भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै नेकपा एसले बुटवलमा पनि गर्‍यो प्रदर्शन

हिमाल प्रेस ४ जेठ २०८० १९:११
4
SHARES
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै नेकपा एसले बुटवलमा पनि गर्‍यो प्रदर्शन

लुम्बिनी– भुटानी शरणार्थी प्रकरणमा संलग्न राजनीतिक नेतृत्वलाई कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादी, रुपन्देहीको मोर्चा संगठनले विहिबार भैरहवामा विरोध प्रदर्शन गरेको छ।

सो प्रकरणमा जोडिएका सबैलाई कडाभन्दा कडा कारबाही गर्न र दोषीलाई उन्मुक्ती नदिन दवाव दिने उदेश्यले खबरदारी प्रदर्शन गरेको हो।

भैरहवा मिलनचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य उमा काफ्लेले भुटानी शरणार्थी प्रकरणले विश्वसामु नेपालको शिर झुकाउनुपर्ने अवस्था बनाएकाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन्।

‘भुटानी शरणार्थी काण्डमा ठूलाठूला राजनीतिक नेतृत्वको संलग्नता भएको हुनसक्छ,’ उनले भनिन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउनेजस्तो जघन्य अपराध गर्नु डकैती गरेसरह हो, त्यसैले संलग्नलाई उन्मुक्ति दिन हुँदैन।’

समाजवादीका जिल्ला कमिटी अध्यक्ष अविराम विकले मुलुककै लज्जा हुने गरी माथिल्लो तहका नेता र कर्मचारीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काम गरेको बताए।

उनले मुलुकमा भएका सबै किसिमका भ्रष्टाचारका काण्डहरूको सरकारले अनुसन्धान गरी संलग्नलाई कारबाही गर्नुपर्ने माग गरे। विरोध सभालाई समर्थन गर्दै वरिष्ठ साहित्यकार बुँद रानाले संगठनलाई नभएर संगठनले उठाएको मुद्दालाई समर्थन गरको बताए।

गृह मन्त्रालयजस्तो महत्त्वपूर्ण निकाय मानव तस्करजस्तो जघन्य अपराधमा मुछिनु निन्दनीय भएको उनले बताए। उनले राष्ट्रियताका सवालमा देशका आम जनमानसलाई सडकमा उत्रिन आह्वान गरे।

पार्टी मधेसी मोर्चाका अध्यक्ष श्रीराम यादवले नेपाली नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेजस्तो जघन्य अपराध गरेका अपराधी फुत्कन सक्ने डर भएको बताउँदै सरकारलाई नडगमगाई कारबाहीमा उत्रिन आग्रह गरे।

भुटानी शरणार्थी प्रकरणमा राजीनितक नेतृत्वलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै समाजवादीले बुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो।

प्रकाशित: ४ जेठ २०८० १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =