आजदेखि मेलम्चीको पानी बन्द

हिमाल प्रेस १ जेठ २०८० ७:५२
आजदेखि मेलम्चीको पानी बन्द मेलम्ची खानेपानी आयोजनाको सुरुङ

काठमाडौँ- काठमाडौँ उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजदेखि बन्द भएको छ।

आयोजना स्थलको मुहानमा आवश्यक मर्मत सम्भार गर्न दुई साताका लागि पानी वितरण बन्द गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

सामान्य बाढी आएका बेला पनि आयोजना सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो । गेट नम्बर ९ मा रहेको हेडवर्क्समा नयाँ सिलिन्डर जडान गर्नु पर्ने छ । त्यसका लागि पानीको प्रवाह नै बन्द गर्नु परेको हो।

यस्तै गेट नम्बर १ मा पनि जाली राख्नुपर्ने उनले जानकारी दिए । गत वर्ष फलामको पाता राखेर पानी बन्द गरिएको थियो।

ठूलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको हो। मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सञ्चालन गरिने आयोजनाले जनाएको छ।

मेलम्चीको पानी सुरुङमार्फत पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा आइपुगेको थियो।

सोहो वर्षको चैत १५ देखि मेलम्चीको पानी परीक्षण वितरणस्वरुप काठमाडौं उपत्यकाबासीको धारामा वितरण गरिएको थियो । तर २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति भएको थियो।

प्रकाशित: १ जेठ २०८० ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =