गणतन्त्र दिवसको अवसरमा राससकाे फोटो प्रदर्शनी

हिमाल प्रेस ११ जेठ २०८० १८:२५
4
SHARES
गणतन्त्र दिवसको अवसरमा राससकाे फोटो प्रदर्शनी

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय समाचार समिति (रासस)को कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा उनले गणतन्त्रको विकल्प गणतन्त्र नै रहेको बताएकी हुन्।

राससले गणतन्त्र दिवसको अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’सम्बन्धी तस्बिर प्रदर्शनी गरेको छ। सोही प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री शर्माले गणतन्त्रमा केही कमीकमजोरी भए पनि पछाडि फर्किन नसकिने बताइन्। ‘अब पछाडि फर्किने कुरा हुन सक्दैन, गणतन्त्र आएपछि भ्रष्टाचारलगायत विभिन्न विकृति आएको छ, गणतन्त्रभन्दा हिजोकै ठीक भन्ने विचार पनि आउनसक्छ,’ उनले भनिन्, ‘तर गणतन्त्रको विकल्प गणतन्त्र भित्रै सम्भव छ।’

 

वर्तमान शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुख्य उपलब्धिलाई संस्थागत गर्नुको विकल्प नरहेको मन्त्री शर्माको भनाइ थियो। गणतन्त्रका लागि २००७ सालयता भएका बलिदान भुल्नु नहुने उनले बताइन्।

गणतन्त्र सजिलै प्राप्त नभएको भन्दै उनले गणतन्त्र प्राप्तिअघि अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता नभएको अवस्था रहेको बताइन्। त्यस्तै राससका अध्यक्ष धन्र्मेन्द्र झाले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म सहकार्य, समन्वय र सहअस्थित्व भएकाले गणतन्त्र स्थापनापछि नेपाली समाजमा सहमति र सामाजिक सद्भाव बलियो भएको बताए।

उनले प्रदर्शनीमा राखिएको तस्बिरमार्फत देशको सामाजिक र सांस्कृति परिवेश उजागर गर्न खोजेको बताए। राससका महाप्रबन्धक सिद्धराज राईले राससले आफ्नो सेवालाई राष्ट्रिय भाषासहित चौबीसै घण्टा सेवा सञ्चालन गर्ने योजना रहेको बताए।

प्रदर्शनी जेठ १७ गतेसम्म चल्नेछ। प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट छन्। रासस

प्रकाशित: ११ जेठ २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =