प्रचण्डसँग देउवाले भने : शरणार्थी प्रकरणका दोषीमाथि कारबाही नभए देशकै बेइज्जत हुन्छ

हिमाल प्रेस २८ वैशाख २०८० १६:१०
60
SHARES
प्रचण्डसँग देउवाले भने : शरणार्थी प्रकरणका दोषीमाथि कारबाही नभए देशकै बेइज्जत हुन्छ

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकामाथि हुने छानबिन प्रक्रियामा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्।

सभापति देउवाले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलमा यस्तो प्रतिबद्धता जनाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा देउवाले शरणार्थी प्रकरणमा मुछिएका नेता, कर्मचारी वा बिचौलिया जोकसैमाथि कारबाही नहुने हो नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रन सक्ने भएकाले आफू त्यसमा संवेदनशील रहेको बताएका थिए।

प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा देउवालाई उधृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘शरणार्थी प्रकरणमा मुछिएकामाथि कारबाही भएन भने अन्तर्राष्ट्रिय रूपमा नेपालको बेइज्जत हुन्छ। नेपाली पासपोर्ट बोकेर विदेश जाँदा के हुन्छ? अरूले हामीलाई कस्तो व्यवहार गर्लान्?’

देउवाले उक्त प्रकरणमा मुछिएका पार्टीका नेताहरूमाथि छानबिन गर्न आफूले कुनै दबाब नदिने आश्वासन प्रधानमन्त्रीलाई दिएका छन्। उनले भनेका छन्, ‘जोजो परे पनि परून्, मेरा भाइभतिजा नै भए पनि कारबाही हुनुपर्छ। बरु यस विषयलाई जतिसक्दो चाँडो टुंगोमा पुर्‍याउनुपर्छ।’

जबाफमा प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा छानबिन गर्न आफूले कांग्रेसको पूर्ण साथ र समर्थन खोजेको बताएका थिए। प्रचण्डले भनेका थिए, ‘छानबिनमा हामीले कांग्रेसको पूर्ण साथ र सहयोग खोजिरहेका छौँ। सरकार छानबिनमा प्रतिबद्ध छ। हामी पनि पछि हट्ने पक्षमा छैनौँ।’

त्यस क्रममा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका थिए।  छलफलमा कांग्रेस उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए।

कांग्रेस पदाधिकारी बैठकअघि सभापति देउवा र प्रचण्डबीच भेटवार्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनका अनुसार नेताहरूबीच सरकारको वार्षिक नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा  कुराकानी भएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतका १२ जना पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी छन्।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ ठगी गरेको विषयमा छानबिन गर्न उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूमाथि प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको आरोप छ।

उक्त प्रकरणमा छानबिन गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेका पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन्। उनलाई एमालेले पार्टी सचिवबाट निलम्बन गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =