विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा आर्जन गर्ने वातावरण बनाउन सरोकारवालाको जोड

हिमाल प्रेस ९ जेठ २०८० २०:००
96
SHARES
विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा आर्जन गर्ने वातावरण बनाउन सरोकारवालाको जोड

काठमाडौँ- विश्वविद्यालय शिक्षाको गुणस्तर वृद्धी गरेर नेपालमा नै विद्यार्थीलाई उच्च शिक्षा आर्जन गर्ने वातावरण बनाउन सरोकारवालाले जोड दिएका छन्। नेपालमै गुणस्तरीय शिक्षा उपलव्ध गराएर उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न सरोकारवालाले सरकारलाई सुझाव दिएका हुन्।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले आयोजना गरेको ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे नीतिगत संवाद कार्यक्रममा बोल्दै उनीहरूले विश्वविद्यालय शिक्षामा वार्षिक क्यालेण्डर लागु गर्नुपर्ने, नवप्रवर्तन, अनुसन्धानमुलक र रोजगारमुखी प्रतिस्पर्धी शिक्षा प्रदान गर्नुपर्ने, शिक्षण शूल्कमा एकरुपता कायम गर्नुपर्ने विषयमा जोड दिएका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले नीतिगतरुपमा सरकारले शैक्षिक गुणस्तर सुधारमा पहल गरेपनि सोचे अनुसार परिणाम आउन नसकेको बताए। उनले भने,‘शैक्षिक गुणस्तर सुधार गरेर नेपालमै पढ्ने वातावरण बनाउन सरकारको नेतृत्व थप जिम्मेवार बन्दै कार्यशैलीमा नै परिवर्तनको आवश्यकता छ। सरकारी कलेजमा विद्यार्थीको आकर्षण बढाउन सक्नुपर्छ। विद्यार्थी कम भए विद्यार्थीको आकर्षण भएका कार्यक्रम थप गर्ने र रोजगारमुखि शिक्षा प्रदान गर्ने गरी विश्वविद्यालयले पाठ्यक्रम तयार गर्नुपर्छ।’

यस्तै कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपले संस्कृतिकै रुप लिएकोमा चिन्ता व्यक्त गरे। उनले भने,‘उच्च शिक्षाको शैक्षिक अवस्था सुधारका लागि विश्वविद्यालयमा भएका न्युनतम पूर्वाधारको सदुपयोग गर्नुपर्छ। विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द नभएसम्म पठनपाठन प्रभावित भइरहन्छ। विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाउन सकिएन भने विश्वविद्यालय नै घरासायी बन्न पुग्छन्।’

नेपालमा गुणस्तरीय शिक्षाको विषयमा कुरा गर्दै हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र बन्द हड्ताल मुक्त बनाउनुपर्ने बताएका छन्। उच्चशिक्षाका नाममा लाखौँ रकम विदेशिने अवस्था अन्त्य गर्न नेपाल सरकार, सम्बन्धित विद्यालय र कलेजहरु गम्भीर हुनुपर्ने उनको भनाइ छ। विश्वविद्यालयको शैक्षिक क्यालेण्डर नियमित नहुँदा विद्यार्थी नेपाली शिक्षणसंस्थासँग रुष्ट भएको र यसको नियति नीजी कलेज सञ्चालकले बेहोर्नुपरेको बताए।

अमेरिकन मिलिटरी विश्वविद्यालय,अमेरीकाका प्रोफेसर डा मेदिनी अधिकारीले सरकारले अपनाएको शिक्षा नीति राम्रो नहुँदा उच्च शिक्षामा समस्या आएको बताए। उनले भने,‘विश्वविद्यालयलाई राजनीति मुक्त बनाउनुपर्छ। बजारको आवश्यकता अनुसार विषयहरू थप्नुपर्छ। सम्बन्धनको सवालमा कोटा सिस्टम हटाउनु पर्छ।’

नेपालका विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर लागु नहुनु बिडम्बना रहेको बताउँदै नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विश्वविद्यालय प्रति विद्यार्थीलाई विश्वास नभएकोले देशबाट बाहिरिएको बताए। उनले भने,‘अहिले विद्यार्थीलाई स्वदेशमा रोक्न सक्ने अवस्था नै छैन। शिक्षण सिकाइ उपलव्धी मूल्याङ्कनमा नै कमजोरी छ। यो प्रणालीमा सुधारको खाँचो छ। तीन घण्टे परीक्षा प्रणालीलाई खारेज साथै विश्वविद्यालयमा हुने गरेको राजनीतिकरण बन्द गर्नुर्छ।’ एकिकृत शिक्षा ऐन बनाएर विश्वविद्यालयको सुधार गर्नुपर्ने उनको भनाइ छ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले उच्च शिक्षामा समस्या र चुनौती धेरै रहेपनि यसलाई सुधार गर्दै लानुपर्ने बताए। ठुलो संख्यामा विद्यार्थीहरु विदेश अध्ययन गर्न गएसँगै हाम्रा विश्वविद्यालयमा विद्यार्थीको संख्या घटेपनि यसलाई सुधार गर्न सकिने विश्वास व्यक्त गरे। उनले नेपाली विश्वविद्यालयका कार्यक्रम भारत, अष्ट्रेलिया लगायतका देशमा सञ्चालन गर्नुपर्ने बताए। उनले भने,‘उपकुलपतिले चाहेर मात्रै विश्वविद्यालयमा सुधार गर्न सकिने अवस्था छैन। केही राम्रो काम गर्न खोजे विभिन्न वाहानामा आरोप लागाउने, स्पष्टिकरण सोधेर दुःख दिने काम हुन्छ। विश्वविद्यालय शिक्षामा सुधार गर्ने हो भने राजनीतिक हस्तक्षेप हुनुहुँदेन।’

उनले चिकित्सा शिक्षा आयोग आएपछि नेपालको मेडिकल शिक्षा धरापमा परेकाले यस विषयमा सरकारलाई गम्भिर बन्न सुझाव दिएका छन्।शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार गतबर्ष साउनदेखि यता ९३ हजार विद्यार्थीले विदेश अध्ययनका लागि अनुमतिपत्र लिइसकेका छन्। यो अवधिमा उच्च शिक्षाको नाममा ६७ अर्ब भन्दा बढी रहक विदेशिएको छ।

प्रकाशित: ९ जेठ २०८० २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =