भीसी विजेता गजे घलेलाई प्रोज्ज्वल नेपाल तारा तक्मा र श्री ३ जुद्धको प्रशंसा

सन्तोष खडेरी ६ जेठ २०८० १९:५०
1.7k
SHARES
भीसी विजेता गजे घलेलाई प्रोज्ज्वल नेपाल तारा तक्मा र श्री ३ जुद्धको प्रशंसा जमदार गजे घलेलाई भिक्टोरिया क्रस पहिर्‍याउँदै गभर्नर जनरल एवं भाइसराय लर्ड वाभेल र गजे घले। तस्बिर स्रोत : दी गोर्खा म्युजियमको फेसबुक पेज

पहिलो र दोस्रो विश्वयुद्ध दुवैमा प्रत्यक्ष रूपमा नेपाल आफैँ सहभागी भएन। तर ब्रिटिस सेनामा भर्ती भएर थुप्रै मोर्चामा नेपालीले भने युद्ध लडे। दुवै विश्वयुद्धसहित सन् १९५० र ६० को दशकमा समेत नेपालीहरू ब्रिटिस सेनामार्फत मलाया र इन्डोनेसियामा युद्ध लडे।

त्यसपछिका फकल्यान्डसहित ब्रिटिस सेना सहभागी अन्य युद्धमैदानमा नेपालीले बहादुरी देखाएका छन्। दुवै विश्वयुद्धसहित मलाया र इन्डोनेसियाका युद्धमा लडेबापत उनीहरूको बहादुरीको उच्च सम्मान गर्दै ब्रिटिस सरकारले त्यहाँको सर्वोच्च सैन्य पदक ‘भिक्टोरिया क्रस’ले सम्मानित गरेको थियो।

पहिलो विश्वयुद्धमा राइफलम्यानहरू कुलवीर थापा र कर्णबहादुर रानाले भिक्टोरिया क्रस (भीसी) प्राप्त गरेका थिए। सन् १९१५ नोभेम्बरमा भीसी पाएका कुलवीर थापा भीसी प्राप्त गर्ने पहिलो नेपाली हुन्। त्यस्तै कर्णबहादुर रानाले सन् १९१८ को जुनमा भीसी पाएका थिए।

दोस्रो विश्वयुद्धमा समेत थप १० जना नेपालीले भीसी प्राप्त गरेका थिए। दोस्रो विश्वयुद्धमा पहिलो भीसी प्राप्त गर्ने सुबेदार लालबहादुर थापा हुन्। त्यसपछि दोस्रो भीसी जमदार गजे घलेले प्राप्त गरेका थिए। भीसी पाउने अन्य आठ नेपालीमा राइफलम्यान गञ्जु लामा, राइफलम्यान अगमसिंह राई, जमदार नेत्रबहादुर थापा, राइफलम्यान तुलबहादुर पुन, राइफलम्यान शेरबहादुर थापा, राइफलम्यान थमन गुरुङ, राइफलम्यान भानुभक्त गुरुङ र राइफलम्यान लछिमन गुरुङ थिए। सन् १९६५ मा इन्डोनेसिया मलाया युद्धका क्रममा रामबहादुर लिम्बुले भिक्टोरिया क्रस (भीसी) प्राप्त गरेका थिए।

भीसी विजेता जमदार गजे घलेलाई नेपाल सरकारले प्रोज्जवल नेपाल तारा प्रदान गरेको थियो। यहाँ भीसी विजेता गजे घले र उनलाई नेपालले प्रदान गरेको नेपाल तारा पदकबारे चर्चा गरिएको छ।

गोरखाको बारपाकमा जन्मिएका गजे घले सन् १९३४ मा उनी ब्रिटिस भारतीय सेनामा भर्ती भएका थिए। पाँचौँ गोर्खा राइफल्सअन्तर्गत हबल्दार पदमा कार्यरत घले पहिले बजिरस्तान र दोस्रो विश्वयुद्धको समयमा बर्मामा खटिए। घले नेतृत्वको ब्रिटिस फौजले बर्माको चीनडाँडामा आफूहरूभन्दा धेरै गुणा बढी संख्यामा रहेका जापानी सेनालाई परास्त गरी इस्ट वासा हिल्समाथि नियन्त्रण गरेका थियो। सन् १९४३ को मे २४ र २७ मा भएको युद्धमा जापानीसँग निर्भीकतापूर्वक लडेका घलेको साहस र वीरताको कदरस्वरूप उनलाई ब्रिटिस सरकारले सर्वोच्च सैन्य पदक ‘भिक्टोरिया क्रस’ प्रदान गरेको थियो।

ब्रिटिस सरकारको सिफारिसमा उनलाई सन् १९४३ को ३० सेप्टेम्बरमा तत्कालीन ब्रिटिस सम्राट् जर्ज छैटौँले भिक्टोरिया क्रस प्रदान गर्ने निर्णय सदर गरेका थिए। (दी लन्डन गजेट, ३० सेप्टेम्बर १९४३) घोषणाको करिब ४ महिनापछि सन् १९४४ को ५ जनवरीमा दिल्लीमा उनलाई उक्त पदक प्रदान गरिएको थियो। ब्रिटिस भारतका तत्कालीन गभर्नर जनरल एवं भाइसराय लर्ड वाभेलले घलेको छातीमा पदक पहिर्‍याइदिएका थिए। (दी सर्चलाइट, ७ जनवरी १९४४)

गजे घलेले भाइसरायको हातबाट भिक्टोरिया क्रसको तक्मा छातीमा पहिरिँदै गरेको तस्बिरसहितको खबर नेपालमा समेत गोरखापत्रले २००० को माघ १५ को अंकमा प्रकाशित गरेको थियो।

गजे घलेले दिल्लीमा भिक्टोरिया क्रसको तक्मा पहिरिनुअगाडि नेपालको गोरखाबाट उनका पिता, पत्नी र ससुरासमेत दिल्ली पुगेका थिए। भारतमा खटिएका नेपाली फौजको दलप्रमुखका रूपमा लेफ्टिनेन्ट जनरल कृष्णशमशेर दिल्लीमा थिए। घलेलाई दिल्लीमा कृष्णशमशेरले भेटेका थिए। दिल्लीको उक्त समारोह र रणभूमिदेखि दिल्लीसम्मको कार्यक्रमबारे दिल्ली र नेपालस्थिति ब्रिटिस मिनिस्टरबीच भएका पत्राचारमा उल्लेख छ। त्यस्तै उनको नेपाल भ्रमणबारे नेपालस्थित ब्रिटिस मिनिस्टरले दिल्लीमा गरेको पत्राचारमा सम्पूर्ण विवरण उल्लेख छ।

गजे घलेलाई भिक्टोरिया क्रस प्रदान गरेको सूचना प्रकाशित भएको दी लन्डन गजेटको अंक र गजे घलेलाई नेपालका प्रधानमन्त्री महाराजले नेपाल तारा पदक प्रदान गरेको विषयमा दी बम्बे क्रोनिकलको १३ मार्च १९४४ को अंकमा प्रकाशित समाचार।

दुवै विश्वयुद्धमा ब्रिटिस सेनामा भर्ती हुनका लागि नेपालका गाउँगाउँबाट सरकारले युवालाई त्यतातर्फ पठाएको थियो। राणा सरकार युवालाई भर्ती हुनका लागि प्रोत्साहित गर्दथ्यो। पहिलो विश्वयुद्धताका नेपालमा चन्द्रशमशेर प्रधानमन्त्री थिए।

दोस्रो विश्वयुद्धका समयमा नेपालमा जुद्धशमशेर श्री ३ महाराज एवं प्रधानमन्त्री थिए। दुवै विश्वयुद्धमा ग्यारेसन ड्युटीका लागि नेपाली सेनालाई भारतमा पठाउनेदेखि, गोर्खा भर्तीमार्फत लाखौँ संख्यामा नेपाली युवालाई लडाइँमा पठाइएको थियो। दुवै विश्वयुद्धमा नेपालले हतियार, चुरोट, बिस्कुट, चिनी, चियापत्तीसँगसँगै आर्थिक सहयोग उपलब्ध गराएको थियो।

दोस्रो विश्वयुद्धमा खटिएका गोर्खाली नेपाली सैनिकको वीरता र साहसको उच्च कदर गर्दै ब्रिटिस सरकारले सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्रदान गर्ने निर्णय गरेपछि नेपाल सरकारले पनि ‘प्रोज्ज्वल नेपाल तारा’ पदकले सम्मानित गर्ने निर्णय गरेको थियो। पहिलो भीसी विजेता सुबेदार लालबहादुर थापालाई श्री ३ महाराज एवं प्रधानमन्त्री जुद्धशमशेरले ‘प्रोज्ज्वल नेपाल तारा’ को पदक प्रदान गरेका थिए। तर उनी नेपाल आउन ढिलो भएका कारण उनीभन्दा अगावै गजे घलेलाई उक्त पदक प्रदान गरिएको थियो।

सन् १९४४ को ५ जनवरीमा दिल्लीमा भिक्टोरिया क्रस प्राप्त गरेपछि गजे घले आफ्नो परिवारसहित नेपाल आएका थिए। दिल्लीको उक्त कार्यक्रम सकिएपछि उनले केही समय भारतमा बिताएर सोही फेब्रुअरी २१ मा उनी रक्सौल हुँदै अमलेखगन्ज आइपुगेका थिए। प्रधानमन्त्री जुद्धशमशेर सिकार खेल्नका लागि तराईतिरै थिए।

घले अमलेखगन्ज आइपुग्दा जुद्धशमशेरको सवारी क्याम्प त्यहीँ थियो। २१ फेब्रुअरी मंगलबार परेको थियो। त्यस दिनमा भेट्नु हुँदैन भन्ने प्रचलन रहेकाले घले र प्रधानमन्त्रीका बीचमा भेट हुन सकेन। अर्को दिन २२ फेब्रुअरी बुधबार भीसी विजेता घले र प्रधानमन्त्री जुद्धशमशेरबीच सवारी क्याम्पमा भेट भयो।

वीरता प्रदर्शन गरीनेपाली जातिको गौरव बढाएकोमा हर्षित हुँदै धन्यवादसहित भेटमा जुद्धशमशेरले घलेलाई बधाई ज्ञापन गरे। त्यस्तै उनको वीरताको कदर गर्दै नेपाल सरकारका तर्फबाट प्रदान गर्ने तक्मा ज्योतिषको शुभ साइतअनुसार भोलिपल्ट प्रदान गर्ने जानकारी गराए।

२३ फेब्रुअरीका दिन अमलेखगन्ज सवारी क्याम्पमा प्रधानमन्त्री जुद्धशमशेरले भीसी विजेता गजे घलेलाई प्रोज्जवल नेपाल ताराको तक्मा पहिर्याइदिएका थिए। सो अवसरमा प्रधानमन्त्री जुद्धशमशेरले संक्षिप्त सम्बोधन गरेका थिए। त्यसको मुख्य अंश यस्तो थियो–

जमदार घले!
आफ्नु नाम आफ्नु पौरख र जातीय गौरव बढाई गोर्खालीको नाम चहकिलो गराई आएको तिमीलाई हाम्रो हार्दिक स्वागत छ। स्यावास! वेस गर्‍यौ। यही गएको मे महिनाको २४ र २७ तारिखको बाीचमा वैरीसँग भिडिँदा तिमीले गरेको बहादुरी कामको बयान सुन्दा कुन गोर्खालीको मन प्रसन्न र प्रफुल्लित नभई रहँदो होला। आफ्नो जिउमा लागेको कैयौँ घा चोटपट तिरको ख्याल एकरत्ति नराखी, आफ्नु ज्यानको परवाह पनि कत्ति नगरी आफ्ना कमानका सिपाहीलाई उत्तेजित गर्दै वैरीमाथि जाई लागी वैरीको संहार गरी बसापूर्व टाकुरा दखल गरिछाड्यौ। यो तिम्रो बहादुरी कामको कदरको चिह्न हाम्रा मित्र ब्रिटिस सरकारबाट पाएको ‘भिक्टोरिया क्रस’ को तक्माले शोभित भई आएको तिमीलाई देख्दा हामीलाई बहुतै खुसी लागेको छ। यसमा तिमीलाई हाम्रो हार्दिक मुवारकवाद छ। हाम्रा हुकुम शिरोपर गरी हाम्रा ब्रिटिस सरकारको मद्दत गर्ना निमित्त ब्रिटिस गोर्खा पल्टनमा भर्ना भई यस्तो प्रशंसनीय बहादुरी देखाएकोमा हामीलाई अत्यन्त आनन्द लागेको छ। तिम्रो यो बहादुरीको हामीबाट खुब कदर गरिबक्सेको छ। यसको चिह्नका रुपमा हामीबाट ‘प्रोज्जवल नेपाल तारा’ को पद्धति यो मेडल तिमीलाई बक्सेको छ।

परमेश्वरले तिमीलाई यो ठूलो मान चीर कालसम्म भोग गर्न र अरूअरू मान कमाउनालाई आयुरारोग्य दिऊन्। तिमीजस्ता सत् पुत्र पाउने तिम्रो बाबु र तिमी जस्तो सुयोग्य बहादुर लोग्ने पाएकी तिम्रो स्वास्नी पनि धन्य हुन्। तिनीहरूले तिमीलाई स्वागत गर्न पाउँदा मानेको खुसी र आनन्दमा हामी सबै सरिक छौँ।’

अमलेखगन्जबाट नेपाल सरकारले बन्दोबस्त गरिएको विशेष व्यवस्था सामान राख्ने लरी, डाँडीमा सवार हुँदै उनीहरू काठमाडौँ आए। भीसी विजेता गजे घले ब्रिटिस मिनिस्टरको अतिथिका रूपमा ब्रिटिस लिगेसनमा रहे। काठमाडौँमा उनले कमान्डर इन चिफ एवं कायममुकायम प्रधानमन्त्री पद्मशमशेरसहित अन्यलाई भेटेका थिए।

ब्रिटिस लिगेसनमा उनको स्वागत सम्मानमा केही विशेष समारोह आयोजना भएका थ्एि। त्यहाँ जनरल बालकृष्णशमशेर (साहित्यकार बालकृष्ण सम) पुगेर भीसी विजेता गजे घलेको तस्बिर कोरे। काठमाडौँमा झन्डै एक साता बिताएपति घले आफ्नो जन्मगाउँ गोरखाको बारपाक फर्किएका थिए। गाउँमा पनि उनको भव्य स्वागत गरिएको थियो।

प्रकाशित: ६ जेठ २०८० १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =