कञ्चनपुर : धारापानी पुग्न पर्यटकीय मार्ग

हिमाल प्रेस ५ जेठ २०८० १२:२७
10
SHARES
कञ्चनपुर : धारापानी पुग्न पर्यटकीय मार्ग

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ स्थित पर्यटकीय मार्ग धारापानीमा पद्माग निर्माणको कार्य अगाडी बढाइएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण भइरहेको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धारापानी पुग्ने बाटोमा ढुंगा बिछ्याउने कार्य भइरहेको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णप्रसाद भट्टले बताए।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको छ लाख रुपैयाँ रकम खर्च गरेर पदमार्ग निर्माण भइरहेको छ’, उनले भने, ‘नब्बे दिनभित्र पदमार्ग निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएका छौँ, हालसम्म पदमार्ग निर्माणको ८० प्रतिशत कार्य सम्पन्न भएको छ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोटमा परेका १५ जना बेरोजगारले पदमार्ग निर्माण गरिरहेका छन्। एक साताभित्रै पदमार्ग निर्माणको कार्य पूरा गर्ने लक्ष्य राखिएको छ।

रोजगार शाखका प्रमुख भट्टका अनुसार पहिलो चरणमा एक हजार पाँच सय मिटर पदमार्ग निर्माणको कार्य गरिने भएको छ। दोस्रो चरणमा पर्यटकीय क्षेत्र धारापानीसँगै बतासे झरनासम्म पदमार्ग निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ।

पदमार्ग निर्माण भएको क्षेत्रमा विगतका वर्षहरुमा सडक निर्माण गर्नका लागि ट्रयाक खोलिए पनि निरन्तर पहिरो जाने र पानी चुहिने हुँदा निर्माण कार्य अगाडि बढाउन सकिएको थिएन। चार लाख रुपैयाँदेखि पाँच लाख रकम ट्रयाक खोल्नमै सिद्धिएको थियो।

ट्रयाक खोलिएकै सडकलाई पदमार्गका रूपमा परिणत गर्न थालिएको छ। पर्यटकलाई गन्तव्यमा सहजरुपमा पुग्नका लागि पदमार्ग निर्माणको कार्य अगाडि बढाइएको वडाध्यक्ष बहादुरसिंह महराले बताए।

‘पर्यटकीय क्षेत्र जोड्नका लागि विगतको सडकको ट्रयाक खोल्ने कार्य गरे पनि सडक निर्माण गर्न सम्भव हुन नसकेपछि पदमार्ग निर्माण गरिरहेका छौँ’, उनले भने, ‘सडक निर्माण गर्न निकै ठूलो रकम लाग्ने र नगरपालिकाबाट बजेटको व्यवस्था गर्न सम्भवन हुन नसक्ने भएपछि पदमार्ग निर्माणमा जोड दिएका छौँ।’

पदमार्ग निर्माणले पर्यटकको आवागमनमा सहज हुने कार्यसँगै स्थानीय बासिन्दालाई ओहरदोहर गर्नमा सजिलो हुने भएको छ। धारापानीका स्थानीयवासी रायभान ठगुन्नाले पर्यटकीय क्षेत्रमा आउने पर्यटकसँगै स्थानीय बासिन्दाले बाटोको सहजता नहुँदा विगतमा निकै हैरानी खेप्दै आएको बताए।

‘पदमार्ग निर्माण भएपछि ढुक्कसँग गाउँसम्म पुग्न सकिने भएको छ’, उनले भने, ‘गाउँसम्म मोटर पुग्ने सडक निर्माणको पुरानै माग हो, यसलाई पूरा गरिदिए यो क्षेत्रले फड्को मार्न सक्छ।’

धारापनी क्षेत्रमा तराईको गर्मी छल्नका लागि, चिसो पानीमा नुहाउनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गर्दछन्। दैनिक यस क्षेत्रमा सयदेखि दुई सयको हाराहारीमा पर्यटक पुग्ने गरेको स्थानीयवासीको भनाइ छ।

धारापानी क्षेत्रसँगै उत्तरतर्फको तीन किलोमिटरको क्षेत्रमा रहेको बतासे झरनाको मनोरम दृश्य नियाल्न र झरनामा नुहाउनका लागि पर्यटक आउने गरेका छन्। वडा कार्यालयको तर्फबाट वनभोजस्थल चौतारामा निर्माणको कार्य गरिएको छ।

पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधार निर्माणका कार्य भने यस क्षेत्रमा हालसम्म भएका छैनन्।

प्रकाशित: ५ जेठ २०८० १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =