गृहमन्त्री भन्छन् : नक्कली शरणार्थी प्रकरणलाई टुंगोमा पुर्‍याएरमात्रै छोडिन्छ

हिमाल प्रेस ३ जेठ २०८० १५:११
20
SHARES
गृहमन्त्री भन्छन् : नक्कली शरणार्थी प्रकरणलाई टुंगोमा पुर्‍याएरमात्रै छोडिन्छ फाइल तस्बिर।

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरूले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले नक्कली भूटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पती आर्जन गर्नेकुरा संगठित अपराध भएको बताए। मन्त्री श्रेष्ठले अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताए।

भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हाँसिल हुन नसक्ने उनको भनाइ छ। उनले कुनै पनि भ्रष्टाचारका प्रकरणहरू निष्पक्ष भएर छानबिन गर्ने र कुनै पनि दबाबमा वा कुनै पनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने बताए।

‘नक्कली भूटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पती आर्जन गर्ने जुन प्रक्रिया देखिएको छ यसमा कडा कारबाही गर्ने तहमा हामी छौँ। यो सामान्यतया ठगी हो तर ठगी मात्रै होइन, राज्यका उच्च तहमा बसेका व्यक्तित्वहरू र तलसम्मको सेट मिलाएर यो काम अघि बढाइएको छ, त्यसैले संगठित अपराध हो यो, यो राज्यविरुद्धको अपराध पनि हो भन्नेकुरा उठिरहेको छ,’ उनले भने, ‘यो अनुसन्धान अधिकारीले अपराधको प्रकृतिलाई निश्चित गरिसकेपछि प्रक्रिया अघि बढी नै हाल्छ। भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम गर्न सकेनौँ भने समृद्धिको नारा पूरा हुँदैन। भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ। आफ्नो देशको नागरिक अनागरिक बनाइ विदेशमा पठाइ पैसा संकलन गर्ने र आफ्नो जीवन व्यतित गर्ने उद्देश्यका साथ जुन प्रक्रिया अघि बढायो यसलाई छुट दिनेकुरा हुन सक्दैन।’

कुनै दबाब र प्रभावले घटना प्रभावित नहुने उनको भनाइ छ। ‘हामीले कुनै केस बिना पूर्वाग्रह छानबिन गर्ने, निर्दोष फस्नु नहुने र दोषी उम्किनु हुँदैन भनेर काम र छानबिन गर्न निर्देशन दिइएको छ। कुनैपनि दबाबमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन,’ उनले थपे, ‘अनुसन्धानको प्रक्रियालाई तथ्य र प्रमाणको आधारमा निस्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ। दोषीलाई कारबाहीको प्रक्रियामा लगि छोड्छौँ।’

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेको थियो।

प्रकाशित: ३ जेठ २०८० १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =