विपद् न्यूनीकरणमा नेपाली सेनाको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पाण्डे

हिमाल प्रेस ८ जेठ २०८० १३:१९
4
SHARES
विपद् न्यूनीकरणमा नेपाली सेनाको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पाण्डे फाइल तस्बिर।

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका प्रशंसनीय रहँदै आएको बताएका छन्।

गण्डकी प्रदेश सरकार र नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर तथा व्यास नगरपालिका-५ स्थित कालीभञ्जन गण (ई) को आयोजनामा सोमबार(आज) व्यास नगरपालिका-१० मादी नदीमा आयोजित विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक उद्धार-१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

विपद्का घटनामा प्रतिकार्यका लागि सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकाय र स्थानीयवासीको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ छ। मुख्यमन्त्री पाण्डेले नेपाली सेनाको उच्च जनशक्ति, कुशल व्यवस्थापन, पूर्वतयारी, तैनाथी, स्रोत र साधन तत्काल परिचालनले विपद् न्यूनीकरणमा नेपाली सेना सशक्त रहँदै आएको इतिहासले पुष्टि नै गरेको उल्लेख गरे।

‘०७२ सालको भूकम्प होस् वा विमान दुर्घटनामा नेपाली सेनाको प्रदर्शन उच्च र प्रशंसनीय रहेको छ। विपद् प्रतिकार्य कुनै व्यक्ति वा संस्थाले मात्र गरेर सम्भव छैन, यसका लागि सामूहिक प्रयास आवश्यक छ,’ उनले भने।

विपद् व्यवस्थापनमा प्रदेश सरकारले समन्वयात्मक र अभिभावकीय भूमिका निर्वाह गर्दै आएकाले यसमा प्राथमिकता दिएर बजेट विनियोजन गरिएको पनि उनले बताए।

नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति एवम् उपरथी दीपक बानियाँले नेपाली सेनाले प्राकृतिक घटनामा जनताको जिउधनको सुरक्षाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाए।

गण्डकी प्रदेशमा ३ वर्षमा बाढीपहिरो, आगलागी र हिमपहिरोबाट २ सय १८जनाको मृत्यु भएकाले यस प्रदेश विपद् जोखिमको सूचीमा परेको उनको भनाइ छ।

प्रतिकार्य योजना बमोजिम नेपाली सेनाले सबैसँगको समन्वयमा विपद्का घटनामा सहयोग पुर्‍याउँदै आएको बताउँदै उपरथी बानियाँले गत आर्थिक वर्षमा १८ वटा सचेतनामूलक अभ्यास सञ्चालन गरिएको जानकारी दिए।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विपद्का घटना न्यूनीकरण सबैको सामूहिक प्रयासबाट सम्भव हुने बताए। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तनहुँ जिल्ला विपद्को सूचीमा अग्रस्थानमा रहेकाले नमूना अभ्यासले पनि विपद् जोखिम न्यूनीकरणमा सहयोग मिल्नेमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =