बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

हिमाल प्रेस १२ जेठ २०८० १०:३४
18
SHARES
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो फाइल तस्बिर।

काठमाडौँ– काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो।

नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटेको हो। मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ।

काठमाडौँ उपत्यकाभित्र ५ दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए।

‘नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ,’ उनले भने। यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए। नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो।

यसलगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो। लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ।

गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०-१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०-१० ले भाउ घटाएको थियो।

घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको १ सय ५५ कायम भएको छ। अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो। बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रुपैयाँ तिर्दै आएका छन्।

प्रकाशित: १२ जेठ २०८० १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =