै फेरि अर्काे कार्यक्रम बन्यो। गलेश्वर महादेवको दर्शन गर्न जाने। बुझ्दा यही १५-२० मिनेट पर रहेछ। लागियो गलेश्वर महादेव मन्दिरतिर। यो त गज्जबको ठाउँ पो रहेछ। करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टान रूपी विशाल ढुंगाको एउटा किनारतिर महादेवको मन्दिर बनाइएको छ। यसलाई दोस्रो पशुपतिनाथ मन्दिर पनि भन्दा रहेछन्। ढुंगाबाट उत्पत्ति भएका भनिएको भगवान्को मूर्तिलाई चाँदीको मुकुटले छोपेर राखिएको छ।

हिन्दू धर्मावलम्बीले पवित्र मान्ने यस स्थानमा साधुसन्त, तपस्वीको बसोबास छ। कालीगण्डकी नदीकिनारमै रहेको यस मन्दिरलाई भारतका हिन्दू धर्मावलम्बीले अलौकिक स्थानका रूपमा वर्णन गर्ने गर्छन्। कहिल्यै पानी नसुक्ने सानो पोखरी र अष्टनिधि प्राप्त ब्रह्मनिधि तपस्वी गलेश्वर बाबाको मूर्ति पनि राखिएको रहेछ। विशालकाय मैदान रूपी ढुंगा कसरी उत्पत्ति भयो होला? भन्ने जिज्ञासा मनमा आयो सायद उत्तरमा रहेका हिमाल शृंखला बन्दा नै बनेको हो कि! कालीगण्डकी नदीमा पनि भीमकाय ढुंगा देखियो।कम्तीमा १०० देखि ३०० टन होला। बाढी आउँदा बगाएर ल्यायो होला भन्ने अनुमान लगाएँ।

मन्दिर दर्शनपछि पोखरा फर्कियौँ। साँझ परिसकेको थियो। लेकसाइडतिर झिलमिल बत्ती बलिरहेका थिए। होटल, रेस्टुरेन्टमा उत्लास थियो। विदेशी पर्यटकको घुइँचो देखियो। नेपाली युवा पनि रमाएको देखेँ। युरोप वा अमेरिकाका कुनै ठाउँ पुगेको महसुस भयो। अर्काे दिन लेकसाइड घुम्न जाने कार्यक्रम थियो।

वैशाख ३० मा ट्राउट माछा खाने योजना बन्यो। पोखरा सहरबाट सवा घण्टाजति लाग्ने रहेछ। बीचमा अकलादेवी भगवती मन्दिरको पनि दर्शन गरियो। गण्डकी ट्राउट फार्ममा पुग्दा सयौँको संख्यामा ग्राहक जम्मा थिए। चारैतिर पहाडै पहाडले घेरिएको थोरै समथल जग्गामात्र भएको स्थान रहेछ। मान्छेको भीड देखेर ट्राउट माछाको व्यापार निकै चम्किएको जस्तो लाग्यो। तर यो माछा पालेर हुर्काउन त्यति सजिलोचाहिँ हुँदैन रे! मीठो खाना खाएर हामी फर्कियौँ। न्यानो सत्कार र ट्राउट माछाको स्वाद बिर्सन गाह्रो।

वैशाख ३१ मा बिहान ८ बजे पोखराबाट हिँड्यौँ। उबडखाबड बाटोले गर्दा यात्रा उदेकलाग्दो भयो। दुई सय किलोमिटरको दूरी रहेको काठमाडौँ-पोखराको यात्रामा नौ घण्टा लाग्ने कुराले बसमा रहेका विदेशी पर्यटकलाई पनि अत्याएको थियो। केही वर्षमा ठूलो चौडा सडक तथा नागढुंगाको टनेल बनेपछि पोखरा चार घण्टामै पुगिने आशाले यात्रामा उत्साह थपिरहेको थियो।

साँघुरो सडकमा ठूलठूला बस, ट्रकलगायत आवतजावत गरिरहन्छन्। नजिकैबाट गुज्रिने गाडीले आङै सिरिङ्ग बनाउँछन्। एकापसमा ठोक्किएलान् कि भन्ने लाग्ने। डर र उत्साहका बीच नौ घण्टापछि बस बालाजुमा रोकियो। सकुशल पुर्‍याएकोमा चालक-सहचालकलाई धन्यवाद दियौँ। अनि घरतिर लाग्यौँ।

प्रकाशित: १३ जेठ २०८० १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =