उपेक्षामा ‘जल कुचीकार’

केशव राना क्षेत्री ९ जेठ २०८० १०:३३
112
SHARES
उपेक्षामा ‘जल कुचीकार’ तस्बिर सौजन्य : आर्को नेपाल।

काठमाडौँ- संरक्षणमा चासो नदिँदा सरिसृप वर्गमा पर्ने कछुवा लोप हुने अवस्थामा पुगेको छ। कछुवाको अध्ययनअनुसन्धान र संरक्षणका लागि सरकारी स्तरबाटै उपेक्षा गरिँदा ‘जल कुचीकार’ कछुवा लोप हुने खतरा बढेको छ।

नेपालमा हालसम्म लाम्चे, ध्वाँसे कण्ठे पाते, तीनपाटे पहाडी, बाहुने खोले, पँहेलो भुँडेधुरीलगायत १७ प्रजाति (२ वटा उपप्रजाति पनि छन्) का कछुवा पाइन्छन्। तीमध्ये चार प्रजाति अति संकटापन्न छन् भने सात संकटापन्न अवस्थामा छन् ।

यति धेरै प्रजातिका कछुवा पाइने भए पनि पर्याप्त अध्ययनअनुसन्धान हुुन नसकेको उभयचरसम्बन्धी अध्येता प्रकाशचन्द्र अर्याल बताउँछन्। ‘हामीसँग १७ प्रजातिका कछुवा छन् भन्ने छ। कहाँ कति छन्, कस्तो अवस्थामा छन् भन्ने अज्ञात छ,’ उनले भने, ‘यसअघि सन् १९९५ मा प्रा. करणबहादुर शाहको टिम, सन् २००० मा कालुराम खुम्बुलगायतको टिमले अध्ययन गरेको पाइन्छ।’

अर्यालको समूहले भने सन् २००८-०९ मा तराईका १२० ठाउँका पोखरी, खोला, सिमसारमा अध्ययन गरेको थियो। त्यसपछि बृहत् अध्ययन भएको पाइँदैन। उनका अनुसार विद्यार्थीले गर्ने थेसिसमा मात्रै सीमित छ, कछुवा अध्ययन। कछुवा संरक्षणसम्बन्धी पाठ्यसामग्री पनि अभाव छ।

अन्य वन्यजन्तुजस्तो कछुवा गणना गर्न गाह्रो हुन्छ। त्यसमाथि कछुवा संरक्षणमा चासो कम भएकाले पनि भनेजस्तो अध्ययनअनुसन्धान हुन नसकेको संरक्षणकर्मी बताउँछन्।

अध्ययनअनुसार कछुवा आजभन्दा २० करोड वर्ष पहिले अर्थात् डाइनोसरको उत्पत्ति हुनुभन्दा धेरैअघि अस्तित्वमा आइसकेको थियो। डाइनोसर हराएर गए तर कछुवाले भने आफ्नो प्रजाति बचाउँदै ल्याएको छ। यद्यपि कति कछुवा लोप भइसके होलान्, कति हुने क्रममा छन्।

किन हुन सकेन अध्ययन?

पद्मकन्या क्याम्पसका उपप्राध्यापक चन्द्रमणि अर्याल भन्छन्, ‘बाघ, गैँडा, हात्तीजस्ता जनावरलाई सहजै दाता पाइने भए पनि कछुवाजस्ता साना प्रजातिका लागि दाता पाउन गाह्रो छ।’ कछुवा संरक्षण गर्नुपर्छ र पारिस्थिकीय प्रणालीमा कछुवाको पनि उत्तिकै महत्त्व छ भन्ने धेरैलाई थाहा नभएको उनी बताउँछन्।

सरकारी तबरबाट पनि कछुवा संरक्षणमा एकदमै कम चासो भएको कछुवा संरक्षण केन्द्रका प्रतिनिधि तपिलप्रकाश राई बताउँछन्। ‘कुन ठाउँमा कुन प्रजातिका कति छन् भन्ने अध्ययन भएको छैन,’ उनी भन्छन्, ‘सरकारी बेवास्ता प्रमुख कारण हो।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पनि कछुवाकै लागि भनेर छुट्टै कार्यक्रम सञ्चालन गरेको छैन। चितवनको कसरामा कछुवा प्रजनन केन्द्र जस्तो बनाइएको छ। तर संरक्षणका हिसाबले त्यो ज्यादै न्यून हो।

अध्येता अर्याल सरकारले संरक्षणमा प्राथमिकता नदिएको बताउँछन्। ‘ठूला जनावर जोगाउँदा ठूलो क्षेत्रमा संरक्षित गरिने भएकाले साना पनि जोगिन्छन् भन्ने सरकारी तर्क छ,’ उनले भने, ‘कछुवा सरकारको प्राथमिकतामा परेको छैन, संरक्षित क्षेत्रबाहिर रहेका कछुवा एकदमै जोखिममा छन्।’ कछुवा धेरै ठाउँमा पाइने भए पनि सबै प्रजातिका कछुवा पाउन गाह्रो भएको उनको भनाइ छ।

संकटमा कछुवा

कछुवा उद्धार तथा संरक्षण केन्द्रका प्रतिनिधि तपिलप्रकाश राईले कछुवा संकटापन्न अवस्थामा रहेको बताए। सन् २०२० मा नेपालमा पाइने कछुवा प्रजातिमा ६० प्रतिशत लोपोन्मुख अवस्थामा भएको तथ्यांकले देखाएको थियो।

‘अहिले सन् २०२१ मा नेपालमा पाइने ७५ प्रतिशत कछुवा लोप हुने खतरामा छन्,’ उनले भने, ‘एकदमै नाजुक अवस्था छ।’

बढ्दो चोरीसिकार, मानवीय अतिक्रमण, पानीको स्रोतमा कमी, वासस्थान व्यवस्थापनको कमीलगायतका कारण कछुवा संकटमा पर्न थालेको उपप्रध्यापक अर्याल बताउँछन्।

‘मानिसमा सचेतनाको कमी छ, मान्छेले देख्यो कि खाइदिहाल्छन्,’ उनले भने, ‘तराईका पोखरीहरूमा माछापालनका लागि ठेक्का दिने गरिएको हुन्छ, त्यस्तो बेला जालमा परेका कछुवाहरू मानिसले बिक्री गर्ने वा खाने गरेकाले पनि कछुवा संरक्षण थप चुनौती थपिएको छ।’

चीन र भियतनाममा कछुवाको ठूलो बजार रहेकाले नेपाललाई ट्रान्जिट बनाएर भारतबाट समेत चोरी सिकार हुने गरेको उनको भनाइ छ।

ग्रिनहुड नेपालकी अध्यक्ष तथा अनुसन्धानकर्ता अस्मिता श्रेष्ठ चोरी सिकार बढेका कारण कछुवा संकटमा पर्न थालेको बताउँछिन्।

‘कोसीटप्पुमा कछुवा अनुसन्धान गर्दा त्यहाँ ठूलो मात्रामा बेचबिखन भएको पाइएको थियो,’ उनले भनिन्, ‘कछुवा भेट्यो कि मारिहाल्ने, नरम खबटावालाचाहिँ मासुका लागि प्रयोग गरेको पाइयो।’

मानवीय अतिक्रमणका कारण सिमसार, पोखरी, खोलानाला सुक्दै गएकाले पनि यसको वासस्थान संकटमा पर्दै गएको संरक्षणकर्मी बताउँछन्। अन्धविश्वासका कारण पनि कछुवा संकटमा परेको श्रेष्ठको भनाइ छ। ‘कतिपयले घरपालुवा जनावरजस्तै ‘गुडलक’का लागि पाल्दा रहेछन्,’ उनले भनिन्, ‘खबटाहरू गोठमा राख्दा गाईवस्तुलाई रोग वा नजर लाग्दैन भन्ने अन्धविश्वास पनि रहेछ।’

पाठ्यक्रममै छुट्छन् कछुवा

ग्रिनहुड नेपालका अर्का अध्ययनकर्ता कुशल श्रेष्ठले आफूले स्नातकमा कछुवाबारे पढ्न नपाएको गुनासो गरे। ‘मैले कछुवाबारे राम्रोसँग ज्ञान पाएको भनेको आफैँ अध्ययनमा संलग्न भएपछि मात्रै हो,’ उनले भने, ‘मास्टर्समा पनि एकदमै कम समेटिएको छ।’

उनले कछुवाका बारेमा पाठ्यक्रममा धेरैभन्दा धेरै जानकारी समेट्नुपर्ने बताए।  ग्रिनहुडकी अध्यक्ष अस्मिता श्रेष्ठको पनि गुनासो उस्तै छ। ‘कछुवाबारे सामान्य अध्ययन भएपछि मात्रै अन्य साथी र विज्ञानका विद्यार्थीहरू पनि कछुवाका विषयमा रूचि देखाएको पाइएको छ,’ उनले भनिन्।

किन जोगाउने ?

जसरी गिद्धलाई थलको कुचीकारका रूपमा लिइन्छ, त्यसरी नै कछुवा पनि जलको कुचीकार हो। यसले जलीय पारिस्थिकीय प्रणालीलाई सन्तुलनमा राख्न सहयोग गर्छ। साथै यसले गड्यौला, चिप्लेकीरा, गंगटालगायत खाएर तिनीहरूको संख्या व्यवस्थापनमा सहयोग गर्ने ग्रिनहुडकी अध्यक्ष श्रेष्ठ बताउँछिन्।

‘बिरामी, सडेगलेका जीवजन्तु, लार्भालगायत खाएर पानीलाई स्वच्छ बनाइराख्न मद्दत गर्छ,’ उनले भनिन्, ‘जमिनमा बस्ने कछुवाले बनाउने दुलोमा ३५० प्रजातिका अन्य जीव बस्छन्, आगलागी हुँदा त्यस्ता प्रजाति बचाउन सहयोग पुग्छ।’

यस्तै कतिपय बिरुवा फैलाउनका लागि कछुवा प्रभावकारी हुने उपप्रध्यापक अर्यालको भनाइ छ। ‘कतिपय बिरुवाहरूका दाना कछुवाले खाएर डाइजेस्ट गर्छ,’ उनले भने, ‘विभिन्न ठाउँमा गएर दिसा गर्दा बिरूवा फैलन मद्दत गर्छ।’

कछुवा उद्धार तथा संरक्षण केन्द्रका प्रतिनिधि राईले कछुवा जोगाउनु भनेको वनजंगल, सिमसार र नदिनाला जोगाउनु भएको बताए।

जोगाउने कसरी?

कछुवा उद्धार तथा संरक्षण केन्द्र क्लब झापाका कार्यक्रम संयोजक सविन अधिकारीले कछुवा जोगाउन पहिलो कुरा मानिसको दिमागमा कछुवा भन्ने शब्द घुसाउनुपर्ने बताउँछन्। ‘घाँस काट्न जाँदा वा माछा मार्न जाँदा भेटियो भने कसैले खाने र कसैले पाल्ने गरेको पाइन्छ,’ उनले भने, ‘कतिपय रेस्टुरेन्टले कछुवाको मासु पनि बेच्ने गरेको पाइन्छ।’

समुदायमा सचेतना कमी भएको भन्नेबारे ग्रिनहुडकी श्रेष्ठ पनि सहमत छिन्। ‘कछुवाको बासस्थान नजिक बस्नेहरूलाई के कस्तो कछुवा हो, यसको महत्त्व के हुन्छ भन्ने नै थाहा छैन,’ उनले भनिन्।

त्यसैले धेरैलाई कछुवा छोप्न हुँदैन, यसको मासु खानु वा बेचबिखन गर्नु दण्डनीय हुन्छ भन्ने नै जानकारी नभएको उनी बताउँछिन्।  उपप्रध्यापक अर्यालका अनुसार कछुवा संरक्षणका लागि योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। ‘कुनै पनि जीवको संरक्षण त्यहाँका समुदायको जीवनयापनसँग जोड्न सकियो भने मात्रै सम्भव हुन्छ,’ उनी भन्छन्, ‘स्थानीयलाई कछुवाको महत्त्व, प्रकृतिमा पार्ने प्रभावका विषयमा जानकारी दिनुपर्छ।’

त्यस्तै पोखरी, सिमसारहरू ठेक्कामा दिने चलनको नियन्त्रण गर्नुपर्ने उनी बताउँछन्। कछुवा उद्धार तथा संरक्षण केन्द्र प्रतिनिधि राईले भने कछुवा संरक्षण धार्मिक विश्वाससँग पनि जोड्न सक्नुपर्ने बताएका छन्।

‘हिन्दू धर्ममा जसरी गाईलाई लक्ष्मी भनेर पूजा गरिन्छ, त्यसरी नै कछुवालाई विष्णु भगवानको अवतारका रूपमा हेरिन्छ,’ उनी भन्छन्, ‘यसरी कछुवाको मासु खान हुँदैन, बिक्रीवितरण हुँदैन भनेर पनि सचेत गराउन सकिन्छ।’

अध्येता अर्याल संरक्षण योजना सरकारले नै बनाउनुपर्ने बताउँछन्। ‘कछुवालाई के कस्तो समस्या छ, कसरी घट्यो बढ्यो तथ्य नहुँदा योजना बनाउनु गाह्रो भयो भनेर सरकारी पक्षले भन्छ,’ उनले भने, ‘अध्ययनअनुसन्धानले डाटा निकालेर मात्रै सरकारी तबरमा योजना बनाउन सकियो भने दिगो हुन सक्छ।’

कछुवाको संख्या, यसको अवस्थाबारे जानकारी भएको भए पनि सरकारलाई योजना बनाउन सजिलो हुने उनी बताउँछन्। ‘सबै कछुवाको एकैपटक अध्ययन गर्न नसकिए पनि जुन एकदमै संकटापन्न अवस्थामा छ, जस्तो साल जंगलमा पाइने पहेँलो कछुवा। त्यसको अध्ययन अनुसन्धान गरेर संरक्षणका कार्ययोजना बनाउनुपर्छ,’ उनले भने, ‘अरू कछुवाको पनि त्यहीअनुसार कार्ययोजना बनाउनुपर्छ।’

प्रकाशित: ९ जेठ २०८० १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =