गण्डकीमा ४१ प्रतिशत महिला घरमुली

हिमाल प्रेस १० जेठ २०८० १२:३४
10
SHARES
गण्डकीमा ४१ प्रतिशत महिला घरमुली

पोखरा– गण्डकी प्रदेशमा महिलाको तुलनामा पुरुषको संख्या कम छ। अघिल्लो जनजगणनाको तुलनामा ०७८ सालको जनगणनामा भने पुरुषको संख्या बढेको हो।

प्रदेशको सार्वजनिक तथ्यांकअनुसार गण्डकीमा प्रति१ सय जना महिलामा पुरुषको संख्या ९०.३७ छ। अघिल्लो जनगणनामा गण्डकीको जनसंख्या २४ लाख ३ हजार ७५७ तथा लैंगिक अनुपात ८३.०८ थियो। यस्तै, कुल जनसंख्यामध्ये अन्य लिंगीको जनसंख्या २ हजार ९२८ देखिएको छ।

जनगणना सन्दर्भ दिन ०७८ मंसिर ९ मा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ थियो। कुल जनसंख्यामा गण्डकी प्रदेशले ८.४६ प्रतिशत जनसंख्या ओगटेको छ। सार्वजनिक तथ्यांकअनुसार गण्डकीको जनसंख्या २४ लाख ६६ हजार ४२७ रहेको छ। तीमध्ये पुरुषको संख्या ११ लाख ७० हजार ८३३ (४७.४७ प्रतिशत) र महिलाको संख्या १२ लाख ९५ हजार ५९४ (५२.५३ प्रतिशत) रहेको छ। जबकि सबैभन्दा बढी बागमती प्रदेशले २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको जनसंख्या ५.७९ प्रतिशत छ।

गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या भएको जिल्ला कास्की हो भने मनाङमा सबैभन्दा कम जनसंख्या छन्। कास्कीमा ६ लाख ५१ जना छन् भने मनाङमा ५ हजार ६५८ जना छन्। कास्कीपछि धेरै बसोबास भएको जिल्ला नवलपुर र तनहुँ हुन्। प्रदेशमा सबैभन्दा बढी वार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला कास्की हो। कास्कीमा १.९० प्रतिशत र सबैभन्दा कम मनाङको माइनस १.२९ वृद्धिदर छ।

सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला पनि कास्की नै हो। यहाँ २९७ जना प्रतिवर्ग किमी र सबैभन्दा कम मनाङमा ३ जना प्रतिवर्गकिमी छ। गण्डकीमा कुल जनसंख्याको ६२.८ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका मानिस छन्। हाल १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरका जनसंख्या क्रमशः २३.९ र १३.३ प्रतिशत छ।

नतिजाअनुसार गण्डकीमा ७ लाख ७६ हजार ६८६ घर संरचना छन्। जसमा मुख्य रूपमा आवासको लागि प्रयोग भएका घर ६९.९ प्रतिशत छन्। बाँकी गोठ, धन्सार, मतान, खाली घर, व्यापार, होटल तथा लज, उद्योग, कलकारखाना, सरकारी, स्वास्थ्यजन्य, बैंक तथा वित्तीय संस्था, भान्सा घरलगायत हुन्।

आवासीय प्रयोग गरिरहेको घरको स्वामित्वमा कुल ६ लाख ६१ हजार ६३२ परिवारमध्ये ८०.५ प्रतिशत परिवारले आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन्। १७.६ प्रतिशत परिवारले भाडामा लिइएको आवासीय इकाइमा बसिरहेका छन्।

गण्डकीमा स्मार्ट मोबाइल फोन हुने परिवारको प्रतिशत ७८.८ छ। कुल परिवारमध्ये ५९.६ प्रशितमा टेलिभिजन छ भने ४७.९ प्रतिशतमा इन्टरनेट सुविधा छ। जनगणनामा सोधिएका परिवारमध्ये ९६.९ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको साधन सुविधा उपलब्ध छ।

परिवारमा महिलाको नाममा घर र जग्गा दुवै हुने परिवार १४.१ प्रतिशत छ। यो संख्या अघिल्लो गणनाको तुलनामा १.७ प्रतिशत बिन्दुले बढेको हो। गण्डकीमा ६ लाख ६२ हजार ४८० परिवारमा ४१ प्रतिशत परिवारमुली महिला छन्।

यस्तै गण्डकीमा १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको ३१ प्रतिशत व्यक्तिहरु अविवाहित छन्। जसमा पुरुष ३७.३ प्रतिशत र महिला २५.५ प्रतिशत छन्। गण्डकीमा सबैभन्दा बढी १८ देखि २० वर्ष उमेर समूहका मानिसले विहे गरी सक्छन्। दोस्रोमा २१ देखि २४ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २४.४ प्रतिशत छन्।

सबैभन्दा कम परिवार सदस्य हुने प्रदेशमा गण्डकी प्रदेश पर्दछ। यहाँ औषत परिवार सदस्य संख्या ३.७२ छ भने सबैभन्दा बढी मधेशमा ५.२९ जना छन्। नेपालमा कुल जनसंख्याका २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता छ।

गण्डकीमा कुल जनसंख्याको २.९ प्रतिशतमा यस्तो समस्या छ। गण्डकीमा १० वर्ष वा सोभन्दा बढी उमेरका २० लाख ९५ हजार ४७४ जना व्यक्तिहरुमध्ये ६५.७ प्रतिशत आर्थिक रूपले सक्रिय छन्। राष्ट्रिय जनगणनाअन्तर्गत गण्डकी प्रदेशको तथ्यांक सार्वजनिक गर्दै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले मुलुकको नीति निर्माणमा जनगणनाको महत्त्व रहेको प्रकाश पारिन्।

उनले गण्डकीबाट विदेश पलायन भएको जनशक्ति फर्काउन प्रदेश सरकारले आवश्यक नीति निर्माण बनाउने बताइन्। राष्ट्रिय तथ्यांक कार्यालयका सचिव राम थपलियाले गत १० चैतमा काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय तथ्यांक सार्वजनिक गरेकोमा प्रदेशअनुसार पनि तथ्यांक सार्वजनिक गरिएको बताए।

प्रकाशित: १० जेठ २०८० १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =