जंगली हात्तीले दु:ख दिएपछि कञ्‍चनपुरमा जोडियो सडकबत्ती

हिमाल प्रेस १२ जेठ २०८० १२:०४
8
SHARES
जंगली हात्तीले दु:ख दिएपछि कञ्‍चनपुरमा जोडियो सडकबत्ती फाइल तस्बिर।

कञ्‍चनपुर– जंगली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाले स्वचालित (सेन्सरयुक्त) सडकबत्ती जडान सुरु गरेको छ। भारतीय दुधुवा नेशनल पार्क हुँदै नगरपालिका क्षेत्रमा पुग्ने जंगली हात्तीले बर्सेनि मानवीय र भौतिक क्षति गर्न थालेपछि त्यस्ता क्षेत्रमा सडकबत्ती जडान गर्न थालिएको हो।

‘जंगली हात्ती उज्यालो भएको क्षेत्रमा जान डराउने गर्दछ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘उज्यालो भएमा स्थानीय बासिन्दाले टाढैबाट हात्ती आएको देख्न सक्ने भएकाले सतर्कता अपनाउन सक्छन्।’

जीउधनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले बत्ती जडानको काम भइरहेको उनले बताए। नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को हिउँदे अधिवेशनमा सडकबत्ती जडान शीर्षकका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

विनियोजित बजेटबाट सार्वजनिक खरिद ऐनअनुसार १ सय ७५ वटा सडकबत्ती खरिद गरी जडान गरिएको बताइएको छ।

नगरपालिकाको ऊर्जा शाखाका प्रमुख सुरेन्द्र भट्टका अनुसार पूर्व-पश्चिम राजमार्गमा ६०, वडा १ मा १०, वडा २ मा सात, वडा ३ मा सात, वडा ४ मा नौ, वडा ६ मा आठ, वडा ७ मा १०, वडा ८ मा १०, वडा ९ मा आठ, वडा १० मा आठ, वडा ११ मा नौ र वडा १२ मा १० थान सडकबत्ती जडान गरिएको छ।

आवश्यक थप स्थानमा बत्ती जडान गर्न १० वटा सडकबत्तीको व्यवस्था गरिएको छ। जंगली हात्तीले क्षति पुर्‍याउने क्षेत्र र पूर्व-पश्चिम राजमार्गलाई लक्ष्य गरी सडकबत्ती जडानको काम भइरहेको नगरपालिका उपमेयर कल्पना पन्तले बताइन्।

‘राजमार्ग क्षेत्रका नगरपालिकाका मुख्य बजार क्षेत्रमा अवान्छित गतिविधि रोक्न पनि सडकबत्तीले सघाउ पुर्‍याउँछ,’ उनले भनिन्, ‘रातको समय सर्वसाधारणलाई आवत-जावत गर्न सघाउ पुग्छ, उज्यालो हुने ठाउँमा जंगली हात्ती प्रवेश नगर्ने भएकाले जनधनको क्षति हुनबाट जोगाउन सकिने भएकाले सडकबत्ती जडान गरेका हौं।’

वडा कार्यालयमार्फत हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा यसअघि नै सडकबत्ती जडान गरिएको थियो। हात्तीलगायत जंगली जनावरको आतंक रोक्न र सर्वसाधारणलाई सचेत पार्न नगरपालिकाले ३ ठाउँमा अत्याधुनिक साइरन जडान गरेको छ। प्रत्येक वर्ष नगरपालिकाले सडकबत्ती जडान गर्दै आए पनि आवश्यक मर्मत नगर्दा अलपत्र पर्ने गरेको स्थानीयवासीको गुनासो थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =