रिलायन्स स्कुलमा मतदानबाट विद्यार्थीको नयाँ नेतृत्व चयन

हिमाल प्रेस ११ जेठ २०८० १७:२७
224
SHARES
रिलायन्स स्कुलमा मतदानबाट विद्यार्थीको नयाँ नेतृत्व चयन

काठमाडौँ–  गोप्य मतदान प्रक्रियाद्वारा मनिटर छनोट गर्न पाउँदा बूढानीलकण्ठ-१० स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीका छात्रछात्रा प्रफुल्ल भएका छन्। बालिगले मात्रै मतदान गरेका देखेका यी विद्यार्थीले निर्वाचन कमिटी गठनदेखि शपथ ग्रहणसम्ममा प्रत्यक्ष सहभागी चुनावी ज्ञान हासिल गरेका छन्।

त्यस क्रममा निर्वाचन कमिटी गठन, उम्मेदवारी दर्ता, प्रचारप्रसार, मौन अवधि, मतदान, मतगणना, नतिजा घोषणा, शपथ ग्रहणलगायत चुनावी गतिविधिसँग सम्बन्धित प्रक्रिया पूरा गरिएको थियो।

क्याप्टेन, भाइस-क्याप्टेन तथा हाउस क्याप्टेन, हाउस भाइस-क्याप्टेनसहित कुल ३० पदका लागि सम्पन्न निर्वाचनमा कक्षा ४ देखि १० सम्मका ७५६ विद्यार्थी सहभागी थिए। कुल खसेको मतमध्ये ६४ मत बदर भएको थियो। मतदाताका रूपमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष, संस्थाका कार्यकारी अध्यक्ष, भगिनी संस्थाका प्रधानाचार्य, कलेजका सहायक प्रधानाध्यापक, कोअर्डिनेटर लगायत  सहभागी थिए।

शपथ ग्रहण कार्यक्रममा पनि जनप्रतिनिधि अर्थात् बूढानीलकण्ठ नगरपालिका-१० का वडाध्यक्ष नवराज भट्टराईको उपस्थितिले कार्यक्रम विशेष बनेको थियो। वडाध्यक्ष भट्टराईले यस्ता निर्वाचनले विद्यार्थीमा नेतृत्व क्षमता वृद्धि र जिम्मेवारीबोध गराउने बताए। उनले निर्वाचित विद्यार्थीलाई सामूहिक भावबाट विद्यालयको नाम राख्ने गरी काम गर्न शुभकामना व्यक्त गरेका थिए।

शपथ ग्रहण समारोहमा रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रवीन्द्रजङ्ग थापा, प्रधानाध्यापक खेमलाल भुसाल, पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछाने, कलेज सहप्राचार्य, नन्दुप्रसाद कुसवाह, ११/१२ का कोअर्डिनेटर श्यामकुमार कामद, सिनियर स्टुडेन्ट रिप्रिजेन्टेटिभ अफिसर विश्वनाथ घिमिरे, निर्वाचन अधिकृत श्रीधरप्रसाद पौडेल, विद्यालयका शिक्षक/कर्मचारीलगायत सहभागी थिए। सामाजिक विषयका शिक्षकहरूले प्रजातान्त्रिक अभ्यासमा हुने निर्वाचन प्रक्रिया, निर्वाचनको कार्यतालिका, मताधिकारको सदुपयोग, बदर मतबारे जानकारी, उम्मेदवारबिचको स्वच्छ प्रतिस्पर्धाबारे विद्यार्थीलाई प्रयोगात्मक रूपमै जानकारी दिइसकेको हुँदा सम्बन्धित पाठ सिकाउन सजिलो हुने बताएका थिए।

विद्यार्थी र अभिभावकलाई मताधिकारको विशेष जानकारी दिने तथा विभिन्न तहको निर्वाचनलाई मर्यादित बनाउन सहयोग पुर्‍याउने भएकाले यस प्रकारका कार्यक्रम शैक्षिक क्यालेन्डरमै समावेश गरिएको विद्यालयले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार वैशाख २ गते उम्मेदवारी दर्ता, ३ र ४ गते दिउँसो १ बजेसम्म प्रचारप्रसार र ४ गते दिउँसो १ बजेपछि मौन अवधि, ५ गते निर्वाचन, ७ गते मतपरिणाम सार्वजनिक र १० गते बिहानको विद्यालय प्रार्थना समयमा प्रधानाध्यापकद्वारा निर्वाचित विद्यार्थीलाई शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रकाशित: ११ जेठ २०८० १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 17 =