आफैँलाई चाहिन्छ समय

संगीता श्रेष्ठ ३० वैशाख २०८० ७:०६
298
SHARES
आफैँलाई चाहिन्छ समय प्रतिनिधिमूलक तस्बिर।

हामी बाँचेको समयको सायद सबैभन्दा ठूलो विरोधाभास यही हो कि कसैसँग ‘समय’ छैन। जटिल जीवनशैली, भयानक भागदौड र विस्मयकारी व्यस्तताले कसैसँग कसैलाई दिन समय नै छैन। आमाबाउलाई दिन छोराछोरीसँग समय छैन, श्रीमान्‌लाई दिन श्रीमतीसँग, श्रीमतीलाई दिन श्रीमान्‌सँग, दिदीबहिनीलाई दिन दाजुभाइसँग, साथीलाई साथीसँग समय छैन। सम्भवतः समयको यति ठूलो अभाव एक्काइसौँ शताब्दीको दु:खद विशेषता हो।

यस्तो यथार्थबीच ‘मी टाइम’ (स्व-समय) अर्थात् ‘आफूलाई समय दिनु’ झन् अमिल्दोजस्तो लाग्न हुन सक्छ। हुन त कोही-कोहीलाई आफूसित समय बिताउन निकै मन पर्छ। कसैका लागि भने एक्लै बस्नु संसारको सबैभन्दा मुस्किल काम हो। त्यस्ता मान्छे एक्लोपनबाट भाग्न चाहन्छन्। त्यहीँ अर्कोतिर एकान्त मन पराउनेहरू शान्त ठाउँको खोजीमा हुन्छन्।

अहिले धेरै मान्छेलाई फुर्सद छैन। घरपरिवारको जिम्मेवारी र कामको दौडधूपमा मानिसले आफैँलाई समय दिन पाउँदैन। तर मनोचिकित्सकहरूको निष्कर्ष छ- अब हरेक व्यक्तिले ‘स्व-समय’बारे सचेत हुनु अनिवार्य छ, हरेकले आफ्ना लागि अलिकति समय निकाल्नैपर्छ।

कुनै मान्छेले आफ्नो खुसीका लागि केही समय आफूसँग बिताउँछ, आफूसित रमाउँछ भने त्यसलाई ‘स्व-समय’ अर्थात् ‘मी टाइम’ भनिन्छ। ‘स्वस्थ जीवनका लागि स्व-समय विलासिता होइन, आवश्यकता हो,’ मनोचिकित्सकहरूको एकमुष्ट भनाइ छ।

भनिन्छ नि ‘तपाईं खाली कपबाट खन्याउन सक्नुहुन्न।’ त्यस्तै आफू खुसी भइएन भने अरूलाई खुसी दिन सकिन्न। आफ्नो ख्याल गर्न सकेमात्र अरूको हेरचाह गर्न सकिन्छ। त्यसका लागि मान्छे तनले मात्र नभई मनले पनि स्वस्थ हुनुपर्ने मनोचिकित्सकहरू बताउँछन्।

‘आफूलाई माया गर्नु स्वार्थी हुनु होइन,’ पाटन अस्पताल मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य भन्छन्, ‘आफ्नो ख्याल गर्नुपर्छ। आफ्नो खुसीलाई पनि प्राथमिकतामा राख्नुपर्छ। यसको अर्थ आफूलाई मात्र केन्द्रमा राख्ने भनेको होइन, आफूबारे पनि अलिकति सोच्ने भनेको हो।’

मानसिक स्वास्थ्यका लागि पनि स्व-समय आवश्यक छ भन्ने आवाज उठिरहेको छ।

‘स्व-समय एकदमै आवश्यक छ,’ डा. शाक्य भन्छन्, ‘व्यस्त दिनचर्यामा प्रत्येक व्यक्तिले अलिकति भए पनि आफूलाई समय दिनुपर्छ।’ हरेक दिन आफ्ना लागि केही समय छुट्याएर आफूसँगै बिताउन सकिने उपाय उनले सुझाएका छन्।

‘मी टाइम भनेको चौबिसै घण्टा एक्लै बस्नुपर्छ भन्ने होइन,’ उनी भन्छन्, ‘२४ घण्टामा केही समय निकालेर आफूलाई दिनुपर्छ भन्ने हो।’

आफूसँग समय बिताउँदा …

अभिनेत्री सुरक्षा पन्त आफूसँग समय बिताउन मन पराउँछिन्। त्यतिखेर आफूलाई ‘एक्सप्लोर’ गर्ने उनको अनुभव छ। यस्तो बेला उनी गीत सुन्छिन्, कविता लेख्छिन्, किताब पढ्छिन् अनि आफ्नो जीवनबारे सोच्छिन्।

‘एकान्तमा आफ्नो जीवन, काम, करिअरबारे सोच्छु,’ उनी भन्छिन्, ‘आफूलाई एक्सप्लोर गर्छु। यसो गर्दा कहिलेकाहीँ आफैँबारे नयाँ अनुभूति पनि हुन्छ।’

अरू पेसाभन्दा कलाकारले बिताउन चाहे ‘मी टाइम’ बढी पाउने पन्त बताउँछिन्। ‘कलाकारहरूको कामको प्रकृति नै यस्तो छ,’ उनी भन्छिन्, ‘व्यस्त हुँदाचाहिँ सुत्न त पाइँदैन स्व-समय त परको कुरा हो। काम नहुँदा लामो समय खाली पनि बस्नुपर्ने हुन्छ। त्यतिबेला आफूलाई मनग्गे समय दिन सकिन्छ।’

टेलिभिजन प्रस्तोता माल्भिका सुब्बाले गत महिना सम्पन्न ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल २०२३ (निफ)’मा ‘सिनेमामा आमाहरू : करिअर र जिम्मेवारी सन्तुलन’ विषयमा कुराकानी गर्दा भनेकी थिइन्, ‘स्व-समय बिताउनुहोस्, आफूलाई माया गर्नुहोस्, आफ्नो हेरचाह गर्नुहोस्।’

हरेक मानिसले आफूलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। ‘मी टाइम एकदमै जरुरी छ,’ उनले निफको सो सत्रमा भनेकी थिइन्, ‘बच्चालाई खुसी राख्न र असल अभिभावक बन्न स्व-समय बिताउनुपर्छ।’ आफूसँग समय बिताउन सुब्बा घुम्न जाने गर्छिन्। ‘चौबिसै घण्टा बच्चा हेरेर बस्न सकिँदैन,’ छलफलमा उनले भनेकी थिइन्, ‘जो हेरिरहेका छन् तिनलाई म सलाम गर्न चाहन्छु। मचाहिँ सक्दिनँ। मी टाइम बिताउन ‘म जान्छु ल’ भन्दै घुम्न गइदिन्छु।’

‘रिचार्ज’ हुन स्व-समय

‘काममा व्यस्त छु’ भन्दैमा आफूलाई बिर्सेर त्यसमै एकोहोरिरहनु उचित नभएको मनोचिकित्सक शाक्यको ठम्याइ छ। उनी आफूलाई केहीबेर समय दिँदा मानिस ‘रिचार्ज’ हुने बताउँछन्।

‘दौडधूप र व्यस्त जीवनशैलीले मानिस शारीरिक र मानसिक रूपले थाकेको हुन्छ,’ उनी भन्छन्, ‘आफूसँग केही समय बिताउँदा रिचार्ज हुन्छ। काम गर्ने ऊर्जा थपिन्छ।’
आफूलाई समय त दिने, तर कसरी दिने? कति दिने?

यी पक्ष ठाउँ र मान्छेअनुसार भर पर्ने शाक्य बताउँछन्। ‘यो बेला मान्छेले आफूलाई मन पर्ने काम गर्न सक्छ,’ उनी भन्छन्, ‘पढलेख गर्ने, संगीत सुन्ने, नृत्य गर्ने, घुम्नेलगायत हुन सक्छन्।’

स्व-समयमा मानिस आफ्ना विचारसँग एक्लै हुने डा. शाक्यको भनाइ छ। ‘मान्छे रिचार्ज हुन जरुरी छ,’ उनी भन्छन्, ‘हरेक मानिस आमाबुबा, छोराछोरीलगायत जे पनि हुनुअघि एक व्यक्ति हो। त्यस कुरालाई बुझेर आफूलाई समय दिने र आफूलाई रिचार्ज गर्ने गर्नुपर्छ।’

स्व-समयलाई प्राथमिकता नदिँदा मानिसले थप थकित महसुस गर्ने मनोविद् डा. विजया बिजुक्छे बताउँछिन्। ‘व्यस्त दिनचर्या, कामको दौडधूपका कारण निरन्तर दबाबमा रहँदा तनाव बढ्छ,’ उनी भन्छिन्, ‘तनाव कम गर्न आराम गर्नुपर्छ र आफूलाई समय दिनुपर्छ।’

विद्युतीय सामानको ब्याट्री सकिएपछि जसरी रिचार्ज गरिन्छ, त्यसरी नै मान्छेले पनि स्व-समयमार्फत आफ्नो ब्याट्री रिचार्ज गर्नुपर्ने ‘अब्बल वी’की प्रबन्ध निर्देशकसमेत रहेकी विजयाको भनाइ छ। ‘मान्छे बिहान उठेदेखि राति सुत्दासम्म काम गर्छन्, उनीहरूसँग आफ्ना लागि समय हुँदैन,’ उनी भन्छिन्, ‘सक्रिय र सिर्जनशील रहन नियमित ‘ब्रेक’ लिनुपर्छ। यसले मानिसलाई ‘फ्रेस’ महसुस गराउँछ। आफ्नो ब्याट्री रिचार्ज गर्न र तनाव घटाउन आफ्ना लागि समय निकाल्नुपर्छ।’

स्व-समय आत्मप्रेम बढाउने उत्तम उपाय पनि हो। आफूलाई माया गर्ने मानिसले यसको महत्त्व बुझ्छन्। यसलाई आफ्नो जीवनमा प्राथमिकता दिन्छन्।
मीठो निद्राका लागि पनि स्व-समय आवश्यक छ। ‘जब तपाईं आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन्छ, तनावरहित जीवन बाँच्नुहुन्छ तब तपाईंलाई राम्रो निद्रा पर्ने सम्भावना त्यति नै बढ्छ,’ डा. शाक्य भन्छन्।

एकान्तप्रेमी लेखक

लेखक सरस्वती प्रतीक्षा बाल्यकालदेखि नै एकान्तप्रेमी हुन्। अन्तरमुखी यी लेखकलाई भीडभाडमा जानुभन्दा एकान्तमा आफैँसित रमाउन मन पर्छ। त्यो स्वभाव अहिले पनि उस्तै छ। अहिले त आफू झन् धेरै एकान्तप्रेमी भएको उनी बताउँछिन्।

दिनमा कम्तीमा एकदुई घण्टा आफूसँग समय बिताउन सकिएन भने उनलाई निस्सासिएको महसुस हुन्छ। ‘भित्रभित्रै छट्पटी हुन्छ, आत्तिन्छु अनि एकान्त खोज्न थाल्छु,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ साँझपख घरबाट फुत्त निस्केर कतै क्याफेमा एक्लै कफी खाँदै बस्छु। पोखराको लेकसाइडको कुनै क्याफेमा बसेर आफैँसित रमाउँछु। कहिलेकाहीँ एक्लै सिनेमा हेर्न जान्छु।’

प्रतीक्षालाई मान्छेको हूलमूलभन्दा प्रकृतिको सान्निध्य प्रिय लाग्छ। ‘हरेक रूख आफैँमा एउटा चित्रजस्तो लाग्छ,’ उनी सुनाउँछिन्, ‘बोटबिरुवाको आसपास रमाउन पनि उत्तिकै मन पर्छ। यसले मलाई थप जीवन्त, थप भाइब्रेन्ट बनाउँछ।’

एकान्तप्रेमी स्वभावका कारण धेरै मान्छे लेखक प्रतीक्षासँग रिसाउने गरेका छन्। कतिपयले त उनलाई स्वार्थी भन्ने गरेका छन्। तर उनी स्व-समय बिताउनुलाई स्वार्थी हुनु ठान्दिनन्। ‘म एकान्तप्रेमी हुँ, जहाँ म आफैँसित रमाउँछु,’ उनी भन्छिन्, ‘आफूसित समय बिताउनु त ज्ञानी हुनु हो। स्वयंसित रमाउनु एक कला पनि हो। स्वार्थी हुनु कदापि होइन। सिर्जनशील मान्छेलाई त एकान्त, एक्लोपन र मी टाइम झन् अपरिहार्य छन्।’

पछिलो समय संसारभरि ध्यान र विपश्यनाको महत्त्व बढ्नुको कारणमध्ये एक स्व-समय पनि रहेको उनको भनाइ छ। ‘अहिले ध्यान र विपश्यनाको महत्त्व बढ्दै गइरहेको छ,’ उनी भन्छिन्, ‘यो ‘मी टाइम जरुरी छ’ भनेर मान्छेले बुझ्दै गएको प्रमाण हो।’

सरस्वती प्रतीक्षा।

अरूलाई समय दिन नसक्दा कतिपय मित्रता नै धरापमा परेको अनुभव छ, ‘नथिया’ उपन्यासकी यी लेखकसँग। ‘मान्छेहरू प्रेममा समय गएको थाहा हुँदैन भन्छन्,’ उनी भन्छिन्, ‘तर भेटको एउटा सीमापछि मलाई चाहिँ समय गएको थाहा हुन्छ। मलाई प्रेममा पनि ‘स्पेस’ चाहिन्छ। होइन भने ऐंठन महसुस हुन्छ। त्यो स्पेस आफूसित मात्र रहनका लागि हुन्छ।’

मान्छेको घुइँचोबाट टाढिन उनी थुप्रै साहित्यिक तथा अन्य कार्यक्रम पन्छाइरहेकी हुन्छिन्। ‘कतिले ‘ठूली पल्टी’ भनेर रिस पोखेको पनि देखेकी छु,’ उनी भन्छिन्, ‘तर स्वभाव बुझ्नेले बुझिदिन्छन्, नबुझ्नेहरूले ‘घमण्डी छे’ भन्छन्।’

स्व-समयलाई प्रतीक्षा ‘स्वयंले स्वयंलाई भेट्ने र अनुभूत गर्ने समय’का रूपमा लिन्छिन्। ‘जतिसक्दो धेरै समय आफूसित बिताउन सकियो आफूले चाहेको के हो? आफ्नो खुसी केमा छ? आन्तरिक शान्ति कसरी प्राप्त गर्ने? यी र यस्ता कुरामा मान्छे प्रस्ट हुँदै जान्छ,’ उनको स्पष्ट कथन छ, ‘यस प्रस्टताले जीवनका अनावश्यक तनाव र बेचैनी कम हुँदै जान्छन्। स्वयंलाई नबुझी ‘संसार बुझेँ’ भन्दै हिँड्नु फगत एक भ्रम हो।’

उनी मौनताको अभ्यासमा विश्वास गर्छिन्। ‘सकेसम्म कम बोलुँ र बोल्नैपर्ने अवस्थामा बाहेक शब्द फजुल खर्च नगरूँ भन्ने लाग्छ,’ उनी भन्छिन्।

आफू खुसी हुँदा मात्र अरू खुसी

कहिलेकाहीँ हामी दैनिक र रुटिनबद्ध काममा यति अल्झिन्छौँ कि ‘म के चाहन्छु?’ र ‘म को हुँ?’ भन्ने नै बिर्सिन्छौँ। त्यसका लागि पनि मान्छेले बेला-बेलामा आफू समय दिनुपर्ने मनोविद् बिजुक्छेको भनाइ छ।

आफूलाई प्राथमिकता दिनु आफ्नो आवश्यकताको सम्मान गर्नु रहेको उनी बताउँछिन्। ‘तपाईंले आफैँलाई सम्मान गर्नुहुन्न भने अरूले पनि गर्दैनन्?’ उनी भन्छिन्, ‘मी टाइम बिताउँदा थपिने ऊर्जाले मानिसलाई स्वस्थ राख्छ, खुसी बनाउँछ। यसले जीवन र काममा सन्तुलन कायम गर्न पनि मद्दत गर्छ। जीवनका महत्त्वपूर्ण पक्षलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग गर्छ।’

डा. बिजुक्छेसँग सोह्रै आना सहमत छन्, डा. शाक्य। एक व्यक्तिका रूपमा मान्छेलाई आराम गर्न र आफूलाई मन पर्ने क्रियाकलाप गर्न केही क्षण चाहिन्छ, जतिखेर मान्छेले अरू सबैको समस्याबारे चिन्ता नगरी आनन्दले बस्नुपर्छ, आफूबारे सोच्नुपर्छ। ‘हरेक मान्छेले आफ्नो परिवारलाई माया गर्छ, उनीहरूको हेरचाह गर्न चाहन्छ,’ उनी भन्छन्, ‘तर, अरूको हेरविचार गर्न, अरूलाई खुसी राख्न पहिला मान्छे आफू खुसी हुनुपर्छ। त्यसका लागि आफूलाई समय दिनुपर्छ।’

आफूलाई समय दिनु भनेको व्यक्तिवादी र स्वयंकेन्द्रित हुनु होइन। आफूबारे सोच्नु हो। ‘जति व्यस्त भए पनि आफ्ना निम्ति केही समय निकाल्नैपर्छ,’ डा. बिजुक्छे भन्छिन्, ‘तपाईंले आफ्नो पर्वाह गर्नुभयो भने अरूको पर्वाह गर्न सक्नुहुन्छ। आफू खुसी हुनुभयो भने पो अरूलाई खुसी बाँड्न सक्नुहुन्छ।’

प्रकाशित: ३० वैशाख २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =