विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न मन्त्री श्रेष्ठको निर्देशन

हिमाल प्रेस २९ वैशाख २०८० १३:५८
2
SHARE
विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न मन्त्री श्रेष्ठको निर्देशन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ- गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न निर्देशन दिएका छन्।

शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिएका छन्।

उनले पूर्वतयारीमा यथास्थितिवादी सोच र व्यवहार भएको भन्ने टिप्पणी आउने गरेको भन्दै उनले आगामी दिनमा कुनैपनि कमी हुन दिनु नहुने बताए।

उनले असावधानिका कारण, अकर्मण्यताका कारण वा निर्णय कार्यान्वयन गर्न नसकेका कारण पुरानै अवस्था दोहोरिएको आफूले सुन्न र हेर्न नपरोस् भनि सम्बन्धित निकायलाई सचेत गराए।

उनले भने,‘सधैँ हाम्रो यथास्थितिवादी सोच र व्यवहार भयो भनेर टिप्पणी आउने गरेको छ । यद्यपि, हामीले कानुन, संरचनामा केही परिवर्तनहरू गरेका छौँ। तर त्यसले सकारात्मक दिशातिर अगाडी बढाएको छ।’

सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले डोटी, बाजुरा, लमजुङ, खोटाङ र भोजपुर केन्द्रबिन्दु भइ भूकम्पबाट क्षतिग्रस्त घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

साथै, आसन्न मनसुन पूर्वतयारी तथा प्रतिकार्यको ठोस कार्ययोजना आगामी बैठकमा बनाउने पनि निर्णय भएको छ।

बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले हिउँदमा शितलहर तथा वर्षा याममा बाढी, पहिरो आउने कुरा निश्चितजस्तै भएकाले विपद्का लागि प्रभावकारी पूर्वतयारी हुनुपर्ने बताए।

उनले नेपालको मौसम पूर्वानुमानको विषय पनि विश्वसनीय बनाउनुपर्नेमा जोड दिए।

उनले विपद् जोखिमको नाममा आर्थिक अनियमितता नगर्न कर्मचारीहरूलाई निर्देशन दिए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आगलागि नियन्त्रणका लागि दह्रो कदम चाल्न आवश्यक रहेको बताए।

उनले वन, जंगलमा आगो लगाउनेहरुलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए।

प्रकाशित: २९ वैशाख २०८० १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =