पाकिस्तानमा इमरान खानको पार्टीका ३ नेता नजरबन्दमा

हिमाल प्रेस १० जेठ २०८० २०:०५
4
SHARES
पाकिस्तानमा इमरान खानको पार्टीका ३ नेता नजरबन्दमा

इस्लामावाद- पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) का प्रमुख नेता शाह महमुद कुरेशी, जमशेद चीमा र उनकी पत्नी मुसरत चीमालाई बुधबार नजरबन्दमा राखिएको छ।

पाकिस्तानी समाचार च्यानल एआरवाई न्यूजका अनुसार रावलपिण्डीका आयुक्तले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका नेताहरूलाई नजरबन्दमा राख्न आदेश जारी गरेपछि नजरबन्दमा राखिएको हो।

उनीहरूलाई मेन्टेनेन्स अफ पब्लिक अर्डर (एमपीओ)को दफा ३ अन्तर्गत नजरबन्दमा राखिएको छ। उनीहरूलाई १५ दिनका लागि नजरबन्दमा राखिएको बताइएको छ।
पीटीआईका उपाध्यक्ष समेत रहेका कुरेशीलाई रावलपिण्डीको अडियाला जेलबाट रिहा भएको केही मिनेटमै पुनः पक्राउ गरिएको पाकिस्तानस्थित जियो न्यूजले उल्लेख गरेको छ।

पार्टी नेता मुसरत जमशेद चीमालाई रिहाईपछि पुनः तुरून्त गिरफ्तार गरिएको थियो। पक्राउ परेपछि कुरेशीले जेलबाहिर बोल्दै आफू अझै पनि पीटीआईको हिस्सा रहेको र रहिरहने बताए।

त्यसपछि पूर्वमन्त्रीलाई प्रहरीले अज्ञात स्थानमा लगेको जिओ न्यूजले उल्लेख गरेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष शिरीन मजारीले पीटीआई छोड्ने र राजनीति छोड्ने घोषणा गरेको केही घन्टापछि उनले पार्टीमा रहने बताएका थिए।

उनले आन्दोलन नगर्ने र मजदुरलाई भड्काउने काम नगर्ने प्रतिबद्धता गरेपछि इस्लामाबाद उच्च अदालतले मंगलबार कुरेशीलाई रिहा गर्न आदेश दिएको थियो।

पूर्वप्रधानमन्त्री इमरान खानलाई गत मे ९ मा अल–कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरेपछि पीटीआईका कार्यकर्ताले हिंसात्मक प्रदर्शन गरेका थिए। त्यतिबेला पक्राउ पर्ने शीर्ष नेताहरूमा कुरेशी पनि थिए।

पञ्जाब र खैबर पख्तुनख्वामा भएको दंगा र आगजनीको घटनामा पूर्वविदेशमन्त्रीलाई प्रहरीले पक्राउ गरेको थियो। रासस/एएफपी

प्रकाशित: १० जेठ २०८० २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =