काठमाडौँ- गुजरात टाइटन्स यसपालिको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। लिग चरणको आफ्नो १३ औँ खेलमा सोमबार राति सनराइजर्स हैदराबादलाई ३४ रनले हराएसँगै गुजरात प्लेअफमा पुगेको हो। यो नतिजापछि गुजरात शीर्ष दुईमा रहने पनि पक्का भएको छ।
गुजरात गत सिजन पहिलो सहभागितामै च्याम्पियन बनेको थियो। यसपालि पनि गुजरातले प्लेअफमा पुग्न तारिफयोग्य प्रदर्शन गरिरहेको छ। यस्तोमा गुजरातका कप्तान हार्दिक पान्ड्याले आफ्नो टिम प्लेअफ सफलताको हकदार रहेको प्रतिक्रिया दिएका छन्।
‘लगातार दोस्रो पटक प्लेअफमा पुगेका छौँ। यो सफलताको श्रेय सबै खेलाडीलाई जान्छ। सबैले निकै मेहनत गरेका छन्। मलाई लाग्छ हामी यो सफलताको हकदार हौँ,’ पान्ड्याले भनेका छन्, ‘अब आउँदा खेलमा हामीमाथिको अपेक्षा बढ्नेछ। कप्तानका रूपमा म यो कुरामा सधै सचेत रहन्छु। हामी सकभर गल्ती नगरी खेल्ने प्रयत्नमा रहन्छौँ, आउँदा खेलमा पनि हाम्रो लक्ष्य एकाग्र भएर खेल्ने नै हुनेछ।’
हैदराबादमाथिको जितमा शुभमन गिलले शतक प्रहार गरेका थिए। आईपीएल करियरको पहिलो शतक बनाएका गिलले दोस्रो विकेटका लागि साई शुदर्शनसँग १४७ रनको साझेदारी गरे। यी दुईबाहेक अन्य ब्याट्सम्यानको ब्याटिङ नचलेको खेलमा मोहम्मद शामी र मोहित शर्माले चार-चार विकेट हात पारे। यी दुईको बलिङले गुजरातको जित निश्चित भएको थियो।
जितपछि पान्ड्याले आफ्ना बलरहरूको तारिफ गरे। ‘कतिपय अवस्थामा ब्याट्सम्यानहरूले बढी श्रेय पाउँछन्। तर कुनै पनि टिमको बलियो प्रदर्शनमा बलरहरूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ। व्यक्तिगत कुरा गर्ने हो भने म बलरहरूसँग भावनात्मक रूपमा नजिक छु। म खासमा बलरहरूकै कप्तान हो। म उनीहरूले पु¥याउने योगदानलाई लिएर सधै सचेत रहन्छु। ताकि उनीहरूको सही मूल्यांकन होस्,’ पान्ड्याको भनाइ थियो।
गिलले आइएपीएलमा डेब्यु गर्दा हैदराबादविरूद्ध खेलेको र अहिले आएर उही विपक्षीसँगको खेलमा शतक बनाउँदा एउटा चक्र पूरा भएको प्रतिक्रिया दिए। ‘एकदम खुसी छु। मलाई लागछ एउटा चक्र पूरा भएको छ। आशा छ यो सिजन फेरि शतक बनाउन सक्छु,’ गिलले भने, ‘पछिल्ला इनिङ्सहरूमा खराब ब्याटिङ गरेको छु भने त्यसले मलाई अर्को खेलमा प्रभावित गर्न सक्दैन। यद्यपि हालका लागि मेरो लक्ष्य भनेको एकाग्र भएर खेल्ने हो। आज त्यसो गर्न सकेँ। अभिषेक शर्माको बलमा छक्का प्रहार गर्दा खुुसी लाग्यो। किनभने अभिषेक मेरो बालसखा हो।’
गुजरातसँगको हारपछि हैदराबादको भने प्लेअफ सम्भावना सकियो। लिग चरणमा अब दुई खेल खेल्न बाँकी रहेको हैदराबादसँग आठ अंक छ। नवौँ स्थानको हैदराबाद र पुछारको दिल्ली क्यापिटल्सबीच अंक दूरी छैन। यस्तोमा हैदराबादका कप्तान ऐइडेन मार्क्रामले बाँकी दुई खेल इज्ज्तका लागि खेल्ने बताएका छन्।
‘अबका दुई खेल हामीले जित्नै पर्छ। यसपालि हामीले आफ्नो स्तर अनुसारको खेल देखाउन सकेका छैनौँ। त्यसकारण बाँकी दुई खेल जित्दै हामी सुखद अन्त्य गर्न चाहन्छौँ। यी खेलमा हामी सकभर हालसम्म कम खेल्न पाएकालाई मौका दिने प्रयास गर्नेछौँ,’ मार्क्रामले भने।