जी-२० को बैठकमा भारतलाई झड्का, पाँच राष्ट्र अनुपस्थित

किन विवादित क्षेत्रमा सम्मेलन आयोजना ?

हिमाल प्रेस ९ जेठ २०८० १७:०१
124
SHARES
जी-२० को बैठकमा भारतलाई झड्का, पाँच राष्ट्र अनुपस्थित

काठमाडौँ- भारतले अध्यक्षता गरिरहेको जी-२० को पर्यटन सम्बन्धी सम्मेलन कश्मीरको श्रीनगरमा आजदेखि सुरु भएको छ। भोलि अर्थात बुधबारसम्म चल्ने उक्त सम्मेलनमा उदाउँदा प्रभावशाली मुलुकहरूको नै उपस्थिति भएन। उक्त विषय भारतले बाहिर नल्याए पनि भित्री रुपमा खल्लो भएको छ।

उपस्थित भएकाहरू धेरैले ‘जुनियर’ अधिकारीलाई प्रतिनिधित्व गराएका छन्। जी-२० का १९ सदस्य मुलुक र एक युरोपेली महासंघ (ईयू) मा चीन, टर्की, साउदी अरब, इन्डोनेसिया र इजिप्टले आफ्नो उपस्थिती नै नजनाएको हो। इजिप्ट सदस्य मुलुक नभए पनि भारतले निमन्त्रणा गरेको मुलुक हो। भारतले केही मुलुकलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको थियो।

१९९९ मा स्थापना भएको जी-२० मा अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, ब्राजिल, अर्जेटिना, क्यानडा, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, र युरोपेली महासंघ (ईयू) सदस्य छन् ।

यी देशका राष्ट्राध्यक्षहरूको शिखर सम्मेलन हरेक वर्ष हुन्छ। यो सम्मेलन भने होइन। जी-२० सदस्य राष्ट्रहरूको टुरिजम वर्किङ ग्रुपको बैठक हो। जी-२० को अध्यक्षता गरिरहेको भारतले त्यसअन्तर्गतका विभिन्न सम्मेलनहरू अलग अलग सहरहरूमा गर्दै आए पनि यसपटक विवादित भूमिका गरेको भन्दै पाँच मुलुक अनुपस्थित भएको हो।

कश्मीरको भूगोलमाथि पाकिस्तानले पनि दाबी गर्दै आएकाले उक्त क्षेत्रलाई विवादित भनिएको छ। राष्ट्रसंघीय रिजोलुसनलाई समेत अहिलेसम्म अटेर गरेर त्यो विवाद टुंगोमा पुर्‍याएको छैन। यद्यपि कश्मीरको केही भाग पाकिस्तान र केही भाग भारतको छ भने अक्साई चीन भनेर चिनिने भाग चीनमा समेत छ। यसरी विवादित रहेको कश्मीलाई भारतले आफैँ विवादमा नरहेको भन्दै त्यहाँ कार्यक्रम गरेको हो।

चार वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरलाई दिँदै आएको विशेष राज्यको दर्जासमेत खोसेर केन्द्र सरकार अन्तरगत ल्याएपछि त्यहाँ पर्यटनको विकासको लागि भन्दै कार्यक्रम गरेको जनाएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले उक्त क्षेत्र भारतको भएकै हुनाले पनि त्यहाँ त्यस प्रकारको सम्मेलन गर्ने निर्णय लिएको हो। भारतले यस्तो सम्मेलन आफ्नो भूमि जहाँ पनि गर्न सक्ने उनले बताएका थिए।

चार वर्षदेखि कश्मीर केन्द्र सरकार मातहतको एक राज्य बनेको छ। भारतीय जनता पार्टीको पकड भएको अवस्थामा कश्मीरलाई विशेष राज्यको सुविधा दिन संविधानको अनुच्छेद ३७० मा गरिएको व्यवस्था नै खारेज गर्दै केन्द्र शासित राज्य बनाएको हो।

भारतले श्रीनगरमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरेर कश्मीरमाथि भारतको पूर्ण पकड रहेको सन्देश दिएको देखिन्छ। जी-२० को सदस्य नरहेको पाकिस्तानले कश्मीरमा गर्न लागिएको कार्यक्रमप्रति आपत्ति जनाउँदै आएको थियो। पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टोले श्रीनगरमा जी-२० को बैठक राखेर भारतले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताउँदै आएका छन्। उनले संघाई सहयोग संगठन एससीओको बैठकमा सहभागी हुन भारत आउँदा पनि यो विषय उठाएका थिए।

उदाउँदो शक्ति चीनले भने कश्मीरलाई विवादित क्षेत्रकै रुपमा नियाल्दै उक्त बैठकमा आफू सहभागी नहुने सार्वजनिक गरेपछि पछिल्लो समय चीनसँग नजिकिएको साउदीले पनि भारत यात्रा रोकेको थियो। यसअघि गत मार्चमा अरुणाचल प्रदेशमा गरिएको जी-२० को अर्को बैठकप्रति पनि चीनले आपत्ति जनाउँदै सहभागी भएको थिएन।

बैठकका लागि श्रीनगरको सुरक्षा व्यवस्था निकै काडा पारिएको छ। भोलिसम्म चल्ने उक्त बैठकमा अन्य १५ मुलुकका विदेशी पाहुनाहरू पुगेका छन्।

प्रकाशित: ९ जेठ २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =