काठमाडौँ- पोखराको वन विज्ञान अध्ययन संस्थान (पोखरा क्याम्पस) बाट बीएसएसी गरेकी चित्ररेखा बस्यालले मोरङको बेतना सिमसार क्षेत्रमा कछुवाबारे अध्ययन गरेकी थिइन्। त्यतिबेला उनको अध्ययनले अवैध चोरीसिकारले कछुवाहरू बढी जोखिममा रहेको निष्कर्ष निकालेको थियो।
अधिकांश मानिसलाई कछुवा मारेमा कानुन लाग्छ भन्ने थाहा छैन। उनले पनि सचेतनाको कमीले हो कि भन्ने नसोचेकी होइनन्। ‘तर त्यहाँ थाहा पाउँदापाउँदै पनि अवैध चोरीशिकार गरेको पाइयो,’ उनले भनिन्।
बेतना सिमसार क्षेत्रका स्थानीयवासीलाई कछुवाका बारेमा बेलाबेलामा सचेत बनाउने अभियानहरू चल्ने गरेको छ। तै पनि लुकीलुकी कछुवाको चोरी सिकार गरेको पाइएको उनले बताइन्।
पद्मकन्या क्याम्पसकी विद्यार्थी पूजा पौडेलले कछुवासम्बन्धी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ९९ घरहरूमा अध्ययन गरेकी थिइन्। उनको अध्ययनबाट पनि मासुका लागि कछुवाको बढी चोरीसिकार गर्ने गरेको पाइएको थियो। त्यहाँ कतिपयले कानुन थाहा नपाएर चोरीसिकार गरेको पाइए पनि अधिकांशले कानुनी कारबाही हुन सक्छ भन्ने जान्दाजान्दै पनि कछुवा मार्ने गरेको पाइएको थियो।
पद्मकन्या क्याम्पसबाट स्नातक गरेकी सरला बरालले पहिलेभन्दा अहिले मानिसहरू सचेत भएको बताइन्। यद्यपि सचेत भए पनि आफ्नो फाइदाका लागि भने कछुवा मार्ने गरेको उनले बताइन्। ‘कतिपय मानिसहरू सचेत भए पनि कछुवा मार्ने गरेको पाइन्छ,’ उनले भनिन्, ‘विशेष गरी मासु, औषधि प्रयोगका लागि मार्ने गरिएको छ।’
पद्मकन्या क्याम्पसका उपप्रध्यापक चन्द्रमणि अर्याल पनि कछुवासम्बन्धीका विभिन्न अभियानहरूले सचेतना फैलाउन सहयोग गरेको बताउँछन्। ‘कतिपयलाई कानुन थाहा हुँदाहुँदै पनि कछुवाको चोरी सिकार गर्ने गरेका छन्, यो ठूलो चुनौती हो,’ उनले भने।
बढ्दो चोरीसिकार, मानवीय अतिक्रमण, पानीको स्रोतमा कमी, वासस्थान व्यवस्थापनको कमीलगायतका कारण कछुवा संकटमा पर्न थालेको उनले बताए।
‘पर्याप्त अध्ययन आवश्यक’
कछुवाको संरक्षणका लागि नेपालमा पर्याप्त अध्ययन हुनुपर्ने संरक्षणकर्मीहरूले बताएका छन्। विश्व कछुवा दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा संरक्षणकर्मीहरूले पर्याप्त अध्ययन भए मात्रै कछुवा संरक्षणका लागि प्रभावकारी योजना बनाउन सकिने बताएका हुन्।
दिवसको अवसरमा वातावरण अध्ययन तथा संरक्षण केन्द्र, उभयचर तथा सरिसृपका साथीहरू (क्यारोन) तथा गोल्डेनगेट इन्टरनेसनल कलेजको संयुक्त आयोजनामा बत्तीसपुतलीस्थित कलेजमा ‘टर्टल टक’ कार्यक्रम गरिएको थियो।
सो कार्यक्रममा संरक्षणकर्मी र विद्यार्थीहरूले कछुवासम्बन्धी पर्याप्त अध्ययन नहुनु र सचेतना जगाउन नसक्नुले कछुवा संकटमा पर्दै गएको बताए। उनीहरूले सरोकारवाला निकायहरूले कछुवा संरक्षणका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताए।
कार्यक्रममा गोल्डेनगेट कलेजका सीईओ रमेश सिलवालले कछुवाको महत्त्वबारे सबैलाई जानकारी दिएमात्रै यसको प्रभावकारी रूपमा संरक्षण हुने बताए। कछुवा पाल्न हुँदैन भनेर आफूले समेत धेरैपछि थाहा पाएको भन्दै सचेतना जरूरी भएको उनले बताए। ‘मेरो धारणा अलि फरक छ, पृथ्वीमा जुन चिज पालियो, त्यो लोप भएको छैन,’ उनले भने, ‘जीवजन्तुलाई प्रकृतिमा रमाउन दिनुपर्छ, पाल्न पनि दिनुपर्छ। त्यसो गर्दा कुनै जीव लोप हुँदैनन् जस्तो लाग्छ।’
कार्यक्रममा कछुवासम्बन्धी अनुसन्धानदाता एवं संरक्षणविद् एन्डर्स जी.जे. रोडिनले नेपालसहित विश्वमा कछुवाको अवस्थाबारे भर्चुअली प्रस्तुति दिएका थिए। कार्यक्रम वातावरण अध्ययन तथा संरक्षण केन्द्रका उपाध्यक्ष शशांक शर्माको सभापतित्वमा भएको थियो।