गृहमन्त्री र आईजीपीबीच छलफल, के भयो कुराकानी?

हिमाल प्रेस १० जेठ २०८० १५:३९
914
SHARES
गृहमन्त्री र आईजीपीबीच छलफल, के भयो कुराकानी?

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरबीच भेट भएको छ। नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको विषयमा नाम जोडिएको भोलिपल्टै आईजीपीलाई गृहमन्त्री श्रेष्ठले छलफलका लागि बोलाएका हुन्।

मन्त्री श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएको बारे कुँवरलाई सोधेका थिए। ‘नाम कसरी जोडियो। यसबारे पहिल्यै किन अध्ययन र अनुसन्धान अघि नबढाएको भनेर मन्त्रीले आईजीलाई सोध्नु भयो,’ गृहस्रोतले भन्यो।

छलफलमा कुँवरलाई अनुसन्धानमा तयार भएका प्रतिवेदनका सक्कल कागजात अभियोग पत्र दायर नहुँदै सार्वजनिक किन गरेको भन्दै श्रेष्ठले प्रश्न उठाएका थिए। स्रोतका अनुसार जवाफमा कुँवरले ‘आफूलाई असफल ठहर्‍याउन लागि पर्ने समूहले षडयन्त्र गरेको हो। म आईजीपी भएपछि नै यो फाइल अघि बढेको हो’ भनेका थिए।

दुई जनाले छुट्टै छलफल गरेपछि आईजीपीसहित प्रहरीका अन्य अधिकारीसँग पनि मन्त्रीले छलफल गरेका छन्। छलफलमा मन्त्री श्रेष्ठले सरुवा बढुवाका लागि प्रहरीका अधिकारीहरू नेता/बिचौलिया भेट्न जाने गरेको सूचना आफूले पाएको भन्दै सचेत गराएका छन्।

‘प्रहरी प्रशासनको कर्मचारी सरुवा बढुवाको लागि कुनै पनि शक्ति केन्द्र धाउने काम बन्द गर्नुस् सिस्टममा बस्नुस्, जनताको कुरा सुन्नुस्,’ गृहमन्त्रीलाई उदृत गर्दै सहयोगी कमल गिरिले भने, ‘जनताबाट आएको उजुरीलाई बेवास्ता गर्ने काम नगर्नुस्। यो वा त्यो नामले कसैलाई दुख दिएको थाहा भएमा गृहप्रशासनले कठोर निर्णय लिन बाध्य हुनेछ।’

गृहमन्त्रीले शरणार्थी प्रकरणमा गरेको अनुसन्धान जसरी नै अन्य विभिन्न फाइल पनि क्रमश अगाडि बढाउन निर्देशन दिएका छन्।

प्रकाशित: १० जेठ २०८० १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =