शुभमन गिल : भारतीय क्रिकेटका ‘नयाँ राजकुमार’

हिमाल प्रेस १३ जेठ २०८० ८:००
28
SHARES
शुभमन गिल : भारतीय क्रिकेटका ‘नयाँ राजकुमार’

काठमाडौँ- ओपनर शुभमन गिलको मेहनत बलर मोहित शर्माले खेर जान नदिएपछि गुजरात टाइटन्स शुक्रबार मुम्बई इन्डियन्समाथि ६२ रनको जित हासिल गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।

आईपीएल क्वालियफार-२ को यो भिडन्तमा गिलले ६० बलमा १२९ रन बनाए। उनको शतकका कारण गुजरातले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३३ रनको योगफल तयार पार्न सक्यो।

एहमदाबादको नरेन्द्र मोदी क्रिकेट रंगशालामा जवाफी ब्याटिङ गरेको मुम्बई १८.२ ओभरमा १७१ रनमै सीमित भयो। मुम्बईलाई रोक्न मोहित शर्माले २.२ ओभरमा १० रन खर्चिएर पाँच विकेट हात पारे।

मुम्बईलाई हराएसँगै गुजरातले चेन्नाई सुपर किंग्सविरुद्धको उपाधि भिडन्त पक्का गर्‍यो। क्वालिफायर-१ मा गुजरातलाई नै पराजित गरेर चेन्नाई फाइनलमा पुगेको थियो। फाइनल आइतबार हुनेछ।

गिलले यो सिजन तेस्रो पटक शतक प्रहार गरेका हुन्। पछिल्लो शतकपछि उनले यसपालिको आईपीएलमा बनाएको रन ८३१ पुगेको छ। सर्वाधिक रन बनाउने सूचीमा गिलपछि फाफ डु प्लेसिस र विराट कोहली छन्। यी दुईको नाममा क्रमशः ७३० र ६३९ रन छ।

गिल टि-२० क्रिकेटमा चार इनिङ्समा तीन शतक प्रहार गर्ने दोस्रो खेलाडी पनि बनेका छन्। यसअघि यो सफलता माइकल क्लिन्गरको नाममा मात्र थियो। हाल २३ वर्ष रहेका गिल सबैभन्दा कान्छो उमेरमा चार इनिङ्समा तीन शतक प्रहार गर्ने खेलाडी पनि बने। गिलले पछिल्ला तीन खेलमध्ये चेन्नाईविरुद्ध ४२, रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १०४ र हैदराबाद सनाइजर्सविरुद्ध १०१ रन बटुलेका थिए।

१० छक्का र सात चौकाको मद्दतले शतक बनाएका गिलको भारतीय क्रिकेटमा प्रशंसा भइरहेको छ। ट्विटर लगायतका सामाजिक सञ्जालमा समर्थकले मात्र होइन वर्तमान तथा पूर्वखेलाडीले गिलको तारिफ गरिरेहका छन्।

भारतीय टिमका पूर्वकप्तान कोहलीले इन्स्टाग्राममा गिलको फोटो हालेर बधाई दिएका छन्। कोहलीले फोटोसँगै ताराको ‘इमोटिकन’ पनि हालेका छन्। कोहलीले गिललाई ‘स्टार’ को संकेत गर्न खोजेको देखिन्छ।

पूर्वक्रिकेटर युवराज सिंहले गिललाई भारतीय क्रिकेटको नयाँ राजकुमार भनेका छन्। ‘भारतीय क्रिकेटको नयाँ राजकुमारबाट फेरि एकपल्ट असाधारण इनिङ्स।’ युवराजको ट्विटमा भनिएको छ।

कार दुर्घटनामा परेर घाइते भएका ऋषभ पन्तले इन्स्टाग्राममा गिलको तारिफ गरेका छन्। ‘उच्चस्तरको प्रदर्शन,’ पन्तको इन्स्टाग्राम स्टोरीमा लेखिएको छ।

सुरेश रैनाले गिललाई भारतीय क्रिकेटका भविष्य मानेका छन्। ‘असाधारण युवा प्रतिभा गिलको अर्को सशक्त शतक। भारतीय क्रिकेटका भविष्य चम्किँरहेका छन्। यस्तै उम्दा खेलिरहनु।’ गिलका लागि रैनाको सन्देश यस्तो छ।

दक्षिण अफ्रिकाका एबी डे भिलियर्सले गिलको ब्याटिङले आफूलाई निशब्द बनाएको प्रतिक्रिया दिए। ‘बयान गर्न मसँग शब्दै छैन। कुन समयमा कस्तो ब्याटिङ गर्ने भन्ने ज्ञान उनमा छ। फेरि यो तथ्य नभुलौँ, उनका धेरैजसो खेल एहमदाबादमा खेलेको छन्। यो असाध्यै ठूलो रंगशाला हो,’ डिभिलियर्सले ट्विटरमा लेखेका छन्।

इंग्ल्यान्डका पूर्वकप्तान माइकल भोनले पनि गिलको शतकको प्रशंसा गरेका छन्। ‘शुभमनको ब्याटिङ हृर्न रमाइलो लाग्छ। अन्य उच्चस्तरीय खेलाडी जस्तै उनले पनि सजिलो तरिकाले ब्याटिङ गरेको देखिन्छ। उनी भारतीय क्रिकेटमा अर्का ठूला प्रतिभा हुन्,’ भोनको भनाइ छ।

भारतीय टिमका पूर्वओपनर विरेन्द्र सेहवागले गिलमा सफलताको भोक र स्थिरता रहेको प्रतिक्रिया दिएका छन्। ‘चार खेलमा तीन शतक, त्यो पनि अविश्वसनीय सट खेल्दै। यत्तिको भोक र स्थिर ब्याटिङ ठूला खेलाडीमा हुन्छ,’ सेहवागले ट्विट गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =