अरनिकोको पदचापमा

समृद्ध तिब्बतका साक्षी रत्नकुमार

अजय अलौकिक १३ जेठ २०८० ६:५७
150
SHARES
समृद्ध तिब्बतका साक्षी रत्नकुमार

सम्झना ताजै छ। उनी भन्छन्, ‘म सन् १९८४ मा तीन दिन लगाएर पहिलो पटक ल्हासा पुगेको थिएँ, बत्ती थिएन, पूरै अन्धकार। अहिले हेर्नुस् ३०/३५ वर्षमा कहाँ पुग्यो, ल्हासा! जाज्वल्यमान छ ल्हासा सहर। सडक सबै राम्रा, हरेक सुविधा पाइने, कति लोभलाग्दो विकास!! ’
****
रत्नकुमार तुलाधर ल्हासाको भाकोर सडकमा अवस्थित नेपाली मूर्ति तथा कलात्मक वस्तु पाइने स्यामु कापु (सेतो टोपी) पसलमा बसिरहेका भेटिन्छन्। चालीस वर्षअघि नै उनी यो काममा संलग्न भएका हुन्। पसलको इतिहास त एक सय वर्षभन्दा लामो छ। स्यामु कापु १३५ वर्षअघि स्थापना भएको हो। नेपाली व्यापारी भाजुरत्नद्वारा स्थापित स्यामु कापु पसलमा काम गर्न भनी उनी ल्हासा आएका थिए।

उनी तीनपटक मात्र नेपाल गएका छन्। घरजम पनि सन् १९९६ मा तिब्बती युवतीसँग गरे। उनको जीवन ल्हासामै रमाइरहेको छ। ठूलो छोरा नेपालमा र सानो ल्हासामा आआफ्नो काममा व्यस्त छन्। रत्नकुमार चीन सरकारद्वारा पहिलोपटक सन् २०१९ मा वितरित ‘ग्रिन कार्ड’ पाउने पहिलो नेपाली बनेका छन्।

६७ वर्षीय रत्नकुमार ल्हासा छिर्दा ३० वर्षको हाराहारीमा थिए। तिब्बतमा यस अवधिमा उनले सोचेभन्दा सयौँ गुणा विकास भएको छ। ल्हासा र तिब्बतको उन्नतिका साक्षी नेपाली हुन् उनी। उनको पहिलो ल्हासा यात्रा तथा ल्हासा बसाइका ती दिन एकादेशको कथाजस्तै लाग्छ।

ल्हासा आउँदाको सम्झना

रत्नकुमार पहिलोपल्ट तीन दिन लगाएर ल्हासा आएका थिए। सडक, बिजुली, पानी नभएको गाउँका रूपमा सम्झिन्छन् उनी ल्हासालाई। ल्हासा आउन अहिलेजस्तो सजिलो थिएन। कोदारीबाट सामान ओसारपसार गर्ने ट्रक मुस्किलले पाइन्थ्यो। फाट्टफुट्ट टोयोटा ल्यान्डक्रुजर चल्ने गर्दथ्यो। अधिकांश मानिस ट्रकमै ओहोरदोहोर गर्थे।

उनी सम्झन्छन्, ‘कोदारीबाट सामान ओसारपसार गर्ने ट्रक दिनमा एक/दुई वटा मात्र चल्थे। होटलका ल्यान्डक्रुजर त थिए तर हामीजस्ता सामान्य मानिसका लागि ट्रक नै यातायातको साधन थियो। सामानसँगै मानिस पनि ट्रकमै ओहोरदोहोर गर्दथे। म पनि त्यसरी नै आएँ।’ पुसको जाडोमा ट्रकमा बसेर ल्हासा पुगेको उनले सुनाए।

काठमाडौँबाट बाह्रबिसेसम्मको यात्रा त सहज नै भयो। तर बाह्रबिसे कट्नेबित्तिकै पहिरो गएका कारण अगाडि बढ्ने अवस्था भएनछ। अनि उनी हिँडेरै खासासम्म पुगे। त्यहाँ दुई दिन आराम गरे। ट्रकबाट मेलम हुँदै सिगाचे (झिखाछे) र सिगाचेबाट ल्हासा पुगेका उनी अहिले पनि ती दिनका स्मृति फररर सुनाउँछन्।

कठ्याङ्ग्रिने जाडोमा ट्रकमा बसेर हिमालपारिको यात्रा कठिन थियो। सडकमा ट्याक्सी, रिक्सा केही पनि थिएनन्। ल्हासामा पक्की सडक थिएन। कसरी गुड्नु गाडी? बिजुली नहुँदा सहर अन्धकार थियो।

‘तीन दिनमा लुगलुग काम्दै अन्धकार ल्हासा आइपुगेको थिएँ। न बत्ती थियो न पानी। खाना पकाउन दाउरा पाइन्थ्यो। एकदम दुःख थियो’, उनी दुःखका ती दिन सम्झन्छन्। उनी एक्ला थिएनन्। काठमाडौँबाट सँगै आएका एक जना साथी थिए। ती साथी चार वर्षपछि नेपाल फर्केको उनी सुनाउँछन्।

वि.स. २०१२ भदौमा जन्मिएका उनको पुर्ख्यौली घर काठमाडौँको त्यौड हो। परिवार पछि गोंगबुँमा सर्‍यो। पहिला मणिहर्ष ज्योतिको संस्थामा काम गर्थे। त्यहीँबाट उनलाई ल्हासा खटाइएको थियो। उनलाई जाने रहर थिएन। तर संस्थाले पसलको रेखदेख गर्ने गरी जिम्मा दिएपछि करै लाग्यो। मणिहर्ष ज्योतिका पिता भाजुरत्नले १३५ वर्षअघि ल्हासाको भाकोर सडकमा स्थापना गरेको नेपाली सामग्री तथा मूर्तिकलाको पसलमा उनलाई खटाइएको थियो।

होन्डाले बनाएको हिरो

रत्नकुमारसँग ल्हासादेखि टाढाटाढासम्म २५० सीसीको मोटरसाइकल कुदाएको सम्झना ताजै छ। पेट्रोल सुलभ नभएको अवस्थामा पनि कम्पनीले नेपालबाटै ट्रकमा हालेर होन्डा सिएम २५० सीसीको मोटरसाइकल पठाएको थियो। मोटरसाइकल उनीभन्दा पहिले नै लगिएको रहेछ। ल्हासामा होन्डा कुदाउँदाको पल अहिले पुराना दिन ताजा गर्ने क्षण बनेको छ उनका लागि।

मोटरसाइकलमा सरर कुद्दाको सिरिरी बतासको कानेखुसी भनीसाध्य छैन। उनीसँग रहेको होन्डा देखेर धेरै तिब्बती उनीसँग नजिकिए। साथी पनि बनाए। होन्डा एउटा आकर्षण थियो नै साथै बिरानो भूमिमा साथी बनाउन पनि त्यसले धेरैथोरै मद्दत पुगेको थियो।

‘आममानिसका लागि यातायातको साधन थिएन। अरू नेपालीको समेत मोटरसाइकल थिएन। मलाई भने कम्पनीले २५० सीसीको मोटरसाइकल दिएको थियो’, उनी एक्सिलेटर बढाएझैँ मुस्कान छर्दै बोल्छन्, ‘होन्डा कुदाउँदा सबैले हेर्थे अनि झुम्मिन्थे पनि। तिब्बती युवा बोल्न आउँथे। मोटरसाइकल छुन्थे। त्यति बेला त म हिरो थिएँ।’ यसो भन्दै गर्दा उनको अनुहारका धर्सा पनि हराए।

रत्नकुमारले त्यो होन्डा दस वर्षसम्म चलाएका थिए। अफसोस, उनीसँग होन्डाको तस्बिर छैन। साथै त्यस बेलाका अरू तस्बिर पनि छैनन्। तस्बिर हुँदो हो त त्यो सम्झनामा हामी पनि ल्हासाको बाटोमा हुँइकिन अझै सहज हुने थियो।

‘यहाँ सर्भिसिङ अनि बनाउने ठाउँ हुने कुरै भएन। साधारण मर्मत र प्लग सफा गरी दस वर्षसम्म चलाएँ’, आफ्नो सवारीसाधन सम्झँदै उनले भने, ‘इन्जिन बनाउन पाएको भए अझै चल्थ्यो कि।’

भाकोर सडक र स्यामु कापु

भाकोर सडक आधुनिक र प्राचीनकाल एकैपटक एउटै ठाउँमा अनुभव गर्न सकिने स्थल बनेको छ। उक्त सडकको निर्माण जोखाङ मन्दिरको स्थापनाकै बेला भएको मानिन्छ। बौद्ध धर्मावलम्बीले कोरा लगाउनुलाई भाकोर भन्छन्। त्यसैले जोखाङ मन्दिरलाई कोरा लगाई परिक्रमा गर्न भाकोर बनाइएको बुझिन्छ। चारै दिशाबाट भाकोर सडक प्रवेश गर्न सकिन्छ। यसलाई सडक परिक्रमा मार्ग पनि भन्न सकिन्छ। यो सडकले पुरानो ल्हासा र नयाँ सपिङ स्ट्रिटको पहिचान बनाएको छ।

यहाँ कुनै बेला नेपालीको बसोबास क्षेत्र थियो। दसैँतिहारलगायत विभिन्न जात्रापर्व मनाइन्थ्यो। भाकोरमा उहिलेउहिले खट जात्रासमेत गरिन्थ्यो। तुलाधर भन्छन्, ‘पहिला त भाकोरभरि नेवारको बस्ती थियो। नेवारहरूको पसललाई कोठी भनिन्थ्यो। मेरो बुवाको पालासम्म थियो। बुवाको पनि पसल थियो।’ बजार विस्तारसँगै नेवारहरू पनि त्यहाँबाट पलायन हुन थाले।

बाह्र पन्ध्र वर्षअघिसम्म पनि नेपाली सरसामान पाइने पसल देखिन्थे। सन् २०११ मा ल्हासासहित विभिन्न क्षेत्रको भ्रमणका क्रममा जोखाङ मन्दिर र भाकोर सडकमा नेपाल र नेपाली झल्किने केही पसल थिए। पछिल्लोपटकको भाकोर भ्रमणमा त्यही स्यामु कापु एउटा मात्र नेपालीको पहिचान बोकेर बसेको छ।

आफ्नै पसलमा लेखकसँग रत्नकुमार तुलाधर (बायाँ)।

‘ऐतिहासिक भाकोरमा अब नेपाली पहिचान बोकेको यही स्यामु कापुमात्र बाँकी छ,’ तुलाधरले भने, ‘जे सामान चाहिए पनि तुरन्तै र भनेकै ठाउँमा पाउने अवस्था छ। यो विशेषतः नेपाली मूर्तिको पसल हो। नेपाली या नेपालीजस्तै मूर्ति पनि जताततै पाइन्छ।’

सन् १९२० को दशकमा तिब्बत क्षेत्रमा व्यापारिक अवसर खोज्दै स्यामु कापुको स्थापना गरिएको थियो। त्यस बेला दैनिक उपभोग्य वस्तुसहित औषधि, जडीबुटी, ऊनीलगायत विभिन्न कपडा तथा मूर्ति र विविध वस्तुको व्यापार गर्न यो पसल खुलेको हो।

स्यामु कापु पसलले भाकोर पुग्ने जोकोही पर्यटकलाई एकपटक आकर्षित गर्छ नै त्यसबाहेक पसलभित्र छिरेपछि त्यहाँको एउटा तस्बिरले सबैको ध्यान आकृष्ट गर्दछ। त्यो हो मणिहर्ष ज्योतिले बेइजिङमा अध्यक्ष माओ च तुङसँग भेट गरेको तस्बिर। त्यहाँ  महत्त्वपूर्ण सरकारी कागजपत्र पनि सजाएर राखिएको छ।

स्यामु कापुमा बसेरै रत्नकुमारको धेरै मानिससँग चिनजान भयो। हितैषी पनि कमाए। गुँदपाक, लाखमरी, चिउरा खुवाएर साथी बनाए। तिब्बती भाषामा पनि पोख्त हुँदै गए।
‘सबै सहयोगी पाएँ। बिरामी पर्दा र हरेक अप्ठ्यारोमा सहयोग। सधैँ नै सहयोग गरे’, उनी भन्छन्, ‘नेपालबाट मानिस आउँदा सामान मगाउँथेँ र गुँदपाक, लाखमरी, चिउरा ल्याइदिन्थे। तिब्बती साथीहरू मख्ख परेर खान्थे। यसरी धेरै साथी बनाएँ। भाषा पनि बिस्तारै सिकेँ।’

स्यामु कापुमा बसेर हिजोको तिब्बत र आजको विकास सुनाएका रत्नकुमारको पसल आफ्नै घरको तल छ। दसैँतिहारलगायतका चाडबाड मनाउन उनी महावाणिज्य दूतावास जान्छन्। ‘पसलमा बस्यो, चाडबाड आउँदा नेपालको न्यास्रो मेट्न वाणिज्य दूतावास गयो, यसरी दिन बितिरहेका छन्,’ उनले सुनाए।

उनलाई ल्हासा नै आफ्नो सबथोक भएको छ। अहिले नेपाल आवागमन सजिलो भएको छ। ‘सिगाचेसम्म रेलबाटै जान सकिन्छ। चाँडै काठमाडौँसम्मै रेल पुगोस् भन्ने छ। यसो भयो भने ओहोरदोहोर गर्न कठिन हुन्न।’

‘अहिलेको तिब्बत। ओहो! स्वर्ग भइसकेको छ। आकाश जमिनको फरक। सडक सबै राम्रा, सुविधा, विकास’, एकै सासमा भन्छन्, ‘अहिले जता पनि बत्तीबत्ती, झलमल, यातायातको सुविधा, ठूला भवनहरू। चीनले चमत्कार गरेको छ।’

तिब्बत ३०/४० वर्षमा दुःखको दिनबाट सुखको दिनमा परिवर्तन भएको छ। यो चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रीय चीन सरकार, यहाँको सरकारको योजना र लक्ष्य हो, जुन तीव्र गतिमा साकार भएको छ। उनी भन्छन्, ‘चिनियाँले लक्ष्य, योजना पूरा गरेरै छाड्छन्। सरकार होस् या जनता, अटुट रूपमा काम गर्छन्। अनि द्रुत गतिमै काम पनि सम्पन्न गरिहाल्छ।’

अमिलो खाएको अनुहारजस्तो गरी प्रश्न गर्छन्, तुलाधर, ‘खोइ हाम्रो नेपाल सरकार? दसबीस वर्षमै पनि ठूलो प्रगति गर्न सकिन्छ, प्रमाण हाम्रै अघि छ।’ वर्तमान तिब्बतको विकास तपाईँले देख्नुसुन्नुभएको होला। तर पुरानो तिब्बतमा अन्धकारमा बसेका नागरिकको जीवनको अवस्थाबारे कल्पना गर्न निकै गाह्रो छ। ९५ प्रतिशत जनता भूदास थिए। पुराना तस्बिरमा तिब्बती भूदासको अवस्थिति कस्तो थियो, देख्न सकिन्छ।

चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ महाधिवेशनदेखि तिब्बतले पूर्ण गरिबीबाट मुक्त भएर सम्पन्न समाजको निर्माण गर्दै समृद्धिको दृश्य देखाएको छ। सन् १९५१ मा तिब्बतको कुल जीडीपी १२ करोड ९० लाख युआन र प्रतिव्यक्ति औसत जीडीपी ११४ युआन थियो। सन् २०२२ सम्म आउँदा कुल जीडीपी २ खर्ब १३ अर्ब २६ करोड युआन र प्रतिव्यक्ति औसत जीडीपी ५८,४३८ युआन पुगेको छ।

तिब्बती सर्वसाधारणको सरदर उमेर ३५.५ बाट ७२.१९ वर्षसम्म बढेको छ। ९५ प्रतिशत निरक्षरताबाट हाल आधारभूत रूपमा सबै साक्षर छन्। १५ वर्षे निःशुल्क शिक्षा प्रणालीको स्थापना गरिएको छ। सन् २०२१ सम्म तिब्बती पठारभूमिको ग्रामीण क्षेत्रको राजमार्गको कुल लम्बाइ ९० हजार किलोमिटर पुगेको छ। साथै सयभन्दा बढी विमानस्थल छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै आयोजित तिब्बत स्वशासित क्षेत्रको विकाससम्बन्धी एक मञ्चलाई बधाईपत्र पठाउँदै नयाँ युगमा उच्च गुणस्तरीय विकासलाई गति दिन र यस क्षेत्रका जनताले राम्रो जीवनयापन गर्न सकून् भन्ने सुनिश्चित गर्न आग्रह गरेका छन्।

‘जनताको खुसी आधारभूत मानव अधिकार हो। विकासले जनतालाई राम्रो जीवन प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ,’ राष्ट्रपति सीद्वारा सन् २०२३ तिब्बतको विकाससम्बन्धी मञ्चको उद्घाटन समारोहलाई बधाई दिँदै लेखिएको पत्रमा उल्लेख छ।

‘शिक्षा, स्वास्थ्य, संस्कृति, आवास, रोजगारी र सामाजिक सुरक्षामा ठूलो लगानी गर्दै तिब्बतले तीव्र आर्थिक वृद्धि कायम गरेको छ। यसले चीनको चौतर्फी रूपमा सम्पन्न समाजवादी समाज निर्माण गर्ने राष्ट्रव्यापी प्रयासलाई पछ्याएको छ’, बेइजिङमा आयोजित उक्त मञ्चमा सहभागी अधिकारी तथा विज्ञहरूले यसरी आफ्नो मन्तव्य राखेका छन्।

यस वर्ष तिब्बतको शान्तिपूर्ण मुक्तिको ७२औँ वार्षिकोत्सव मनाइँदै छ। सात दशकभन्दा लामो अवधिमा तिब्बतमा फड्को मार्ने परिवर्तन भएको छ। हाल चिनियाँ आधुनिकीकरणको निर्माणसँगै तिब्बत नयाँ युगको विकासमा उभिएको छ।

प्रकाशित: १३ जेठ २०८० ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =