हुँडारको बथानले जसरी आक्रमण गर्दा पनि पार्टी जोगायौँ : ओली

हिमाल प्रेस ९ जेठ २०८० १७:३६
10
SHARES
हुँडारको बथानले जसरी आक्रमण गर्दा पनि पार्टी जोगायौँ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हुँडारको बथानले जसरी आक्रमण गर्दा पनि पार्टी जोगाउन सफल भएको टिप्पणी गरेका छन्।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरूको भेलालाई सम्बोधन गर्दै उनले अन्तरध्वंश मच्चाउने नराम्रा घटनाहरूबाट पार्टीलाई सशक्त ढंगले पुनर्जीवित गर्न सकिएको बताएका हुन्।

‘यति भयानक हमला, चारै दिशाबाट होइन। यदि कुनै दसै दिशा हुन्छ भने दसै दिशाबाट हामीलाई सिध्याउने खालको हमला भएको छ,’ उनले भने, ‘तलबाट, माथिबाट, वरतिर, परतिरबाट, पूर्व–पश्चिम, उत्तर–दक्षिण, कुनाकुना कतैबाट पनि बाँकी नराखेर चौतर्फी हमला गरिएको छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) अध्यक्ष माधव नेपाललाई इंगित गर्दै उनले यो दुई वर्ष पार्टीलाई सुदृढीकरण गर्ने ठूलो मौका पाएको पनि बताए।

‘प्रतिकूल अवस्थाबाट यी दुई वर्षमा हामीले हाम्रो पार्टीलाई जोगाएका छौँ,’ उनले भने, ‘जीवन शर्माको गीतजस्तै पिलो निचोरिँदैमा वजन घटेको हुँदैन भनेजस्तो पिलो निचोरिएजस्तो मात्रै भएको छ। पीडा घटेको जस्तो मात्रै भएको छ।’

यस्तै उनले आन्तरिक रूपमा सबै मिलेको भए संसदीय सिटहरू अरूभन्दा अलि बढी नै ल्याउन सक्ने दाबी गरे। ‘तर हामी एकातिर पार्टीको रक्षा गर्नुपर्ने अवस्था, अर्कातिर वर्षौँदेखि नभएका महाधिवेशनहरू गर्नुपर्ने अवस्था,’ उनले भने, ‘अर्कातिर एकता, एकीकरणका नाममा सोहोरसाहर पारेर थुपारिएका कतिपय त मतदाता नामावलीमा उतार गरेर सदस्य हुन् भनेर पार्टी कार्यालयमा ल्याएर मिल्काएका बिटाहरूलाई ल्याएर पार्टी कहाँ चल्थ्यो?’

प्रकाशित: ९ जेठ २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =