राप्रपा नेपालले विघटन गर्‍यो प्रदेश तहका सबै एकाइ

हिमाल प्रेस १० जेठ २०८० १६:४२
126
SHARES
राप्रपा नेपालले विघटन गर्‍यो प्रदेश तहका सबै एकाइ

काठमाडौँ- राप्रपा नेपालले पार्टीअन्तर्गत प्रदेश तहका सबै एकाइ विघटन गर्ने निर्णय गरेको छ। राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकले प्रदेशका एकाइहरू विघटन गर्ने निर्णय गरेको हो।

बैठक जेठ ९ र १० गते काठमाडौँमा भएको थियो। राप्रपा नेपालले प्रदेश तह आर्थिक रूपमा बोझिलो बन्दै गएको र भ्रष्टाचारको अखडा भएको भन्दै प्रदेश तहको सभा र सरकारसम्बन्धी वर्तमान व्यवस्था खारेज गर्न मागसमेत गरेको छ।

यी हुन् राप्रपा नेपालले गरेका निर्णयहरू

१) नेपालको संविधान २०७२ जारी गर्दा भएका कमी कमजोरी सुधार गर्न, संविधानमा सबै पक्षको अपनत्व कायम गर्न तथा विगतको अनुभव र अभ्यासलाई दृष्टिगत गर्दै विद्यमान राज्य प्रणाली, शासकीय स्वरुप, व्यवस्था र संविधानमा परिमार्जन, पुनर्विचार वा आवश्यक भए संविधानको पुनर्लेखन नै गर्नेबारे बहस गर्न र आवश्यक सहमति कायम गर्न राप्रपा नेपाल सम्बद्ध सबै पक्षको ध्यान आकर्षित गर्दछ।

२) नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्ड देशको प्रतिष्ठालाई गम्भीर आघात पुर्‍याउने राज्य विरुद्धको जघन्य अपराध हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख राजनीतिक दल, नेता र राज्यसंयन्त्र नै संगठित भ्रष्टाचार र अपराधमा संलग्न रहनु दुर्भाग्यपूर्ण छ। यस्तो घृणित अपराधमा संलग्न दोषीहरूले कुनै हालतमा उन्मुक्ति पाउनु हुँदैन। त्यसर्थ, यस सम्बन्धमा इमान्दार बन्न सरकार र न्यायपालिकासँग राप्रपा नेपाल आग्रह गर्दछ। विगतमा राजनीतिक दबाब, प्रभाव र सेटिङका आधारमा भ्रष्टाचार काण्ड दबाउने गरिएको हुँदा यो काण्डको अन्तिम टुंगो नलागेसम्म निरन्तर खबरदारी गर्न सबै दल, नागरिक समाज, आमसञ्चारमाध्यम र सचेत नागरिकहरूमा राप्रपा नेपाल अनुरोध गर्दछ।

३) विगत केही वर्ष यता तीव्र गतिमा भइरहेको धर्मपरिवर्तनप्रति राप्रपा नेपाल गम्भीर चिन्ता व्यक्त गर्दछ। राजनीतिक स्वार्थ परिपूर्तिका निम्ति अल्पसंख्यकलाई रिझाउने र बहुसख्यकलाई कमजोर बनाउने काङ्ग्रेस र कम्युनिष्टको नीति दीर्घकालीन रुपमा प्रत्युत्पादक हुनेछ। विगत केही वर्ष यता देशी विदेशी शक्तिहरूको दबाब र प्रभाव एवं उग्रवामपंथी शक्तिहरुको सनातन धर्मप्रतिको विद्वेषका कारण सनातन धर्म अर्थात् हिन्दू, बौद्ध र किरात धर्मलाई होच्याउने, दमन गर्ने, हेप्ने र कमजोर पार्ने गरी भैरहेको कार्यको बैठक भत्सर्ना गर्दछ। हिन्दू र बौद्ध धर्मावलम्वीहरुको धार्मिक सांस्कृतिक स्थलहरूमा राज्यको कब्जा निरन्तर कायम रहेकोप्रति राप्रपा नेपाल आपत्ति प्रकट गर्दछ।

४) धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति र परम्परा माथि निर्वाध आक्रमण भइरहँदा समेत राज्य निरीह र मौन रहेको तितो वास्तविकतालाई दृष्टिगत गर्दै राप्रपा नेपालले सनातन धर्म संस्कृतको रक्षा एवं हिन्दूराष्ट्र पुनर्स्थापनको विषयलाई सशक्तरूपमा अघि बढाउने छ। हिन्दूराष्ट्रको पुनर्स्थापन र हिन्दूत्वको पुनर्जागरण राप्रपा नेपालको प्रमुख एजेण्डा र कार्यनीति हुनेछ। यस क्रममा निकट भविष्यमा देशव्यापी जनजागरण अभियान, यात्रा र संघर्षका कार्यक्रम सञ्चालन गरिनेछ।

५) संघीय संरचना अन्तर्गतको प्रदेश तह आर्थिक रूपमा बोझिलो तथा अनेकौँ राजनीतिक विकृति र विसंगतिको कार्यथलो सावित भएको तथा राजनीतिक अस्थिरता र भ्रष्टाचारको अखडा भएको हुँदा राज्य संरचनाको वर्तमान स्वरुपलाई परिवर्तन गरी केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न सुदृढ स्थानीय स्वायत्त सरकार गरी दुई तहको संरचना वा सरकार कायम गरिनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ। प्रदेश तहको सभा र सरकार सम्बन्धी वर्तमान व्यवस्था खारेज गर्न राप्रपा नेपाल माग गर्दछ। प्रदेशतहको संरचना खारेज हुनपर्छ भन्ने पार्टीको दृढ मान्यता भएको कारण राप्रपा नेपालको पार्टी अन्तर्गतका प्रदेशतहको सबै एकाइहरू विघटन गर्ने बैठक निर्णय गर्दछ।

६) निरन्तरको अस्थिरता र अराजकताको श्रोत बन्न पुगेको हाल विद्यमान मिश्रित निर्वाचन प्रणालीको सट्टा संविधानमा संशोधन गरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गरियोस् भन्ने राप्रपा नेपाल माग गर्दछ।

७) मुलुकको सर्वाङ्गिण विकासको लक्ष्य हासिल गर्न, राजनीतिक स्थिरता कायम गर्न तथा प्रजातान्त्रिक व्यवस्था सुदृढ तुल्याउन जनताबाट प्रत्यक्ष निर्वाचित हुने कार्यकारी प्रधानमन्त्री पद्धति अवलम्बन गरिनुपर्छ तथा मन्त्री बन्न सांसद हुन नपर्ने तथा दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था कायम गर्नुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ।

८) आगामी २०८० फागुन ७, ८ र ९ गते काठमाडौँ आयोजना हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गर्दै पार्टीको संगठन विस्तारलाई युद्धस्तरमा कार्यान्वयन गर्ने, देशको सम्पूर्ण ७५३ वटै पालिकाहरुमा पार्टीको एकाइ गठन गर्ने तथा क्रमशः वडा तहमा समेत एकाइ गठन कार्यलाई तीव्रता दिने बैठकले निर्णय गर्दछ।

प्रकाशित: १० जेठ २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =