नक्कली शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि दोषीलाई छुट दिइन्न : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस ३ जेठ २०८० १६:२४
10
SHARES
नक्कली शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि दोषीलाई छुट दिइन्न : गृहमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि दोषीलाई छुट नदिइने बताएका छन्। ज्ञापनपत्र बुझाउन बुधबार मन्त्रालय पुगेका एकीकृत समाजवादीका नेताहरूसँग श्रेष्ठले दोषी नउम्किने र निर्दोष नफस्ने बताएका हुन्।

‘आफ्नै देशको नागरिकबाट पैसा असुलेर शरणार्थी बनई वैभावशाली जीवन व्यतीत गर्ने प्रवृत्तिलाई जस्तोसुकै दबाब र प्रभाव आए पनि छुट दिन सकिन्न,’ उनले भने, ‘प्रहरीले स्वतन्त्र रूपमा काम गरिरहेको छ।’

एकीकृत समाजवादीका मोर्चा संगठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहितको प्रतिनिधि मण्डलले गृहमन्त्री श्रेष्ठलाई नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई हदैसम्मको कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो।

‘देशका उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरूले नै आफ्ना नागरिकलाई अर्को देशको नक्कली नागरिक बनाएर मानव बेचविखन, राष्ट्रप्रति धोखा र राष्ट्रद्रोहको कुकर्म गरेको तर यसलाई आधार बनाएर विभिन्न आवरणका प्रतिगामी शक्तिहरूले संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थतितिर लैजान खोजेकोप्रति चनाखो हुनुपर्ने एकीकृत समाजवादीको अडान छ,’ ज्ञापनपत्रमा लेखिएको छ।

विगतका धेरै भ्रष्टाचार काण्डहरू बीचैमा सामसुम पारिएकाले यस गम्भीर मुद्दालाई कुनै पनि प्रकारको मिलोमतोमा कमजोर नबनाउन र ढाकछोप नगर्न एकीकृत समाजवादीले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ।

यसैबीच मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय टोलीले आजै (बुधबार) उपप्रधानमन्त्री श्रेष्ठलाई पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै नक्कली शरणार्थी प्रकरणका दोषी तथा सबै भ्रष्टाचारीहरूलाई कारबाही गर्न र मानवअधिकारमैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =