बुर्तिबाङ बजारको फोहोर व्यवस्थापनमा समस्या

हिमाल प्रेस १२ जेठ २०८० ७:५८
4
SHARES
बुर्तिबाङ बजारको फोहोर व्यवस्थापनमा समस्या फाइल तस्बिर। रासस

बाग्लुङ– पश्चिम बाग्लुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्र गतिमा बजार विस्तार भइरहेको छ। बजारमा जनघनत्व बढ्दो छ। गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको संख्या दैनिक बढ्दै गएको छ। वर्षौंअघि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन। बजारको फोहोर व्यवस्थित रूपमा व्यवस्थापन हुनसकेको छैन।

ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङ बजारको फोहोर अहिले वडा ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ। ढोरपाटनले छ वर्षदेखि बाघखोरमा फोहोर व्यवस्थापन गर्दै आएको छ। त्यसअघि भूजीखोलामा फोहोर व्यवस्थापन गर्ने गरिएको थियो।

अहिले बाघखोरमा अव्यवस्थित रूपमा फ्याँकिएको फोहोर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्ने गरेको छ।

फोहोरले तमानखोला र भूजीखोला दूषित बनेका छन्। यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन्। फोहोरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ। अहिले फोहोर व्यवस्थापन गर्दै गरेको ठाउँ नगरपालिकाको वडा ३ र ४ को विभिन्न गाउँ तथा तमानखोला पुग्ने सडक छेउमै पर्छ। सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ।

बुर्तिबाङ-बोंगादोभान सडकमा दैनिक सयौं यात्रु ओहोरदोहोर गर्छन्। पैदलयात्रुलाई फोहोरको दुर्गन्धले समस्या भएको छ। बुर्तिबाङबजारको फोहोर नगरपालिकाले दैनिक यही ल्याएर फ्याँक्छ। कुहिने तथा नकुहिने सबै फोहोर एकै ठाउँ फाल्ने गरिएको छ। साँघुरो ठाउँ हुँदा फोहोर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धन कायतले बताए।

फोहोर व्यवस्थापनका लागि जग्गा खोज्ने अवस्था रहेको उनको भनाइ छ।

‘बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहोर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौं, हालसम्म पाएका छैनौं,’ उनले भने। सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका वीर सिर्पालीले बताए।

वरपरको क्षेत्र दुगन्धित बनिरहेको उनको भनाइ छ। ‘फोहोर तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानी पर्‍यो भने सबै फोहोर खोलामा जान्छ, हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ,’ उनले भने।

प्रकाशित: १२ जेठ २०८० ७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =